२२ बैशाख, काठमाडौं । स्थानीय बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वैशाख २२ गते सुनको मूल्य प्रतितोला ३ हजार ८ सय रुपैयाँले ओरालो लागेको हो भने चाँदीको मूल्यमा पनि उल्लेख्य कमी देखिएको छ । पछिल्लो विवरण अनुसार, आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । एकै दिन ३ हजार ८ सय रुपैयाँको यो गिरावटलाई बजारमा पछिल्लो समयकै ठूलो गिरावट मानिएको छ ।
चाँदीको भाउमा पनि मन्दी
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८ सय ४० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन् । पछिल्लो केही दिनदेखि सुनको मूल्यमा निरन्तर सामान्य गिरावट आइरहेकोमा आज भने भारी गिरावट देखिएको हो । यसले सुन खरिद गर्ने तयारीमा रहेका उपभोक्तालाई केही राहत मिलेको छ ।
२२ बैशाख, काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियालाई तीव्रता दिँदै अर्थ मन्त्रालयले विभिन्न नौ वटा मन्त्रालयका विभागीय मन्त्री र सचिवहरूसँग मन्त्रालयगत बजेट छलफल सम्पन्न गरेको छ ।
सोमबार बिहान ११ बजेदेखि सुरु भई साँझ साढे ७ बजेसम्म चलेको उक्त छलफलमा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको सिलिङबारे विस्तृत संवाद भएको हो ।
बजेट तथा कार्यक्रम महाशाखाले तय गरेको कार्यतालिका अनुसार पहिलो दिन गृह मन्त्रालयबाट छलफलको सुरुआत गरिएको थियो । त्यसलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, सञ्चार, शिक्षा, खेलकुद, संघीय मामिला र भूमि व्यवस्था मन्त्रालयसँग छुट्टाछुट्टै चरणमा छलफल अघि बढाइएको थियो ।
अर्थमन्त्रीको नेतृत्वमा स्रोत व्यवस्थापनको खोजी
लफलको नेतृत्व अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले गर्नुभएको थियो । छलफलमा अर्थ र राजस्व सचिव, बजेट लेखन समितिका सदस्यहरू र विभिन्न महाशाखा प्रमुखहरूले सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरूसँग स्रोत व्यवस्थापन र खर्चको प्राथमिकताका विषयमा परामर्श गरेका थिए ।
विशेष गरी मन्त्रालयहरूले प्रस्ताव गरेका नयाँ कार्यक्रम र तिनको कार्यान्वयन योग्यतामाथि अर्थ मन्त्रालयले प्रश्न र सुझाव राखेको बुझिएको छ ।
विभागीय मन्त्रीहरूको सक्रिय सहभागिता
मन्त्रालयगत छलफलमा श्रममन्त्री रामजी यादव, उद्योगमन्त्री गौरी कुमारी, कानुनमन्त्री सोविता गौतम, सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, शिक्षामन्त्री सस्मित पोखरेल र संघीय मामिलामन्त्री प्रतिभा रावल लगायतको उपस्थिति रहेको थियो । मन्त्रीहरूले आफ्ना मन्त्रालयका प्राथमिकताका योजनाहरू प्रस्तुत गर्दै आवश्यक बजेट सुनिश्चित गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
