काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले दोस्रो महामन्त्री भूपदेव शाहलाई बनाएको छ। शाह पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहका सहयोगी हुन् । उनकै कोटाबाट अछामका शाह महामन्त्री बन्न सफल भए। उनलाई महामन्त्री बनाउने विषयमा पार्टीभित्र ठूलो मतभेद थियो । तर प्रधानमन्त्रीसमेत रहेका बालेन्द्रको कोटाबाट उनले बाजी मारे।
सोमबारको केन्द्रीय समिति बैठकबाट भूपदेव महामन्त्री हुँदा पूर्वउपसभापति डोलप्रसाद अर्यालको स्थानमा कसैलाई लगिएन। नेताहरूका अनुसार उपसभापति पदमा पनि वालेन्द्रले आफूनिकटलाई ल्याउन चाहेका छन् । केही नेताहरूले बालेनको यस तयारीबारे पार्टीमा चर्चा गरिरहेका छन् ।
वालेन्द्र काठमाडौं महानगरपालिकाको मेयर हुँदा भूपदेव स्वकीय सचिव थिए। बालेनलाई सफल र परिणाममुखी बनाउन उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ। उनैलाई बालेनले महामन्त्री बनाउन खोज्दा केही नेताले विरोध पनि गरे।
बालेनसामु मुख नखोले पनि पार्टीमा असन्तुष्टि भने पोखियो । पार्टीका दोस्रो तहका नेताले भूपदेवलाई रोक्न सकेनन्। तर पार्टी सभापति रवि लामिछानेलाई भेटेर भूपदेवलाई महामन्त्रीबाट रोक्न आग्रह गरे।
रविले बालेनको अनुरोधमा भूपदेवलाई महामन्त्री बनाउनै पर्ने बाध्यता रहेकाले रोकिने अवस्था नरहेको जवाफ दिए । ‘पार्टीमा लामो समय काम गरेका व्यक्तिहरू भएकाले भूपदेवजीलाई सह-महामन्त्रीमा राखौँ भनेर धेरैले सभापतिलाई भनेको हो। तर वरिष्ठ नेताजीले सुनिल लम्सालको ठाउँमा भूपदेवलाई रोज्नु भएकाले रोक्न सकिँदैन भन्नुभयो,’ पार्टीका एक नेताले भने, ‘दोस्रो तहका धेरै नेताहरू भूपदेवलाई महामन्त्री बनाएकोमा असन्तुष्टि हुनुहुन्छ । तर व्यक्त गर्ने अवस्थामा हुनुहुन्न। उहाँभन्दा धेरै सिनियर नेताहरू सचिवालयमा हुँदा रोक्न खोजिएको हो।’
२९ वर्ष मात्रै लागेका भूपदेव अछामको मङ्गलसेनका बासिन्दा हुन्। उनी यसपटकको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा पराजित भए। बालेनले यसअघि अर्का सहयोगी सुनल लम्साललाई महामन्त्री बनाए ।
तर लम्साल उनकै क्याबिनेटका मन्त्री भएपछि भूपदेवलाई अवसर जुरेको हो। सुनिल अहिले बालेन क्याबिनेटमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छन्। बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीमा भटाभट आफू पक्षीय नेताहरूलाई जिम्मेवारी दिन थालेपछि दोस्रो तहका नेताहरू असन्तुष्ट देखिएका छन्।
औपचारिक रूपमा नेताहरू बोल्न नचाहे पनि असन्तुष्टि पोख्न थालिएको छ। केही समयअघि रविका विश्वासपात्र प्रमोद न्यौपानेले फेसबुकमा लेखेर असन्तुष्टि पोखेका थिए। पार्टीका अन्य नेताहरूले औपचारिक रूपमा बोलेका छैनन् ।
विद्यालय जीवनमै वालेन्द्रसँग जोडिएका भूपदेव एलायन्स एकेडेमीमा कक्षा ६ मा अध्ययनरत हुँदा नजिकिएका हुन्। भूपदेव ६ कक्षामा हुँदा वालेन्द्र १० कक्षामा पढ्थे। त्यहीँबाट उनीहरूबीच घनिष्ठ सम्बन्ध बनेको थियो। विवेकशील साझामा पनि केही समय काम गरेका भूपदेव पछि बालेनसँग जोडिएर महानगरमा काम गरे। सानो उमेरमै राजनीतिमा युवाको उपस्थिति बढाउनुपर्छ भन्ने मान्यता राख्छन् भूपदेव ।
रविलाई सम्झाएका थिए नेताहरूले
भूपदेवलाई महामन्त्री पदबाट रोक्न रविलाई उनी पक्षका नेताहरूले जोडबल गरे। उनीहरूले वर्तमान गृहमन्त्री सुधन गुरुङको उदाहरण दिँदै अपरिपक्व राजनीति हुनसक्ने भन्दै सचेत गराएका थिए।
आफूभन्दा सिनियर नेता केन्द्रीय सदस्य भएको अवस्थामा भूपदेव महामन्त्री हुँदा सिनियरलाई ‘डोमिनेट’ महसुस हुन सक्ने नेताहरू बताउँछन्।
‘जसरी गृहमन्त्रीमा सुधन गुरुङको अपरिपक्वता देखिएको छ, त्यस्तै हुनसक्छ भनेर सजग गराएका हौँ। तर सभापतिज्यूले वरिष्ठ नेताले भूपदेवको आनीबानी त्यस्तो नभएको भनेपछि अन्य नेताहरू मत्थर हुनुभएको छ,’ पार्टीका एक नेताले भने, ‘प्रधानमन्त्रीले नै भूपदेवलाई महामन्त्री बनाउन भनेपछि सभापतिले इन्कार गर्न सक्नुभएन। बालेनले भूपदेवको जिम्मा लिन्छु भनेपछि सभापतिज्यू अगाडि बढ्नुभयो।’
भूपदेवलाई महामन्त्री बनाउन बालेन्द्रले यसअघिदेखि नै पहल गरेको स्रोतको दाबी छ। रविले छलफलपछि केन्द्रीय समिति बैठकबाटई पूर्णता दिए। स्रोतका अनुसार बालेनले प्रस्ताव राख्दै भूपदेवको प्रशंसा गरेका थिए । आफूलाई यो अवस्थासम्म ल्याउन उनले महत्वपूर्ण भूमिका खेलेको बालेनले बताएका थिए। पार्टी निर्माण र विस्तारमा पनि भूपदेवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ।
किन सम्झाए नेताहरूले
रविको चाहना नहुँदा नहुँदै गृहमन्त्री बनेका सुधन अहिले बालेननिकट मानिन्छन्। रवि र बालेनबीच समन्वय मिलाउन भूमिका खेलेकै कारण गुरुङलाई गृहमन्त्री बनाइएको हो। तर अहिले उनको नैतिकता र सम्पत्ति विवरणमाथि प्रश्न उठिरहेका छन्।
अन्य मन्त्रालयको क्षेत्राधिकार मिच्ने, असम्बन्धित क्षेत्रमा ठाडो आदेश दिने र प्रहरीमा हस्तक्षेप गर्ने जस्ता आरोप उनीमाथि लाग्दै आएका छन्। कार्यशैली अराजक देखिन थालेपछि बालेन र रविले सोच्नुपर्ने अवस्था आएको भन्दै नेताहरूले सुझाव दिएका छन्। वालेन्द्रले शनिबार गृहमन्त्री गुरुङलाई भेटेर लोकप्रिय हुने नाममा जथाभावी नगर्न र कानुन अध्ययन गर्न सुझाव दिएका थिए।
यता, भूपदेव पनि वालेन्द्रकै सिफारिसमा महामन्त्री बनेकाले गृहमन्त्रीजस्तै व्यवहार भए पार्टीलाई क्षति पुग्ने भन्दै नेताहरूले सचेत गराएका छन्। ‘पार्टीमा लामो समय काम गरेकाहरूले गृहमन्त्री गुरुङजस्तै व्यवहार महामन्त्रीको पनि भए पार्टीले धक्का महसुस गर्नुपर्ने सम्झाएका छन्,’ पार्टीका एक नेताले भने, ‘यो कुरा सभापतिज्यूले वरिष्ठ नेतालाई राख्दा भूपदेव त्यस्तो होइन, उसको जिम्मा म लिन्छु भन्नुभएछ। तर धेरै नेताहरूले सुधनको उदाहरण दिँदै भूपदेवलाई रोक्न खोजेका थिए।’
सुधनलाई रविले सम्झाए, बालेनले बाँकी
सभापति लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको रविको सचिवालयले पुष्टि गरेको छ। सचिवालयका अनुसार रविले सुधनलाई क्षेत्राधिकार नमिच्न र कानुनी सीमा बुझेर काम गर्न सुझाव दिएका छन्। जनताले सरकारको काम नजिकबाट हेरिरहेको भन्दै लोकप्रियताभन्दा परिणाममुखी काम गर्न उनले आग्रह गरेका थिए।
बालेनको सचिवालयले भने गृहमन्त्रीसँग प्रधानमन्त्रीको छुट्टै भेट भएको पुष्टि गरेको छैन। तर वालेन्द्रले पनि सचिवालयमार्फत गृहमन्त्रीको कार्यशैली सुधार गर्न जनाउ दिएको बताइन्छ।
‘पार्टी सभापति र गृहमन्त्रीबीच भेट हुनु स्वाभाविक हो। उठेका विषयमा छलफल भएको छ। प्रधानमन्त्रीज्यूले पनि केही संकेत दिनुभएको छ,’ रविनिकट एक नेताले भने, ‘अहिले नै गृहमन्त्रीलाई फिर्ता बोलाउने मनस्थितिमा दुवै नेता छैनन्। कार्यशैली सुधार्न सके सुरक्षित रहन सक्नुहुन्छ।’
गृहमन्त्रीमाथि चौतर्फी प्रश्न उठेपछि रवि र बालेन दबाबमा रहेको संकेत देखिएको छ। तर उनीहरू तत्कालै गृहमन्त्री हटाउने निर्णयमा पुगेका छैनन्। सम्भवत: त्यही विषयमा सोमबार राति दुई नेताबीच रविको अपार्टमेन्टमा वार्ता भएको छ।
सुरक्षा निकायका पूर्व प्रमुखहरूले पनि गृहमन्त्रीको कार्यशैली र सम्पत्ति विवरणबारे शंका व्यक्त गरेका छन्। उनका गतिविधिले सरकारमाथि नै प्रश्न उठ्ने भन्दै उनीहरूले आलोचना भएका विषयमा यथाशीघ्र जवाफ दिनुपर्ने मत राखेका छन् ।
८ बैशाख (माडी) चितवन । समयको बहावले माडीका फाँटहरूमा धेरै परिवर्तन ल्यायो। हिजोका कच्ची बाटाहरू आज पक्की भएका छन्, घरघरमा बिजुली बलेको छ र हात(हातमा सूचना प्रविधि पुगेको छ। तर, यी भौतिक चमकधमकका बीच ९५ वर्षका केवल चौधरीका आँखामा भने एउटा छुट्टै खालको न्यास्रोपन झल्किन्छ।
१९८८ सालमा जन्मिएका केवल चौधरी रामसिंह चौधरीका जेठो सन्तान हुन्। उहाँका बुवा राणाकालमा मान्ने गन्ने हुनुहुन्थ्यो र केवल चौधरीको जेठी श्रीमती सोमया चौधरीबाट तीन छोरा जन्मिए भने भुसिया चौधरीबाट तीन छोरा र दुई छोरी जन्मिए। केवल चौधरी कान्छी पट्टी सोनिया चौधरीका जेठो सन्तान हुनुहुन्छ।
केवल चौधरीको वैवाहिक जीवन पनि सरल र पारिवारिक उत्तरदायित्वमा आधारित थियो। उहाँले रुक्मणी चौधरीसँग विवाह गर्नुभयो, जसबाट दुई छोरा र दुई छोरी जन्मिएका छन्। अर्की श्रीमती सनचरिया देवीसँग चार सन्तान थिए। पदमा रहदा व्यक्तिगत नाममा कुनै सम्पत्तिमा बजार तथा अन्य क्षेत्रको जग्गा राख्नुभएन, तर सामाजिक हित र विकासमा योगदान दिन जीवन समर्पित गर्नु भएको छ।
केवल चौधरी केवल एक व्यक्तिको नाम होइन, उनी माडीको विकास र थारु समुदायको रक्षाका लागि ठडिएको एउटा सिङ्गो इतिहास हुन्। २४ वर्षसम्म बघौडा पञ्चायतको ुप्रधानपञ्चु बनेर उनले माडीलाई जुन आकार दिए, त्यो आजका पुस्ताका लागि एउटा विश्वविद्यालय जस्तै छ।
हामी सरकारको मुख ताक्दैनथ्यौँ, गाउँलेको काँध जोड्थ्यौँ
अहिलेको व्यवस्था र हिजोको अवस्थालाई तुलना गर्दै केवल चौधरी भावुक बन्छन्। उनी भन्छन्, “अहिले व्यवस्था बदलियो, प्रविधि आयो, मान्छेको बुझ्ने क्षमता पनि बढ्यो। तर, एउटा कुरा भने नराम्ररी हरायो— त्यो हो आपसी सद्भाव र सहकार्य।” उनी सम्झन्छन्, हिजो गाउँमा कुलो खन्नु पर्दा वा स्कुल बनाउनु पर्दा कसैले कसैलाई गुहार्नु पर्दैनथ्यो। गाउँलेहरू एकै ठाउँमा उभिएर आफैँ काम फत्ते गर्थे।
“अहिले त हरेक सानो कामका लागि सरकारको मुख ताक्ने चलन बस्यो,” उनी लामो सुस्केरा हाल्दै भन्छन्, “मानिसमा हिजोको जस्तो निस्वार्थ भावना छैन। अहिले त स्वार्थ, घमण्ड र एकले अर्कोलाई अपमानित गर्ने प्रतिस्पर्धा मात्र देख्छु।”
आफ्नो अन्न बेचेर शिक्षक पाल्ने त्यो त्यागी हात
केवल चौधरी त्यस्ता व्यक्तित्व हुन्, जसले पदमा रहँदा आफ्नो नाममा एक टुक्रा जग्गा जोड्नेतिर ध्यान दिएनन्। उनले त भावी पुस्ताका लागि ५६ बिघा सार्वजनिक जग्गा जोगाए, बघौडा स्कुलका लागि ८ बिघा जग्गा सुरक्षित राखे। अझ अचम्मको कुरा त के छ भने, गाउँको स्कुलमा शिक्षकलाई तलब खुवाउने पैसा नहुँदा उनले आफ्नो घरको अन्न बेचेर शिक्षकको पेट भरेका थिए।
“आफूलाई दिक्षित बनाउने गुरुलाई सम्झने र सम्मान गर्ने संस्कार हिजो थियो, आज मान्छे ओहोदामा पुगेपछि हिजोको त्याग बिर्सन्छन्,” उनी भन्छन्। विकासको नाममा विद्यालयको जग्गा मासेर अन्य भवनहरू बनेको देख्दा उनको मन अहिले पनि भक्कानिन्छ।
२०२० सालतिर जब सिमरा मौजाका ४० घर निकुञ्जको जग्गामा परेर विस्थापित भए, तब केवल चौधरीले नै बोटे(थारु बस्तीको संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गरे। माडीको कृषि, स्वास्थ्य र शिक्षाको जग बसाल्न उनले ४९ बिघा जग्गाको व्यवस्थापन गरे। २०२१ सालमा सालको काठले बनेको सानो घरबाट उनले प्रधानपञ्चको कार्यभार सम्हाल्दा उनमा एउटै मात्र ध्येय थियो— ुमेरो माडी र मेरा गाउँलेको भलो होस्।
त्यतिबेला गाउँ–गाउँमा खानेपानीको असुविधा गम्भीर थियो। केवल चौधरीले इनार खन्ने, विद्यालय भवन निर्माण गर्ने, सार्वजनिक जग्गा छुट्टाउने र थारु बस्तीको संरक्षण गर्ने कामहरू निरन्तर गर्नु भयो। उहाँको पहलकै कारण माडीमा केही महत्वपूर्ण सार्वजनिक स्थल, सङ्ग्रहाल निर्माणका लागि जग्गा सुरक्षित रह्यो।
वर्तमानलाई एउटा जीवन्त पाठ
माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले पनि स्वीकार्छन् कि केवल चौधरीको समर्पणले नै आजको माडीको जग बलियो भएको हो। तर, केवल चौधरीलाई एउटै कुरामा दुःख लाग्छ— पुराना मान्छेहरूको योगदानको कदर हुन छोडेकोमा।
आजका राजनीतिक दल, कार्यकर्ता र नागरिकहरूका लागि केवल चौधरी एउटा ऐना हुन्। जतिबेला साधन(स्रोत थिएन, त्यतिबेला मान्छेका मनहरू जोडिएका थिए। आज साधन(स्रोत प्रशस्त छ, तर मनहरू फाटेका छन्।
