KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
कोसी प्रदेशमा बढ्दो लागुऔषध कारोबार : खुला सीमाको फाइदा उठाउँदै तस्करी, युवायुवती बढी प्रभावित

कोसी प्रदेशमा बढ्दो लागुऔषध कारोबार : खुला सीमाको फाइदा उठाउँदै तस्करी, युवायुवती बढी प्रभावित

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै कोसी प्रदेशमा लागुऔषधको कारोबार र ओसारपसार बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ। विशेषगरी झापा, मोरङ, सुनसरी र उदयपुरका सीमावर्ती तथा आसपासका क्षेत्रमा लागुऔषध कारोबार र प्रयोगकर्ताको संख्या बढी भेटिएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार मुख्य नाकामा सुरक्षा कडाइ गरिए पनि लामो र खुला सीमाका कारण सबै क्षेत्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गर्न कठिन हुने गरेको छ। यही अवस्थाको फाइदा उठाउँदै कारोबारीले मुख्य नाकाबाहेकका बाटो प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने गरेका छन्।

Advertisement

मोरङसँग भारततर्फ करिब ६३ किलोमिटर खुला सीमा रहेको छ। सीमाको दुवैतर्फ जोडिएका बस्तीलाई समेत कारोबारीले ओसारपसारका लागि प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ। झापाको काँकरभिट्टा, सुनसरीको भन्टाबारी तथा मोरङको जोगबनी र रंगेलीनाकासहित आसपासका क्षेत्रमा लागुऔषध कारोबार बढी हुने गरेको प्रहरीले जनाएको छ।

Ad

तीन वर्षमा हजारौँ पक्राउ

Advertisement

कोसी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा १ हजार ३ सय ९३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्। ती मुद्दामा २ हजार ७ जना पक्राउ परेका छन्। सबैभन्दा बढी सुनसरीमा ४७४ मुद्दा दर्ता हुँदा ७०६ जना पक्राउ परेका थिए।

Advertisement

यसअघि आर्थिक वर्ष २०८१/८२ मा प्रदेशभर १ हजार ४३७ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए भने २ हजार २७६ जना पक्राउ परेका थिए। आर्थिक वर्ष २०८०/८१ मा १ हजार ३९ वटा मुद्दा दर्ता हुँदा १ हजार ५९० जना पक्राउ परेको कोसी प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

मुद्दा दर्ताको संख्या केही वर्षमा घटबढ भए पनि ठूलो परिमाणमा लागुऔषध बरामद भइरहेका कारण कारोबारको मात्रा चिन्ताजनक रहेको प्रहरीको भनाइ छ।

एक वर्षमै २७ हजार किलोभन्दा बढी गाँजा बरामद

आर्थिक वर्ष २०८२/८३ मा कोसी प्रदेश प्रहरीले २७ हजार ६९३ किलो ५७० ग्राम ३८ मिलीग्राम गाँजा बरामद गरेको छ। त्यस्तै १४५ ग्राम १४० मिलीग्राम चरेस, १० किलो ३८७ ग्राम ५३१ मिलीग्राम ब्राउन सुगर, ७ लाख ४४ हजार ४५७ वटा विभिन्न मनोद्विपक चक्की तथा क्याप्सुल र ३ हजार ९१९ वटा मनोद्विपक सुई बरामद गरिएको छ।

जिल्लागत रूपमा सुनसरीबाट १७ हजार १६३ किलो ९७४ ग्राम गाँजा, १३५ ग्राम १४० मिलीग्राम चरेस, २ किलो ९३९ ग्राम ब्राउन सुगर र ३ लाख ३१ हजार ९१७ वटा मनोद्विपक चक्की/क्याप्सुल बरामद भएको छ।

मोरङबाट ५ हजार ८२३ किलो गाँजा, १० ग्राम चरेस, ३ किलो ९३९ ग्राम ब्राउन सुगर र १ लाख ५४ हजार ९६१ वटा मनोद्विपक चक्की/क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।

झापाबाट ६ किलो गाँजा, ३ किलो ९७२ ग्राम ७३६ मिलीग्राम ब्राउन सुगर तथा २ लाख ३९ हजार ४४ वटा मनोद्विपक चक्की/क्याप्सुल बरामद भएका छन्। उदयपुरबाट मात्रै १ हजार २२ किलो ३९५ ग्राम गाँजा बरामद भएको छ।