बजेट लेखनको अन्तिम तयारी भइरहँदा अर्थ मन्त्रालयले मंगलबार पनि बाँकी मन्त्रालयहरूसँग छलफललाई निरन्तरता दिने तालिका रहेको छ । सरकारले जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार अहिले मन्त्रालयमा बजेट निर्माणको चटारो बढेको हो ।
काठमाडौं,२२वैशाख:आज(मंगलबार) राति मधेस प्रदेशका जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले सूचना जारी गरी आज राति बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै आज दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हावाहुरीबाट जोगिने उपायहरू अपनाउन महाशाखाले सबैलाई अनुरोध समेत गरेको छ ।
२२ बैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै ुखुल्ला पत्रु मार्फत गम्भीर प्रश्न उठाएका छन् ।
संसदलाई छलेर सरकार चलाउन खोजिएको आरोप लगाउँदै साम्पाङले सीमा सुरक्षा, अर्थतन्त्र र सुकुम्बासी समस्यामा सरकार निकम्मा बनेको दाबी गरेका छन् । साम्पाङले विशेष गरी लिपुलेक क्षेत्रमा भारतले कैलाश(मानसरोवर जोड्ने सडक निर्माण गरिरहँदा सरकार केवल कूटनीतिक नोटमा सीमित भएको भन्दै आक्रोश पोखेका छन् ।
उनले यो समस्या समाधानका लागि नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघ सम्मिलित चतुर्पक्षीय वार्ताको माग गर्दै सीमा रक्षाका लागि सेनालाई सीमामै खटाउनुपर्ने अडान राखेका छन् ।
सेनालाई पाले बनाइयो, सीमा मिचिँदा सरकार मौन
सरकारले नेपाली सेनाको दुरुपयोग गरेको साम्पाङको आरोप छ । मन्त्रीहरूको व्यक्तिगत सुरक्षा र ढोका खोल्ने काममा सेनालाई लगाएर सीमाना असुरक्षित छोडिएको उनले पत्रमा उल्लेख गरेका छन् । ‘सिमानामा सेना नभएकै कारण देशको भूभाग मिचिएको हो,’ साम्पाङले भनेका छन्, ‘सेनालाई मन्त्रीको पाले होइन, सिमानाको रक्षक बनाइनुपर्छ ।’
गरिबको बास उठाउने कि बाटो बनाउने?
सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारी कदमको आलोचना गर्दै उनले विपद् व्यवस्थापनमा सरकारको ध्यान नगएको टिप्पणी गरेका छन्। उनले प्रश्न गरेका छन्— ‘सुकुम्बासी बस्ती भत्काउन व्यस्त डोजरहरू रोशी खोला जस्ता बाढीग्रस्त क्षेत्रमा बाटो खोल्न किन प्रयोग गरिँदैन?’
ऋणको भार र मार्ग प्रशस्तको माग
देशको अर्थतन्त्र वैदेशिक ऋणले थिचिएको भन्दै साम्पाङले तत्काल ऋण लिने प्रक्रिया रोक्न माग गरेका छन् । राज्यलाई सन्तुलित ढंगले चलाउन नसक्ने सरकारले कुर्सीमा बसिरहनुको औचित्य नभएको उनको तर्क छ। उनले स्पष्ट शब्दमा भनेका छन्, ‘राज्य सञ्चालन गर्न नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।’
