सुपर एल निनोको जोखिमले नेपालमा ऊर्जा सङ्कटको चिन्ता, पूर्वतयारीमा जोड
बिरगंज, पर्सा, १८ कार्तिक
काठमाडौं । सन् २०२६ को अन्त्यदेखि २०२७ को सुरुआतसम्म शक्तिशाली ‘सुपर एल निनो’ विकसित हुन सक्ने सम्भावनासँगै नेपालमा खडेरी, पानीका स्रोत सुक्ने र जलविद्युत् उत्पादन घट्ने जोखिमप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। सम्भावित जलवायु जोखिमले ऊर्जा सुरक्षा, कृषि, खाद्य सुरक्षा तथा समग्र सामाजिक–आर्थिक क्षेत्रमा गम्भीर प्रभाव पार्न सक्ने भन्दै विज्ञहरूले राष्ट्रियस्तरमै पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन्।
जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक आकलनअनुसार सन् २०२६ को अन्त्यदेखि २०२७ को सुरुआतसम्म एल निनो थप शक्तिशाली बन्दै ‘धेरै बलियो’ अर्थात् ‘सुपर एल निनो’को अवस्थामा पुग्न सक्ने सम्भावना छ। यस्तो अवस्था विकसित भए तापक्रम वृद्धि, वर्षामा कमी र खडेरीको जोखिम बढ्न सक्ने देखिएको छ।
नेपालको ऊर्जा प्रणाली जलविद्युत्मा अत्यधिक निर्भर रहेकाले नदीमा पानीको बहाव घट्दा विद्युत् उत्पादन प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। नेपालमा ८० प्रतिशतभन्दा बढी विद्युत् उत्पादन नदीको बहावमा आधारित जलविद्युत् आयोजनाबाट हुने भएकाले कमजोर मनसुनले राष्ट्रिय ऊर्जा प्रणालीमै चुनौती सिर्जना गर्न सक्ने विज्ञहरूको भनाइ छ।
जलस्रोतदेखि जनजीविकासम्म प्रभाव पर्ने चिन्ता
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीले एल निनोको सम्भावित जोखिमबारे अनुसन्धानकर्ता र कार्यान्वयनमा संलग्न निकायबीच समन्वय तथा छलफल आवश्यक रहेको बताइन्।
उनले जलवायु तथा मौसमसम्बन्धी तथ्याङ्कको प्रभाव नागरिकको दैनिक जीवन, जीविकोपार्जन र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिने उल्लेख गरिन्। समयमा सिँचाइ नपाउँदा किसानको उत्पादन, आम्दानी र पारिवारिक जीविकामा समेत असर पर्ने उनको भनाइ थियो।
दवाडीका अनुसार पहाडी क्षेत्रमा पानीका मुहान सुक्दै जाँदा स्थानीय समुदायले पानी संकलनका लागि थप समय र श्रम खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। त्यस्तै, नदीको बहाव घट्दा जलविद्युत् उत्पादनमा कमी आई ऊर्जा सुरक्षामा चुनौती थपिन सक्छ।
नेपालमा वार्षिक करिब २२५ अर्ब घनमिटर पानी उपलब्ध भए पनि यसको समयगत र स्थानगत वितरण असमान रहेको उनले बताइन्। कृषि प्रणाली अझै मनसुनमा निर्भर रहेको तथा हिमाल, हिमनदी र हिमाली क्षेत्रका नदी प्रणाली जल सुरक्षाका महत्वपूर्ण आधार भएकाले जलवायुजन्य जोखिमलाई गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ।
उनले एल निनो देखिँदैमा नेपालमा निश्चित रूपमा वर्षा घट्छ वा बढ्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने स्पष्ट पार्दै विगतका एल निनो वर्षमा वर्षाको दुवै प्रवृत्ति देखिएको बताइन्।
कमजोर मनसुनले जलविद्युत् उत्पादनमा असर पार्न सक्छ
जल तथा ऊर्जा आयोगको सचिवालयका सरजुकुमार वैद्यले एल निनोलाई महासागरमा हुने मौसमी परिवर्तनमा मात्र सीमित राख्न नमिल्ने बताए। यसले नेपालको जलस्रोत, ऊर्जा सुरक्षा र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने उनको भनाइ छ।
विगतका अध्ययन तथा तथ्याङ्कले एल निनो र नेपालको वर्षाबीच सम्बन्ध देखाएको उल्लेख गर्दै उनले एल निनोका धेरै वर्षमा नेपालमा मनसुन कमजोर भई औसतभन्दा कम वर्षा भएको इतिहास रहेको जानकारी दिए।
कमजोर मनसुनका कारण भूमिगत जल पुनर्भरणमा कमी आउने, पहाडी क्षेत्रका पानीका मूल तथा धाराहरू सुक्ने र बढ्दो तापक्रमले हिमाली क्षेत्रमा हिउँ तथा हिमनदी पग्लने दर तीव्र हुन सक्ने उनले बताए।
नेपालको विद्युत् उत्पादनमा जलविद्युत्को ठूलो हिस्सा रहेकाले नदीको बहाव घट्दा उत्पादनमा कमी आउने र राष्ट्रिय विद्युत् प्रणालीको सन्तुलन कायम गर्न कठिन हुन सक्ने वैद्यको भनाइ छ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव टिकाराम बरालले सुपर एल निनोको सम्भावित प्रभाव सम्बोधन गर्न ठोस कार्ययोजना आवश्यक रहेको बताए। वैज्ञानिक पूर्वानुमान, जोखिम मूल्याङ्कन तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वयमार्फत पूर्वतयारीका काम अघि बढाउनुपर्नेमा उनले जोड दिए।
बलियो एल निनो हुँदा कम वर्षाको सम्भावना बढी
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठका अनुसार एल निनो कमजोरबाट बलियो हुँदै जाँदा नेपालमा मनसुन अवधिमा सामान्यभन्दा कम वर्षा हुने सम्भावना बढ्दै जान्छ।
उनका अनुसार कमजोर एल निनोको अवस्थामा समेत मनसुन अवधिमा ८० प्रतिशतभन्दा बढी स्थानमा सामान्यभन्दा कम वर्षा हुने प्रवृत्ति देखिएको छ। प्रदेशगत विश्लेषणमा मधेस र बागमती प्रदेशमा यस्तो सम्भावना ६६ प्रतिशत तथा कर्णाली प्रदेशमा शतप्रतिशतसम्म देखिएको उनले जानकारी दिइन्।
“कमजोर एल निनोमै पनि धेरैजसो ठाउँमा सामान्यभन्दा कम वर्षा देखिन्छ। बलियो एल निनो हुँदा त अधिकांश क्षेत्रमा सामान्यभन्दा कम वर्षा हुने अवस्था देखिन्छ,” महानिर्देशक श्रेष्ठले भनिन्।
राष्ट्रियस्तरमा पूर्वतयारी गर्न विज्ञहरूको सुझाव
सुपर एल निनोका सम्भावित प्रभावबारे वैज्ञानिक ज्ञान अभिवृद्धि गर्ने, विगतका एल निनोबाट प्राप्त अनुभव तथा सिकाइको समीक्षा गर्ने र मौसमी पूर्वानुमान तथा जलवायु सेवाको उपयोग बढाउने उद्देश्यले सरोकारवाला निकायबीच छलफल सुरु गरिएको छ।
छलफलमा जलस्रोत, हिममण्डल, कृषि, ऊर्जा, खाद्य सुरक्षा तथा विपद् व्यवस्थापनमा पर्न सक्ने सम्भावित प्रभाव र जोखिम न्यूनीकरणका उपायबारे विचार आदानप्रदान गरिएको थियो।
विज्ञहरूले सम्भावित जोखिमलाई समयमै पहिचान गरी पानीको स्रोत संरक्षण, सिँचाइ व्यवस्थापन, कृषि अनुकूलन, जलविद्युत् उत्पादनको वैकल्पिक योजना तथा ऊर्जा आपूर्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्।
सुपर एल निनोको सम्भावित प्रभावलाई केवल मौसमसम्बन्धी विषयका रूपमा नभई जलस्रोत, खाद्य सुरक्षा, ऊर्जा र जनजीविकासँग जोडिएको राष्ट्रिय चुनौतीका रूपमा हेर्दै समयमै तयारी गर्नुपर्नेमा सरोकारवालाको जोड छ।
स्रोत : आर्थिक न्यूज
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






