जगरनाथपुर गाउँपालिकाको आफ्नै प्रशासनिक भवन सञ्चालनमा, पूर्वमन्त्री रमेश रिजालले गरे उद्घाटन
वीरगंज। पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ। गाउँपालिका–४, मधुवहामा ३ करोड ३४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन नेपाल सरकारका पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं प्रतिनिधिसभा सदस्य रमेश रिजालले रिबन काटेर गरेका हुन्।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि रिजालले नवनिर्मित भवनको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासनिक सेवा शुभारम्भ गरेका थिए। कार्यक्रममा उनले गमलामा पानी हाल्नुका साथै पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको औपचारिक शुभारम्भसमेत गरेका थिए।
जगरनाथपुर गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि पूर्वमन्त्री रिजालले १२ कट्ठा जग्गा गाउँपालिकाको नाममा उपलब्ध गराएका थिए। उक्त जग्गा २०८१ फागुन १ गतेको निर्णयअनुसार गाउँपालिकाको नाममा कायम भएपछि भवन निर्माण प्रक्रिया अघि बढाइएको थियो। गाउँपालिकाको विकास तथा सार्वजनिक सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कार्यक्रममा जग्गादाता रिजालप्रति सम्मान तथा कृतज्ञता व्यक्त गरिएको थियो।
भवन उद्घाटनका क्रममा स्थानीयवासीले जग्गा उपलब्ध गराएर गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणमा योगदान पुर्याएको भन्दै रिजालको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए। प्रमुख अतिथि रिजालले पनि गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा भवन निर्माण सम्पन्न भएकोमा प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए।
गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि विभिन्न स्रोतबाट बजेट विनियोजन गरिएको थियो। जसअनुसार मधेश प्रदेशका प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीको संसदीय विकास कोषबाट ६४ लाख रुपैयाँ, जिल्ला समन्वय समिति पर्साबाट ३५ लाख रुपैयाँ र जगरनाथपुर गाउँपालिकाको आन्तरिक बजेटबाट २ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। तीनवटै स्रोतबाट प्राप्त बजेटसहित कुल ३ करोड ३४ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष यादवले भवन उद्घाटनलाई जगरनाथपुर गाउँपालिकाको विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरे। उनले नवनिर्मित भवन केवल इँटा र सिमेन्टले बनेको संरचना मात्र नभई सुशासन, पारदर्शिता, प्रभावकारी सेवा प्रवाह र समृद्ध जगरनाथपुर निर्माणको महत्वपूर्ण आधार भएको बताए।
अध्यक्ष यादवले गाउँपालिकाको विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, सडक, विद्युत् तथा कृषि क्षेत्रको विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गर्दै छोटो समयमै प्रशासनिक भवन निर्माण सम्पन्न हुनु गाउँपालिकाका लागि उपलब्धिमूलक भएको बताए।
‘गाउँपालिका भनेको जनताको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर काम गर्ने निकाय हो। विकास निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउनुपर्छ। गाउँपालिका सधैँ जनताको साथमा रहेर काम गरिरहेको छ,’ अध्यक्ष यादवले भने।
उनले नयाँ भवनबाट आम नागरिकले सहज, सरल, छिटो र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै भवन निर्माणमा सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, निर्माण व्यवसायी, स्थानीयवासी तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे।
त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीले नवनिर्मित भवनले कार्यालयको कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए। उनले नयाँ भवनको भौतिक सुविधालाई सदुपयोग गर्दै सेवाग्राहीलाई छिटो, सहज, पारदर्शी तथा नागरिकमैत्री सेवा उपलब्ध गराउन कर्मचारीहरू जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए।
प्रमुख प्रशासकीय अधिकृत केशरीका अनुसार नवनिर्मित भवनमा १२ वटा कोठासहित बैठक कक्ष तथा कार्यालय सञ्चालनका लागि आवश्यक अन्य संरचनाहरू रहेका छन्। नयाँ भवन सञ्चालनमा आएसँगै गाउँपालिकाको दैनिक प्रशासनिक कामकाज व्यवस्थित हुनुका साथै सेवाग्राहीलाई एउटै स्थानबाट विभिन्न सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा गाउँपालिकाको प्रशासनिक तथा सेवा प्रवाहमा योगदान पुर्याउने विभिन्न कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो। कर्मचारीहरूको योगदानको कदर गर्दै गरिएको सम्मानले उनीहरूलाई थप जिम्मेवार तथा सेवाप्रति प्रतिबद्ध बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले प्रशासनिक भवन निर्माण हुनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भए पनि भौतिक संरचना निर्माण मात्रै पर्याप्त नहुने धारणा राखेका थिए। उनीहरूले नयाँ भवनबाट नागरिकले छिटो, सहज, पारदर्शी र प्रभावकारी सेवा पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए। भवनसँगै कर्मचारीको जिम्मेवारी, सेवाग्राहीप्रतिको व्यवहार र सेवा प्रवाहको गुणस्तरमा समेत सुधार हुनुपर्ने उनीहरूको भनाइ थियो।
उद्घाटन समारोहमा विशिष्टअतिथि मधेश प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, पूर्वमन्त्री एव पर्सा निर्वाचन क्षेत्र नम्बर–३ (ख) का प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, पर्सा निर्वाचन क्षेत्र नम्बर–३ (ख) का प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, गाउँपालिका अध्यक्ष दिनेश चौधरी,गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरी, लेखापाल सन्देश कुशवाहा, गाउँपालिकाका २ का वडा अध्यक्ष वडानेपाली प्रसाद कुशवाहा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक राजु कार्की, इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक विपन कार्की, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्याल, इलाका प्रहरी कार्यालय जानकीटोलाका वरिष्ठ प्रहरी सहायक निरीक्षक श्यामबाबु यादव तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, कार्यक्रममा वशिष्ट नारायण प्रसाद कुर्मी, रमेश पाण्डे, नेपाली कांग्रेसका जिल्ला सचिव नवीन सिंह, दीपेन्द्र सिंह, बलिस्टर अहमद, राकेश यादव मितवा, रमेश यादव, प्रह्लाद गिरी, अन्य वडाध्यक्ष तथा जनप्रतिनिधिहरू, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिहरू, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय अगुवा, भद्रभलादमी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
नवनिर्मित प्रशासनिक भवन उद्घाटनसँगै जगरनाथपुर गाउँपालिकाको प्रशासनिक सेवा प्रवाहलाई थप व्यवस्थित, चुस्त, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। स्थानीय सरकारको सेवा नागरिकको घरदैलोसम्म सहज रूपमा पुर्याउने उद्देश्यअनुरूप अब नयाँ भवनलाई प्रभावकारी सार्वजनिक सेवा प्रवाहको केन्द्रका रूपमा विकास गर्नु गाउँपालिकाको महत्वपूर्ण जिम्मेवारी बनेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






