संसदीय समिति सभापति चयनमा विपक्षी मोर्चाः कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठक सुरु
३ बैशाख, काठमाडौं । संसदीय समितिहरूको नेतृत्व चयनका लागि मनोनयन दर्ता गर्ने समय नजिकिँदै गर्दा प्रमुख विपक्षी दलहरूले साझा रणनीति तय गर्न संयुक्त बैठक सुरु गरेका छन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार दिउँसोदेखि सुरु भएको यस बैठकमा कांग्रेस, नेकपा (एमाले) र नेकपाका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा अर्जुननरसिंह केसी, युवराज दुलाल, गुरुप्रसाद बराल र भीष्मराज आङ्दम्बे लगायतका नेताहरूबीच सत्ता पक्षीय गठबन्धनविरुद्ध कसरी प्रस्तुत हुने र कुन(कुन समितिमा उम्मेदवारी दिने भन्ने विषयमा घनीभूत छलफल भइरहेको छ ।
उम्मेदवारी र निर्वाचन कार्यतालिका
बैठकमा सहभागी एक नेताका अनुसार विपक्षी दलहरूले सबै समितिमा उम्मेदवारी दिने मुड बनाएका छन् । ‘हार र जित स्वाभाविक प्रक्रिया हो, तर संसदीय अभ्यासमा विपक्षीको उपस्थिति जनाउन उम्मेदवारी दिनुपर्छ भन्नेमा हामी एकमत छौँ,’ ती नेताले बताए ।
संघीय संसद् सचिवालयले आजै दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेकाले विपक्षी मोर्चाले ४ बजेअघि नै आफ्ना उम्मेदवारहरूको सूचीलाई अन्तिम रूप दिने तयारी गरेको छ। मनोनयन दर्ता लगत्तै आजै साढे ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ ।
शक्ति सन्तुलनमा निर्णायक असर
प्रतिनिधिसभा अन्तर्गतका १० वटा र दुईवटा संयुक्त समिति गरी कुल १२ वटा समितिको सभापति चयनका लागि यो निर्वाचन हुन लागेको हो । यसअघि नै राष्ट्रिय सभाका विषयगत समितिको नेतृत्व चयन भइसकेको भए पनि प्रतिनिधिसभामा दलीय शक्ति सङ्घर्षका कारण लामो समयदेखि सभापति चयन प्रक्रिया रोकिएको थियो ।
गत चैत २७ गते विषयगत समितिका सदस्यहरूको टुङ्गो लागेसँगै सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार (भोलि) का लागि निर्वाचनको मिति तय गर्नुभएको थियो । आजको विपक्षी भेलाले गर्ने निर्णयले भोलि हुने निर्वाचनको परिणाम र संसद् भित्रको शक्ति सन्तुलनमा निर्णायक असर पार्ने देखिन्छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३