साम्पाङले आगामी बजेटमा सबै क्षेत्रका जनताका समस्या समेट्न र सरकारको गतिविधिको पूर्ण जानकारी पत्रकार सम्मेलनमार्फत नियमित रूपमा जनतालाई दिनसमेत माग गरेका छन् ।
२२ वैशाख, काठमाडौं । भारतका दुई ठूला दलहरूबीच आलोपालो सत्ता परिवर्तन भइरहने तमिलनाडुको राजनीतिमा यसपटक एउटा नयाँ शक्ति तीव्र गतिमा उदय भएको छ। अभिनेता सी. जोसेफ विजय नेतृत्वको दलले स्थापित राजनीतिक समीकरणलाई चुनौती दिँदै सत्ताको बागडोर सम्हाल्ने बलियो सङ्केत देखाएको छ।
पाँच राज्यको विधानसभा चुनावको परिणाम आउँदै गर्दा तमिलनाडुले देशकै राजनीतिमा नयाँ नेतृत्व र वैकल्पिक शक्तिको सन्देश दिएको छ। पछिल्लो चुनावी रुझानलाई हेर्दा विजय नै तमिलनाडुको आगामी मुख्यमन्त्री बन्ने सम्भावना प्रबल देखिएको छ।
दशकौँदेखि दुई मुख्य क्षेत्रीय दलको नियन्त्रणमा रहेको तमिलनाडुको राजनीतिमा यो नतिजालाई एक ऐतिहासिक मोडका रूपमा हेरिएको छ। जुन विजयको फिल्म ‘जननायक’ लाई प्रदर्शनमा रोक लगाइएको थियो, तिनै विजय मुख्यमन्त्री बन्ने दिशामा अघि बढिरहेका छन्।
यद्यपि उनको फिल्म प्रदर्शन हुन सकेन, तर ‘फर्स्ट रोअर’ नाम दिइएको त्यसको ट्रेलरमा व्यक्त दुई वाक्यले आम मानिसको मन जितेको थियो। उक्त ट्रेलरमा विजयले भनेका थिए, ‘म आइरहेको छु र फिर्ता जाने मेरो कुनै इरादा छैन ।’ उनको यही दृढ सङ्कल्पले नै आज उनलाई राजनीतिक सफलताको नजिक पुर्याएको देखिन्छ।
सन् २०२४ फेब्रुअरी २ मा निर्वाचन आयोगमा दर्ताका लागि आवेदन दिएको ‘तमिलग वेत्री कझगम’ (टिभीके) ले सोही वर्षको सेप्टेम्बर ८ मा आधिकारिक मान्यता प्राप्त गरेको थियो । गठन भएको दुई वर्षभित्रै यो पार्टी अहिले राज्यमा सरकार बनाउने बलियो स्थितिमा आइपुगेको छ।
तीन दशकदेखि तमिल फिल्ममा सुपरस्टारका रूपमा स्थापित ५१ वर्षीय विजय आफ्नो करियरको उत्कर्षमा अभिनय त्यागेर पूर्णकालीन राजनीतिमा होमिएका हुन् । आफ्ना र्यालीहरूमा उनले बारम्बार भन्ने गरेका छन् कि उनी आफ्नो सबैथोक त्यागेर केवल जनताको सेवाका लागि चुनावी मैदानमा उत्रिएका हुन्।
प्रचारमा प्रविधिको अनुपम प्रयोग
विजयको चुनावी अभियान प्रविधिको अभूतपूर्व प्रयोगका कारण निकै चर्चामा रह्यो । उनले चुनावी सभाहरूमा ‘होलोग्राम’ प्रविधिको व्यापक प्रयोग गरे, जसलाई सन् २०२४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक अभ्यासमा ल्याएका थिए ।
मोदीले पछि यसको प्रयोग कम गरे पनि विजयले भने तमिलनाडुका गाउँगाउँमा होलोग्राममार्फत आफ्नो उपस्थिति जनाएर मतदातामाझ छुट्टै क्रेज पैदा गरे। जहाँ उनी भौतिक रूपमा पुग्न सक्दैनथे, त्यहाँ होलोग्राममार्फत पुगेर सर्वसाधारणसँग संवाद गर्ने शैलीले निकै प्रभाव पार्यो
प्रविधिसँगै विजयले फिल्म क्षेत्रको ‘बडी डबल’ अवधारणालाई पनि प्रचारको हिस्सा बनाए। फिल्मका जोखिमपूर्ण दृश्यमा प्रयोग गरिने जस्तै देखिने पात्रहरूलाई उनले चुनावी मैदानमा उतारे, जसले गर्दा मतदाताहरूले आफ्नै बीचमा विजय आएको महसुस गरे ।
यसका साथै, उनले आफ्नै स्वरूपका ‘म्यानिकिन’ हरूको पनि प्रयोग गरे। निर्वाचन आयोगले सन् २०२६ जनवरी २२ मा प्रदान गरेको ‘सिठी’ (ह्विसल) चिन्हलाई उनले जनस्तरसम्म पुर्याउन होलोग्राम र अडियोको प्रभावकारी संयोजन गरे।
उनको चुनावी चिन्हलाई लोकप्रिय बनाउन ‘के तपाईं सिठी बजाउन तयार हुनुहुन्छ ?’ भन्ने आह्वान र ‘ह्विसल पोडु’ गीतले महत्त्वपूर्ण भूमिका खेल्यो, जसलाई युट्युबमा ८ करोडभन्दा बढी पटक हेरियो ।
विजयले घरबाहिर ‘अल्पना’ (रङ्गोली) बनाउँदा सिठीको आकार दिन र बालबालिकामार्फत अभिभावकलाई मतदानका लागि प्रेरित गर्न सिठी बजाउन लगाएको आग्रह सामाजिक सञ्जालमा ‘रील’ का रूपमा भाइरल भयो । सेतो शर्ट र खाकी पाइन्टको उनको ‘युनिफर्म’ समर्थकहरूको पहिचान बन्यो । मतगणनाको रुझानसँगै कार्यकर्ताहरूले ओठमा सिठी राखेर बजाउँदै विजयको यो भुइँतहको प्रचार शैलीको सफलतालाई उत्सवका रूपमा मनाएका देखिन्थे ।
फिल्मदेखि राजनीतिसम्म: नायकत्वको यात्रा
विजयले पछिल्ला वर्षहरूमा आफ्ना फिल्मका कथाहरू र पात्रहरूमा आधारभूत परिवर्तन ल्याए । केवल मारधाड गर्ने नायकबाट उनी समाजका उपेक्षित समस्याहरूसँग जुध्ने जननायकमा रूपान्तरित भए ।
फिल्म, सञ्चारमाध्यम र साहित्यले समेत ओझेलमा पारेका चुनावी धाँधली, स्वास्थ्य क्षेत्रको भ्रष्टाचार, महिला खेलकुद र किसानका मुद्दाहरूलाई उनले आफ्ना फिल्मको मुख्य आधार बनाए। यसरी पर्दामार्फत जनताका आधारभूत समस्याहरूसँग आफूलाई जोड्दै उनले आफ्नो छवि एक महानायकको रूपमा स्थापित गरे।
विशेष गरी, एच. विनोदद्वारा निर्देशित र केभीएन प्रोडक्सन तथा थेस्पियन फिल्म्सद्वारा निर्मित फिल्म ‘जननायक’ को कथानक यस्तै एउटा संघर्षशील नेताको वरिपरि घुम्छ ।
सन् २०२६ को सुरुमा पोङ्गलको अवसरमा रिलिज हुने तयारीमा रहेको यो फिल्म सेन्सर बोर्डको चासो र चुनावी आचारसंहिताका कारण पटक-पटक स्थगित भयो।
कार्यकर्ता संयन्त्र : फ्यान क्लबदेखि राजनीतिक मेसिनसम्म
टिभीकेको अहिलेको सफलता एक दशक लामो सुनियोजित प्रक्रियाको प्रतिफल हो। सन् २००९ मा विजयले आफ्ना छरिएका फ्यान क्लबहरूलाई एकीकृत गरी ‘विजय मक्कल इयक्कम’ (भीएमआई) नामक कल्याणकारी संस्था गठन गरे। अन्य कलाकारहरूले फ्यान क्लबलाई केवल उत्सवमा सीमित राख्दा विजयले भने यसलाई सामाजिक कार्य र राजनीतिक चेतना फैलाउने संयन्त्रको रूपमा विकास गरे।
सन् २०२१ को स्थानीय निकाय निर्वाचन टिभीकेका लागि एउटा महत्त्वपूर्ण ‘परीक्षण’ साबित भयो। विजयको प्रोत्साहनमा स्वतन्त्र उम्मेदवार बनेका वीएमआई सदस्यहरूले १६९ मध्ये ११५ भन्दा बढी सिट जितेर सबैलाई आश्चर्यचकित पारे ।
यसले फ्यान क्लबका सदस्यहरूलाई मतदान केन्द्र व्यवस्थापन र चुनावी प्रचारको जटिलता बुझ्ने अवसर दियो । सन् २०२४ र २०२५ का विशाल र्यालीहरूमा देखिएको लाखौँको उपस्थिति र अनुशासित परिचालनले टिभीकेको सङ्गठनात्मक क्षमतालाई थप पुष्टि गर्यो ।
प्रशान्त किशोरको रणनीतिक भूमिका
टिभीकेको चुनावी रणनीतिलाई मूर्तरूप दिन प्रख्यात रणनीतिकार प्रशान्त किशोरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
सन् २०२५ फेब्रुअरी १० मा चेन्नईमा आयोजित एक विशेष सत्रमार्फत उनले टिभीके पदाधिकारीहरूलाई चुनावी विजयका सूत्रहरू सिकाएका थिए । आफ्नै ‘जन सुराज’ अभियानमा व्यस्त रहे पनि किशोरले तमिलनाडुको चुनावी अभियानलाई विशेष प्राथमिकतामा राख्दै रणनीतिक सहयोग उपलब्ध गराए।
रणनीतिकै क्रममा किशोरले सत्तारुढ द्रमुक नेताहरूले उत्तर भारतीय श्रमिकविरुद्ध दिएका विवादास्पद अभिव्यक्तिलाई मुख्य मुद्दा बनाए । द्रमुक सांसद दयानिधि मारनले बिहार र उत्तर प्रदेशका मानिसहरूका बारेमा दिएको टिप्पणीलाई उनले ‘द्रविड अहंकार’ को रूपमा चित्रित गरे। यसले एकातिर द्रमुकलाई रक्षात्मक बनायो भने अर्कातिर टिभीकेलाई समावेशी र न्यायपूर्ण शक्तिका रूपमा उभ्याउन मद्दत पुर्यायो।
करुर भागदौड
विजयको राजनीतिक उदयका बीच सन् २०२५ सेप्टेम्बर २७ मा करुर जिल्लामा घटेको दुःखद घटनाले उनको यात्रामा चुनौती थपेको थियो ।
टिभीकेको पहिलो ठूलो र्यालीका क्रममा भएको भागदौडमा ४१ जनाको मृत्यु भयो, जसमा महिला र बालबालिकाहरू समेत थिए ।
कार्यक्रम व्यवस्थापनमा कमजोरी र विजयको आगमनमा भएको ढिलाइलाई यो दुर्घटनाको मुख्य कारण मानिएको थियो।
यस घटनापछि मद्रास उच्च अदालतको आदेशमा विशेष अनुसन्धान टोली र पछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले समेत छानबिन अघि बढायो। यस सिलसिलामा विजय आफैँले तीन पटकसम्म सीबीआईको सोधपुछ सामना गर्नुपर्यो ।
उनले उक्त घटनाप्रति सार्वजनिक रूपमा माफी माग्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका थिए । राजनीतिक रूपमा गम्भीर प्रश्नहरू उठे पनि यो घटनाको क्षतिलाई चिर्दै विजय अहिले मुख्यमन्त्रीको दौडमा अग्रस्थानमा देखिएका छन्।
चुनावी परिणाम र ऐतिहासिक उपलब्धि
तमिलनाडुमा यसपटक ऐतिहासिक ८५.१० प्रतिशत मतदान भयो, जसमा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या उल्लेख्य रह्यो। कुल ४.८७ करोड मतदातामध्ये करुर निर्वाचन क्षेत्रमा सबैभन्दा बढी ९३.४१ प्रतिशत मत खसेको थियो। चुनावी विश्लेषक र ‘एक्सिस माई इन्डिया’ जस्ता एक्जिट पोलहरूको पूर्वानुमानलाई सही सावित गर्दै पहिलो पटक चुनाव लडेको विजयको पार्टीले राजनीतिक चमत्कार गरेको छ।
बहुमतका लागि ११७ सिट आवश्यक पर्ने तमिलनाडुमा टिभीकेले उक्त आँकडा नजिक छ ।
घोषणापत्र र जनताका आकाङ्क्षा
विजयले आफ्नो चुनावी घोषणापत्रलाई तमिल ग्रन्थ ‘तिरुक्कुरल’ को दर्शन (सद्गुण, धन र आनन्द) मा आधारित बनाएका थिए, जसले महिला, युवा र किसानलाई विशेष प्राथमिकता दिएको थियो। उनले महिलाका लागि मासिक २,५०० रुपैयाँ भत्ता, निःशुल्क ग्यास सिलिन्डर र शैक्षिक ऋणमा सहुलियत जस्ता लोकप्रिय कार्यक्रमहरू अघि सारे।
स्थापित दलहरू द्रमुक र अन्नाद्रमुकले मासिक २,००० रुपैयाँको वाचा गरिरहँदा विजयले थप रकम र सुविधाहरू घोषणा गरेर मतदाताको मन जित्न सफल भए।
आर्थिक चुनौती र बेरोजगारी झेलिरहेका युवा तथा किसानका लागि ऋण माफी र बेरोजगारी भत्ता जस्ता वाचाहरूले विजयलाई एक आशालाग्दो विकल्पका रूपमा स्थापित गर्यो । विशेष गरी माछा मार्ने समुदायका लागि पहिलो पटक न्यूनतम समर्थन मूल्य र आर्थिक सहयोगको घोषणा गरेर उनले राज्यको तल्लो तहसम्म आफ्नो पकड बलियो बनाए ।
यसरी जनताको आवश्यकतालाई सही समयमा पहिचान गरी गरिएका तार्किक वाचाहरूले नै उनलाई मुख्यमन्त्रीको कुर्सीसम्म पुर्याउने आधार तयार गरेको देखिन्छ।
युवा मतदाता: परिवर्तनको आधार
तमिलनाडुमा यसपटक १.१८ करोड युवा मतदाता (१८-२९ वर्ष) ले कुल मतदाताको २० प्रतिशत हिस्सा ओगटेका थिए, जो दुवै परम्परागत द्रविड पार्टीहरूबाट टाढिएको मानिन्छ। विशेष गरी पहिलो पटक मतदान गर्ने १२.५१ लाख युवाहरूले विजयमा नयाँ परिवर्तनको आशा देखेका छन्। भारतीय जनता पार्टी (बीजेपी) ले यो रिक्तता पूर्ति गर्ने प्रयास गरे तापनि तमिलनाडुका युवाहरूले आफ्नै माटोको नयाँ नेतामा भरोसा गरे। नतिजास्वरूप, २७ सिटमा चुनाव लडेको बीजेपीको प्रदर्शन यसपटक पनि निराशाजनक रहन पुग्यो।
पछिल्ला केही चुनावदेखि बीजेपीले अन्नाद्रमुक र द्रमुकको विकल्प बन्न निकै कसरत गरे पनि मतदाताले उनीहरूलाई स्वीकार गरेनन्। तमिलनाडुका जनताले एक नयाँ नेता त खोजिरहेका थिए, तर त्यो बीजेपीले अघि सारेको अनुहार थिएन। जनताको यही राजनीतिक मनोविज्ञानलाई बुझेर विजयले सन् २०२४ मा पार्टी गठन गरे र दुई वर्षभित्रै मुख्यमन्त्रीको कुर्सी नजिक पुगेर सबैलाई स्तब्ध पारिदिएका छन् ।
यो नतिजाले सन् १९६७ मा सीएन अन्नादुरई र १९७७ मा एमजी रामचन्द्रनले राज्यको राजनीतिमा ल्याएको ऐतिहासिक परिवर्तनको सम्झना गराएको छ। दशकौँपछि तमिलनाडुको राजनीतिक परिदृश्यलाई पुनर्परिभाषित गर्दै विजय एक नयाँ युगको सूत्रधारका रूपमा उदाएका छन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
