KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
मिठाई र खेलौना बोकेर फर्किएका मजदुर बने ‘हतियारधारी’, सशस्त्र प्रहरीको दाबी विवादमा

मिठाई र खेलौना बोकेर फर्किएका मजदुर बने ‘हतियारधारी’, सशस्त्र प्रहरीको दाबी विवादमा

वीरगञ्ज ।

Advertisement

सीमा सुरक्षा गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी नै सीमावर्ती क्षेत्रका सर्वसाधारण नागरिकलाई शंकाको घेरामा राखेर अनावश्यक दुःख दिने र सामान्य घटनालाई सनसनीपूर्ण बनाएर आफ्नो बहादुरी प्रदर्शन गर्ने प्रवृत्तिमा लागेको आरोप उठेको छ। पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठामा दुई जनालाई हतियारसहित पक्राउ गरेको भन्दै सशस्त्र प्रहरीले गरेको प्रचारले सुरक्षा निकायको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट प्रसौनीभाठाबाट खटिएको टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार बहुदरमाई नगरपालिका–२ ध्यानसिंह पिपराका बृजेश साह कानु र प्रदीप साह कानुलाई नियन्त्रणमा लिँदै पेस्तोल, गोली र छुरा बरामद गरेको दाबी गरेको थियो। तर पक्राउ परेका व्यक्तिका आफन्त तथा स्थानीयले बरामद भनिएका सामान खेलौना पेस्तोल र सामान्य घरायसी प्रयोजनका वस्तु भएको दाबी गरेका छन्।

Ad

भारतको महाराष्ट्रस्थित सुरतमा कपडा कारखानामा मजदुरी गर्दै आएका बृजेश तिहार र छठ मनाउन घर फर्किंदै थिए। उनीसँग बालबालिकाका लागि खेलौना पेस्तोल, मिठाई, खजुर, मह, घरायसी औषधि, भान्सामा प्रयोग हुने चक्कु र मजदुरी गरेर कमाएको रकम रहेको पीडित पक्षको भनाइ छ। तर सामान्य सामानसहित घर फर्किरहेका उनीहरूलाई हतियारधारी अपराधीझैँ प्रस्तुत गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।

Advertisement

पक्राउ परेपछि आफूहरू मजदुर भएको र साथमा रहेका सामान घरायसी प्रयोजनका लागि ल्याएको स्पष्ट पार्दा पनि सशस्त्र प्रहरी निरीक्षक ज्योतिष मिश्रले कुरा नसुनेको पीडित पक्षको आरोप छ।

Advertisement

सीमा क्षेत्रमा तस्करी, अवैध कारोबार र आपराधिक गतिविधि नियन्त्रण गर्नु सशस्त्र प्रहरीको प्रमुख जिम्मेवारी हो। तर सीमा सुरक्षाको नाममा प्रत्येक मधेशी नागरिकलाई शंकास्पद ठान्ने, भारतबाट मजदुरी गरेर फर्किने श्रमिकलाई अपराधीको दृष्टिले हेर्ने र सामान्य घरायसी सामानलाई समेत सनसनीपूर्ण घटनाका रूपमा प्रचार गर्ने प्रवृत्ति सुरक्षा जिम्मेवारीको दुरुपयोग हुन सक्ने देखिन्छ।

मधेशका सीमावर्ती क्षेत्रमा खटिने केही सुरक्षा अधिकारीमा स्थानीय जनताको जीवनशैली, आर्थिक अवस्था र सामाजिक परिवेश बुझ्नुभन्दा पनि नागरिकमाथि अनावश्यक रवाफ देखाउने प्रवृत्ति रहेको गुनासो बढ्दो छ। अझ विडम्बनापूर्ण पक्ष के छ भने, मधेशी मूलकै केही अधिकारीहरू मधेशमै जिम्मेवार पदमा पुग्दा आफ्नै समुदायका नागरिकलाई दुःख दिएर माथिल्लो तहका हाकिमको नजरमा राम्रो देखिने र चाकडीमार्फत आफ्नो पद तथा प्रभाव जोगाउने मानसिकताबाट मुक्त हुन नसकेको आरोपसमेत उठिरहेको छ।

मधेशी जनताको पसिना, दुःख र बाध्यता नबुझ्ने अनि आफ्नै समुदायका नागरिकमाथि अनावश्यक कठोरता देखाएर आफूलाई कडा अधिकारी प्रमाणित गर्न खोज्ने प्रवृत्ति त्याग्नुपर्छ। वर्दीको सम्मान नागरिकलाई सम्मान गरेर कमाइन्छ, सर्वसाधारणलाई अपमानित गरेर वा हाकिमको चाकडी गरेर होइन भन्ने यथार्थ निरीक्षक मिश्रले समयमै बुझ्नु उनकै हितमा हुने कुरामा दुईमत हुन सक्दैन।

सुरक्षा निकायका अधिकारीको मूल्यांकन पक्राउको संख्या, बरामद सामानको प्रचार र सञ्चारमाध्यममा देखिने सनसनीका आधारमा मात्र हुनु हुँदैन। उनीहरूको वास्तविक सफलता निर्दोष नागरिकलाई अनावश्यक दुःख नदिई वास्तविक अपराध नियन्त्रण गर्न सक्ने क्षमतामा निर्भर हुन्छ।

विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले पनि सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्ने व्यक्तिहरूलाई ठूलो अपराधी पक्राउ गरेझैँ प्रचार गरिएको भन्दै गम्भीर चिन्ता र आपत्ति व्यक्त गरेका छन्।

यता सशस्त्र प्रहरी बल नेपाल, १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षेत्रीले कपडामा घरेलु हतियार बेरिएर ल्याइएको र बरामद पेस्तोल नक्कली भए पनि सक्कलीजस्तै देखिने भएकाले थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पक्राउ परेका व्यक्तिहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको बताएका छन्।

तर पेस्तोल नक्कली भएको स्वीकारोक्तिपछि पनि त्यसलाई हतियारसहित पक्राउ गरिएको भन्दै सनसनीपूर्ण प्रचार किन गरियो भन्ने प्रश्न अनुत्तरित छ। बरामद भनिएका वस्तुको प्राविधिक परीक्षण, पक्राउको आधार र घटनाको सम्पूर्ण विवरण सार्वजनिक हुनुपर्छ।

सीमा सुरक्षा गर्ने नाममा मधेशी नागरिकको आत्मसम्मानमाथि प्रहार गर्ने छुट कुनै अधिकारीलाई छैन। सशस्त्र प्रहरी संगठनले पनि आफ्ना मातहतका अधिकारीको कार्यशैलीबारे छानबिन गर्नुपर्छ। नागरिकलाई अपराधी देखाएर हाकिम रिझाउने होइन, नागरिकको सुरक्षा गरेर संगठनको प्रतिष्ठा जोगाउने संस्कार विकास गर्नुपर्छ।

आखिर सीमा सुरक्षाका लागि खटिएको प्रहरी जनताको रक्षक हो कि सर्वसाधारणलाई शंकाको घेरामा राखेर आफ्नो बहादुरी देखाउने निकाय? यसको जवाफ सशस्त्र प्रहरी नेतृत्वले दिनुपर्ने हुन्छ। साभार - अंकुश दैनिक 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation