पर्सा २४ साउन
सबैया साझेदारी वन उपभोक्ता समूह, पर्साको प्रथम साधारण सभा सम्पन्न भएको छ। समूहका अध्यक्ष लखनलाल साह कानुको अध्यक्षतामा आयोजित सभामा मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिए। दिगो वन व्यवस्थापनका लागि सरकारसँगै स्थानीय जनता पनि वृक्षरोपण र वन संरक्षणमा अग्रसर हुनुपर्ने उनको भनाइ थियो।
उनले २०३६ सालदेखि हुँदै आएको वन विनाशलाई नियन्त्रण गर्न साझेदारी वन उपभोक्ता समूहको अवधारणा अघि बढाइएको उल्लेख गर्दै वन संरक्षणको मूल उद्देश्यअनुसार सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए।
वनमा काठ सडेर जाने अवस्था रहे पनि उपभोक्ताले आवश्यक काठ सहज रूपमा प्राप्त गर्न नसकेको विषय पनि गम्भीर रहेको मन्त्री चौधरीले बताए। उनले वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई कसरी सरल र सहज बनाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका भूमि व्यवस्था तथा सहकारीमन्त्री श्याम पटेलले केही व्यक्तिको स्वार्थका कारण साझेदारी वनको प्रभावकारी व्यवस्थापन हुन नसकेको आरोप लगाए। साझेदारी वनका जिम्मेवार पदाधिकारीले वनलाई व्यापारिक दृष्टिले मात्र नहेरी सामाजिक सेवाको भावनाबाट वन संरक्षण र व्यवस्थापनमा लाग्नुपर्ने उनले बताए।
वन जोगाउनु सरकारको मात्र दायित्व नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री पटेलले वन संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
मन्त्री पटेलले मधेश प्रदेशका किसानले खेतीपातीका लागि आवश्यक रासायनिक मलको अभाव झेलिरहेको बताउँदै संघीय सरकारले पर्याप्त मल उपलब्ध नगराउँदा समस्या भएको बताए। प्रदेश सरकारलाई कागजमा मल उपलब्ध हुने गरे पनि त्यसलाई स्थानीय तहमा समयमै हस्तान्तरण गरी किसानसम्म पुर्याउने काम भइरहेको उनको भनाइ थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जनप्रसाद साह सोनार, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम तथा सदस्यहरू श्रवण साह, भैयाराम पटेल, जगतनारायणप्रसाद यादव, सुरेशकुमार, राजीव साह सोनार, रामअयोध्या राउत अहिर, राधिका भक्त लामा र रिता देवी कलवारिन लगायतको उपस्थिति थियो।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका प्रमुख प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको समेत सहभागिता रहेको थियो।
काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका साथै कर्णाली प्रदेशको पहाडी भाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस प्रदेश साथै कर्णाली प्रदेशको पहाडी भाग तथा बागमती प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका साथै बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, पर्यटन तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको हो।
काठमाडौँ,२३साउन:जिल्ला प्रहरी कार्यालय बाराका पप्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइएको छ ।
केही आन्तरिक विषयमा सोधपुछ र छानबिन गर्नुपर्ने भएकाले उनलाई मुख्यालय तानिएको हो । नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेले उनको विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले छानबिनका लागि उनलाई मुख्यालय बोलाइएको बताए । प्रहरी प्रधान कार्यालयले एसपी कुँवरमाथि कुन विषयमा छानबिन सुरु गरेको हो भन्नेबारे आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
यद्यपि, स्रोतका अनुसार उनीमाथि केही आन्तरिक प्रशासनिक वा आर्थिक मामिलामा उजुरी परेपछि सोधपुछका लागि बोलाइएको बुझिएको छ ।साभार:राताेपाटी
२३ साउन। नेपाल प्रहरीमा तोकिएको सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा जानेभन्दा अवधि नपुग्दै राजीनामा दिएर संगठन छाड्ने प्रहरी कर्मचारीको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरणअनुसार एक वर्षमा ६८१ जना प्रहरी कर्मचारी अनिवार्य अवकाशमा गएका छन् भने १ हजार २६४ जनाले राजीनामा दिँदै सेवा छाडेका छन्।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार पछिल्लो समय सेवा अवधि पूरा हुनुअघि नै प्रहरी संगठनबाट बाहिरिने कर्मचारीको संख्या बढ्दै गएको छ।
तथ्यांकअनुसार अनिवार्य अवकाश पाउने प्रहरीको तुलनामा ५८३ जना बढीले राजीनामा दिएका छन्। यसलाई अनुपातमा हेर्दा अनिवार्य अवकाशमा जाने प्रत्येक १० प्रहरीको तुलनामा करिब १९ जना प्रहरी कर्मचारीले सेवा अवधि पूरा हुनुअघि नै संगठन छाडेको देखिन्छ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी कर्मचारीले बीचमै सेवा छाड्नुका पछाडि विभिन्न कारण छन्। ३० वर्षे सेवा अवधि, उमेरहद, बढ्दो कार्यबोझ तथा वैदेशिक रोजगारीप्रतिको आकर्षण लगायतका कारण तल्लो तहदेखि माथिल्लो तहसम्मका प्रहरी कर्मचारीले सेवा अवधि पूरा हुनुअघि नै राजीनामा दिने क्रम बढेको बताइएको छ।
वीरगञ्ज । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले विद्युतमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
जनतामाथि विद्युतको करको भार थप्नुको सट्टा डेडिकेटेड तथा ट्रंक लाइनको अर्बौं रुपैयाँ बक्यौता उठाउन सरकार तत्काल सक्रिय हुनुपर्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले कृषकको सिँचाइ र नागरिकले खानेपानी लिफ्ट गर्न प्रयोग गर्ने विद्युतमा समेत १३ प्रतिशत भ्याट लगाउनु गलत भएको बताएका छन्।
उनका अनुसार आफू ऊर्जामन्त्री तथा नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा कृषकको सिँचाइमा लाग्ने डिमान्ड शुल्क छुट गरी विद्युत् महसुल प्रतियुनिट करिब ७ रुपैयाँबाट घटाएर करिब २ रुपैयाँ कायम गरिएको थियो। त्यस्तै, सामुदायिक खानेपानी लिफ्टमा डिमान्ड शुल्क छुट गरी प्रतियुनिट करिब ९ रुपैयाँबाट ४ रुपैयाँ २० पैसामा झारिएको उनले उल्लेख गरेका छन्।
‘कृषि सिँचाइका लागि विद्युत् निःशुल्कै गर्दा पनि हुन्छ। यस्ता अत्यावश्यक क्षेत्रमा सहुलियत दिनुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट लगाउने सरकारको कदम गलत छ,’ घिसिङले भनेका छन्।
घिसिङले कृषकको उत्पादन लागत निरन्तर बढिरहेको अवस्थामा विद्युतमा समेत कर थपिँदा किसान थप मारमा पर्ने बताएका छन्।
उनका अनुसार मल, बीउ, श्रम तथा कृषि यन्त्रको भाडालगायतका लागत बढिरहेका छन् भने किसानले उत्पादन गरेको वस्तुको मूल्य भने अपेक्षित रूपमा पाउन नसकेको अवस्था छ।
लिफ्ट सिँचाइबिना धेरै ठाउँमा खेती गर्न सम्भव नभएको र गाउँगाउँमा पानी लिफ्ट गरेर खानेपानीको व्यवस्था गर्नुपर्ने भएकाले त्यस्ता क्षेत्रमा विद्युतमा कर लगाउनुको सट्टा सहुलियत दिनुपर्ने उनले बताएका छन्।
ग्यास अभावको अवस्थामा विद्युतमा सहुलियत दिएर इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा सरकारले उल्टै घरायसी विद्युतमा भ्याट लगाएको भन्दै घिसिङले असन्तुष्टि जनाएका छन्।
उनले ग्यास सिलिन्डरमा निर्भरता घटाउँदै सरकारले घरघरमा इन्डक्सन चुल्हो प्रयोग बढाउने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन्।
‘देशमा उत्पादित विद्युत् खेर फाल्ने अनि ग्यासमा लाइन लगाउने, यो कस्तो विडम्बनारु’ भन्दै उनले विद्युत् खपत बढाउने नीति आवश्यक रहेको बताएका छन्।
घिसिङका अनुसार नेपालका विद्युतीय पूर्वाधार अहिले इन्डक्सन चुल्होको प्रयोग तथा विद्युतीय सवारीसाधन चार्जिङ बढे पनि त्यसलाई धान्न सक्ने अवस्थामा छन्। केही प्राविधिक समस्या आए पनि तत्काल समाधान गर्न सक्ने क्षमता नेपाल विद्युत् प्राधिकरणले विकास गरिसकेको उनको दाबी छ।
उनले आफूले घरको भान्सादेखि सवारीसाधनसम्म विद्युत् प्रयोग गर्दै आएको उल्लेख गर्दै मुलुकमा पनि विद्युत् खपत बढाउनुपर्नेमा जोड दिएका छन्।
घिसिङले देशभित्रै उत्पादित विद्युत् अधिकतम रूपमा खपत गर्न सके विदेशी ग्यास तथा पेट्रोलियम पदार्थमा निर्भरता घट्ने, विदेशी मुद्रा सञ्चिति बढ्ने र मुलुक आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढ्ने बताएका छन्।
उनले विद्युत् खपत बढाउने वातावरण बनाउनुपर्नेमा करको भार थपेर उपभोक्तालाई निरुत्साहित गर्न नहुने तर्क गरेका छन्।
‘अब सबैको घरघर विद्युतबाट चलाऔँ। देश आत्मनिर्भर अर्थतन्त्रतर्फ अगाडि बढ्छ। विदेशी मुद्रा सञ्चिति बढ्छ,’ घिसिङले भनेका छन्।
अन्त्यमा उनले विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गर्दै त्यसको विकल्पमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगकर्ताबाट उठ्न बाँकी अर्बौं रुपैयाँ बक्यौता असुल गर्न तत्काल कदम चाल्न आग्रह गरेका छन्। यात्रा डेली
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