१५ देखि ३५ वर्षका युवायुवती बढी संलग्न

कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी शेखर खनालका अनुसार लागुऔषध प्रयोग तथा कारोबारमा १५ देखि ३५ वर्ष उमेर समूहका युवायुवती बढी संलग्न भेटिएका छन्।

उनका अनुसार १५ देखि २० वर्ष उमेर समूहका धेरैजसो युवा आफूले प्रयोग गर्नका लागि भारतबाट लागुऔषध ल्याउने गरेको पाइएको छ। २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू भने कारोबारमा बढी संलग्न हुने गरेको अनुसन्धानबाट खुलेको छ।

डिआइजी खनालका अनुसार केही व्यक्ति कारोबारमा मात्र संलग्न छन् भने केहीले आफैँ प्रयोग गर्नुका साथै कारोबारसमेत गर्ने गरेका छन्। ४० वर्षभन्दा माथिका व्यक्ति पनि कारोबारीका रूपमा भेटिएका छन् भने ५०–६० वर्ष उमेर समूहका व्यक्तिहरू समेत प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानमा पारिवारिक तनाव, आर्थिक समस्या, बेरोजगारी, असफल प्रेमसम्बन्ध, साथीहरूको संगत तथा छिटो पैसा कमाउने चाहनालगायत कारणले युवायुवती लागुऔषधमा फस्ने गरेको पाइएको छ।

भारततर्फ गाँजा, नेपालतर्फ ब्राउन सुगर

प्रहरीका अनुसार कोसी प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारततर्फ तस्करी हुने गरेको छ। भोजपुर, धनकुटा, खोटाङ, उदयपुर र ताप्लेजुङका दुर्गम क्षेत्रमा लुकिछिपी व्यावसायिक रूपमा गाँजा खेती हुने गरेको प्रहरीको भनाइ छ।

भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा नियमित प्रहरी परिचालन गर्न कठिन हुने भएकाले तस्करले त्यस्ता स्थानलाई खेतीका लागि प्रयोग गर्ने गरेको डिआइजी खनालले बताएका छन्। प्रहरीले टोली बनाएर दुर्गम क्षेत्रमा पुगेर गाँजाका बिरुवा तथा ठूला बोट नष्ट गर्दै आएको जनाएको छ।

उत्पादन गरिएको गाँजा भारततर्फ लैजान कोसी प्रदेशका सीमावर्ती क्षेत्रसँगै मधेस प्रदेशका बाटोसमेत प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।

यता सीमावर्ती क्षेत्रमा भारतबाट नेपाल भित्रने लागुऔषधमध्ये ब्राउन सुगर प्रमुख समस्या रहेको प्रहरीले जनाएको छ। भारतबाट सानो परिमाणमा ब्राउन सुगर ल्याएर व्यक्तिगत प्रयोग तथा बिक्री गर्ने गरेको भेटिएको छ।

‘से टु नो ड्रग्स’ अभियानमा प्रहरी

लागुऔषध प्रयोग तथा कारोबार नियन्त्रणका लागि कोसी प्रदेश प्रहरीले ‘से टु नो ड्रग्स’ अभियान सञ्चालन गरिरहेको जनाएको छ। जिल्लाअनुसार अभियानको नाम फरक राखेर जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्।

प्रहरीले विद्यालय तथा कलेजमा पुगेर लागुऔषधका असरबारे विद्यार्थीलाई जानकारी गराउनुका साथै ट्राफिक सचेतना, डिजिटल अपराध, ‘गुड टच–ब्याड टच’ लगायतका विषयमा समेत सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।

दुर्गम क्षेत्रका विद्यालयमा प्रहरी प्रत्यक्ष रूपमा पुग्न कठिन हुने भएकाले शिक्षकलाई तालिम दिएर विद्यार्थीलाई सचेत गराउने उद्देश्यले ‘टिच द टिचर’ अभियान सञ्चालनको तयारी भइरहेको डिआइजी खनालले बताएका छन्।

प्रहरीका अनुसार नेपाल र भारत दुवैतर्फ लागुऔषधको ओसारपसार हुने गरेको छ। कोसी प्रदेशबाट भारततर्फ ठूलो परिमाणमा गाँजा जाने गरेको देखिएको छ भने भारतलाई ट्रान्जिट बनाएर विभिन्न प्रकारका लागुऔषध नेपाल भित्र्याउने गतिविधि समेत भइरहेको प्रहरीको भनाइ छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation