हरि खेतान क्याम्पसमा परीक्षा स्थगित भएपछि तनाव, बसमा तोडफोड
वीरगंज ८ चैत। वीरगंज स्थित हरी खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को त्रैमासिक परीक्षा अन्तिम समयमा आएर स्थगित गरिएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन्। विरोध प्रदर्शनका क्रममा विद्यार्थीहरूले क्याम्पसको बसमा तोडफोड गर्दा ठूलो क्षति पुगेको छ।
क्याम्पस प्रशासनले पूर्वनिर्धारित मितिमा सञ्चालन हुने भनिएको परीक्षा आकस्मिक रूपमा स्थगित गरेको सूचना जारी गरेपछि परीक्षा दिन पुगेका विद्यार्थीहरू आन्दोलित बनेका हुन्। आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरमै भेला भई परीक्षा यथाशीघ्र सञ्चालन गर्नुपर्ने मागसहित प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूले नियमित कक्षा र शैक्षिक गतिविधि अवरोध नहुने गरी व्यवस्थापन गर्नुपर्ने, पटक–पटक हुने परीक्षा स्थगनको अन्त्य गर्नुपर्ने लगायतका माग राख्दै क्याम्पसको मूलद्वार अगाडि धर्ना दिएका थिए। उनीहरूले क्याम्पस प्रमुख तथा सञ्चालक समितिविरुद्ध नाराबाजी समेत गरेका छन्।
विद्यार्थीहरूको आरोपअनुसार क्याम्पसभित्र शिक्षा शाखा, प्रशासन, कर्मचारी तथा सञ्चालक समितिबीचको आन्तरिक विवादका कारण पटक–पटक पठनपाठन र परीक्षा प्रभावित हुँदै आएको छ। यसले आफ्नो शैक्षिक भविष्य अन्योलमा परेको उनीहरूको भनाइ छ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले र्याली निकाल्दै घण्टाघरसम्म पुगेर चक्काजाम गरेका थिए। साथै टायर बालेर विरोध जनाउँदा मुख्य सडक केही समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार स्थिति नियन्त्रणबाहिर जान नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रदर्शनका क्रममा केही विद्यार्थीहरू तोडफोडमा उत्रिएपछि सामान्य झडपको अवस्था सिर्जना भएको र केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यता, विद्यार्थीहरूले निमित्त क्याम्पस प्रमुख रवीन्द्र यादवको राजीनामा माग गर्दै आन्दोलन जारी राखेका छन्। क्याम्पस प्रशासनले भने परीक्षा स्थगनको स्पष्ट कारण सार्वजनिक गरेको छैन।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३