दुबईको पर्यटक भिसा अब अनलाइनबाटै आवेदन दिन सकिने, शुल्क २०० दिरहमदेखि

बिरगंज, पर्सा, १५ कार्तिक 

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई सरकारले विदेशी पर्यटकका लागि भिसा आवेदन प्रक्रिया थप सहज र प्रविधिमैत्री बनाउने तयारी गरेको छ। नयाँ व्यवस्थाअनुसार अब दुबई भ्रमण गर्न चाहने विदेशी नागरिकले आधिकारिक डिजिटल प्लेटफर्ममार्फत पर्यटक भिसाका लागि आवेदन दिन सक्नेछन्।

 

दुबईका युवराज तथा दुबई कार्यकारी परिषद्का अध्यक्ष शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमले नयाँ सेवाको घोषणा गरेका हुन्। उक्त सेवा नोभेम्बर महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

 

नयाँ प्रणाली लागू भएपछि पर्यटकले ३० दिन र ६० दिन अवधिका सिंगल तथा मल्टिपल इन्ट्री भिसाका लागि आवेदन दिन सक्नेछन्। प्रारम्भिक शुल्कअनुसार ३० दिनको सिंगल इन्ट्री भिसाका लागि २०० दिरहम र ६० दिनको भिसाका लागि ३०० दिरहम लाग्नेछ। यसबाहेक भ्याट तथा अन्य लागू शुल्क अतिरिक्त तिर्नुपर्ने हुन सक्छ।

 

नयाँ डिजिटल प्रणालीमार्फत प्राप्त आवेदन सामान्यतया तीन कार्यदिनभित्र प्रक्रिया पूरा गर्ने लक्ष्य राखिएको छ। तर भिसा स्वीकृत गर्ने तथा जारी गर्ने अन्तिम अधिकार भने दुबईको जनरल डाइरेक्टरेट अफ रेसिडेन्सी एन्ड फरेनर्स अफेयर्स (जीडीआरएफए) मै रहनेछ।

 

यो व्यवस्थाले नेपालसहित विभिन्न देशबाट दुबई भ्रमण गर्न चाहने पर्यटकलाई राहत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी यूएईमा कार्यरत नेपालीहरूले नेपालमा रहेका आफ्ना परिवारका सदस्य तथा आफन्तलाई भ्रमणका लागि दुबई बोलाउने प्रक्रियासमेत सहज हुन सक्नेछ।

 

यसअघि पर्यटक भिसाका लागि विभिन्न माध्यम तथा ट्राभल एजेन्सीमार्फत आवेदन दिनुपर्ने अवस्था थियो। नयाँ व्यवस्थाले एउटै आधिकारिक डिजिटल प्लेटफर्मबाट आवेदन दिने सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

 

दुबईले पछिल्लो समय पर्यटन प्रवर्द्धनसँगै सरकारी सेवालाई डिजिटल बनाउने अभियानलाई तीव्रता दिँदै आएको छ। नयाँ भिसा प्रणालीले पर्यटकका लागि आवेदन प्रक्रिया सरल, सहज र पारदर्शी बनाउने विश्वास गरिएको छ।