९५ वर्षको यो जिवन्त इतिहासले हामीलाई सिकाउँछ— “विकास भनेको भवन ठड्याउनु मात्र होइन, समाजमा सद्भाव र सहकार्यको ज्योति जगाउनु पनि हो।” केवल चौधरीको यो कथाले वर्तमान पुस्तालाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ— के हामी विकाससँगै आफ्नो संस्कार र मानवता पनि जोगाउन सक्छौँ ?
रेडियो, एक्लोपनको सारथि र स्मृतिको झ्याल
समय फेरियो, माडीको स्वरूप फेरियो, तर केवल चौधरीको जीवनशैली अझै पनि उही मौलिकतामा अडिएको छ। ९५ वर्षको यो उमेरमा, माटोले पोतेको र खपेटाले छाएको उहाँको पुरानो घरले अहिले पनि उहाँको त्याग र सादगीको कथा भनिरहेको छ। आधुनिक महलहरूको भीडमा उहाँको त्यो कच्ची घर एउटा जीवित सङ्ग्रहालय जस्तै देखिन्छ।
यही शान्त र सरल घरको एउटा कुनामा बसेर केवल चौधरी आफ्नो दिन व्यतीत गर्नुहुन्छ। यो बुढ्यौलीमा उहाँको सबैभन्दा प्रिय र भरपर्दो साथी बनेको छ— एउटा पुरानो रेडियो सेट।
जब रेडियो बज्न थाल्छ, केवलका आँखामा एउटा छुट्टै चमक देखिन्छ। उहाँका लागि रेडियो केवल गीत(संगीत सुन्ने साधन मात्र होइन, यो त बाहिरी संसारसँग जोड्ने एउटा बलियो पुल र एक्लोपनको सारथि बनेको छ। रेडियोबाट आउने समाचारका शब्दहरूले उहाँलाई देश(दुनियाँको खबर सुनाउँछन् भने सूचनाहरूले उहाँको चेतनालाई अझै तिखार्ने काम गर्छन्।
छोराछोरी आफ्नै काममा व्यस्त हुन्छन्, साथीभाइहरू कति छुटेर गए, कति अस्ताए, उनी भावुक हुँदै भन्छन्, अहिले त यो रेडियो नै मेरो घरको सदस्य जस्तो भएको छ। यसले कहिल्यै झुटो बोल्दैन, कहिल्यै साथ छोड्दैन।
खपेटाको छानोमुनि बसेर रेडियोको मधुर आवाजमा हराउँदा उहाँलाई आफ्ना ती सक्रिय दिनहरूको याद आउँछ। हिजो गाउँलेका समस्या सुन्न घर दैलो पुग्ने उही कानहरू आज रेडियोका समाचारमा झुण्डिएका हुन्छन्। रेडियोको सुइँ घुमाउँदै गर्दा उहाँलाई लाग्छ, मानौँ उहाँ समयको अर्को एउटा कालखण्डको यात्रा गरिरहनुभएको छ। माटोको सुगन्ध, खपेटाको छहारी र रेडियोको स्वर— यही त्रिवेणीमा केवल चौधरीको जीवनको साँझ अहिले निकै शान्त र गरिमामय ढङ्गले बितिरहेको छ।
उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काको घरमा आज बिहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।
छिमेकी नगरपालिका त्रियुगा, चौदण्डी गढीका दमकल, प्रहरी तथा स्थानीय जनताको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण खुलेको छैन । आगलागीबाट ६६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले बताएको छ ।
उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका–७ बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।
बेल्टार बजारस्थित लक्ष्मीनाराण खड्काको घरमा आज बिहान लागेको आगलागीबाट ७० वर्षीय लक्ष्मीनारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन थापाले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट लक्ष्मीनाराणका छिमेकी रवीन दास र अर्का सकल देवको घरमा समेत क्षति भएको प्रहरीले जनाएको छ ।
छिमेकी नगरपालिका त्रियुगा, चौदण्डी गढीका दमकल, प्रहरी तथा स्थानीय जनताको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण खुलेको छैन । आगलागीबाट ६६ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले बताएको छ ।
८ बैशाख, काठमाडौँ । गृहमन्त्री सुधन गुरूङको सम्पत्ति विवरण र विवादास्पद व्यवसायीसँगको व्यापारिक सम्बन्धलाई लिएर राजनीतिक वृत्त तताएको छ। आफ्नै मन्त्रिमण्डलका प्रभावशाली सदस्यमाथि गम्भीर प्रश्न उठेपछि प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री गुरूङसँग लिखित स्पष्टीकरण माग गरेका छन्। प्रधानमन्त्रीको सक्रियता र गृहमन्त्रीको जबाफले यो प्रकरण अब केवल राजनीतिक चर्चामा मात्र सीमित नभई पदच्यूतको सम्भावित मोडतर्फ मोडिएको संकेत गरेको छ।
गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे प्रधानमन्त्रीसमक्ष आफ्नो लिखित स्पष्टीकरण बुझाएका छन्। सम्पत्ति विवरणमा सेयर खरिदको स्रोत लुकाएको र सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘व्यापारिक कनेक्सन’ जोडिएको विषयमा प्रधानमन्त्रीको सचिवालयले विशेष चासो व्यक्त गरेको थियो। गृहमन्त्रीले आफ्नो स्पष्टीकरणमा आफूले ऋण लिएर सेयर खरिद गरेको दाबी गर्दै कुनै पनि विवरण नलुकाएको जिकिर गरेका छन्।
तर, गृहमन्त्रीले बुझाएको स्पष्टीकरणले नयाँ कानुनी र नैतिक प्रश्नहरू उब्जाएको छ। उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ४ करोड ३१ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर स्वामित्व देखाएका छन्। जसमा स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्स जस्ता कम्पनीको संस्थापक सेयर समेत समावेश छ। स्पष्टीकरणमा उनले ती सेयरहरू २०८० भदौमा तमसुक गरेर ऋणमार्फत किनेको र उक्त रकम बैंकिङ च्यानलबाटै आएको उल्लेख गरेका छन्।
विवादको मुख्य चुरो भने उनले बुझाएको आधिकारिक सम्पत्ति विवरण र अहिलेको स्पष्टीकरणबीचको अन्तरमा देखिएको छ। मन्त्री नियुक्त हुँदा बुझाइएको विवरणमा उनले सेयर खरिदको स्रोत ‘व्यवसाय, पैतृक सम्पत्ति र लगानी’ उल्लेख गरेका थिए, जहाँ ‘ऋण’ शब्द कतै उच्चारण गरिएको थिएन। त्यति मात्र होइन, सम्पत्ति विवरणको ‘ऋण लिए/दिए’ को महल समेत उनले खाली छोडेका थिए। यसले उनीमाथि सम्पत्ति विवरण भर्दा जानाजानी झूटो विवरण पेश गरेको गम्भीर आरोप लागेको छ।
अर्कोतर्फ, हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँगको सम्बन्धलाई लिएर गृहमन्त्री मौन देखिनुले शंकालाई थप बल पुर्याएको छ। भट्टको पहलमा स्थापना भएका कम्पनीहरूमा मन्त्रीको संस्थापक सेयर रहनुले सामान्य लगानी मात्र नभई गहिरो व्यावसायिक साझेदारीको संकेत गर्छ। सेयर बजारका पुराना खेलाडी नभए पनि मन्त्री हुनुभन्दा केही दिन अघि मात्र ठूलो मात्रामा एउटै कम्पनी (Ncell वा NRN Infrastructure) को सेयर दोस्रो बजारबाट खरिद गरिनुलाई समेत अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि, पदीय मर्यादा विपरीत कार्य गरेको भन्दै आफ्नै पार्टीका श्रममन्त्री दीपककुमार साहलाई बर्खास्त गरिसकेका प्रधानमन्त्री बालेन शाहका लागि यो प्रकरण निकै चुनौतीपूर्ण बनेको छ। सुशासनको चर्को नारा दिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र यो विषयले प्रवेश पाए पनि नेतृत्व तहले अझै स्पष्ट धारणा सार्वजनिक गरेको छैन। पार्टी प्रवक्ता मनिष झाले थप छलफल आवश्यक रहेको भन्दै पन्छिन खोजे पनि आम नागरिक र सामाजिक सञ्जालमा गृहमन्त्रीको नैतिकतामाथि ठूलो प्रश्न उठेको छ।
कानुनी विज्ञहरूका अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरणमा झूटो सूचना दिनु भ्रष्टाचार निवारण ऐन आकर्षित हुने विषय हो। यदि प्रधानमन्त्रीले गृहमन्त्रीको जबाफलाई अपूर्ण वा झूटो ठहर गरेमा, उनले सुशासनको छवि जोगाउन सुधन गुरूङलाई पदमुक्त गर्ने प्रबल सम्भावना देखिन्छ। गृहमन्त्रीको स्पष्टीकरणमा देखिएका विरोधाभास र अनुत्तरित प्रश्नहरूले उनको राजनीतिक भविष्य अहिले धरापमा पारेको छ।
७ वैशाख, काठमाडौं । नेपाली फुटबलमा अहिले क भइरहेको छ ? नेपाली फुटबलको भविष्य अब के हुन्छ ? के फिफाले नेपाललाई निलम्बन गर्छ ? वा राखेपले एन्फालाई लगाएको निलम्बन फिर्ता लिएर पुरानै अवस्थाबाट एन्फाको निर्वाचन अघि बढाउन स्वीकृति देला ?
स्थगित राष्ट्रिय लिग फेरि सुरु होला त ? अनि चार खेल मात्र सम्पन्न भएर स्थगित भएको शहीद स्मारक महिला लिगको भविष्य के होला ? नेपालले आउँदै गरेको साफ महिला च्याम्पियनसिपमा भाग लिन पाउला ?
नेपाली फुटबल सधैं यस्तै अन्योलमै रमाउने हो त ? कसले आएर बचाउला नेपाली फुटबल, फुटबललाई हाँक्न सक्ने व्यक्ति को होला ? नेपाली फुटबललाई लिएर अहिले यी र यस्तै प्रश्नहरू सबैभन्दा चर्चाको विषयमा छ ।
साँच्चै भन्दा नेपाली फुटबल अहिले सबैभन्दा अनिश्चित र अन्योलको अवस्थामा छ । नेपाली फुटबललाई यो अवस्थामा पुर्याउन एक वा दुई जनाको मात्र दोष छैन । नेपाली फुटबल प्रशासन जोडिने अभिभावक संस्था एन्फाका वर्तमान तेतृत्व देखि कार्यसमिति, एन्फाका सदस्य जिल्ला क्लब संघहरू फुटबल स्टेकहोल्डरहरू सबै कहीँ न कहीँ दोषी छन्, र यो सबैको मारमा भने खेलाडी परेका छन् ।
जो देशको झण्डा बोकेर सधैं नेपालको नाम राख्न दिन रात नभनी परिश्रम गरेर मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सधैं तयार हुन्छ । त्यही खेलाडीहरूले खेल्दिएर संघ पदाधिकारी र देशको नाम उच्च हुन्छ ।
तर अहिलेको एन्फा नेतृत्व देखि सम्बन्धित सबै स्टेकहोल्डरको कामले गर्दा खेलाडीहरू निरीह बनेका छन् । विचरा खेलाडीहरू मैदानमा विपक्षीलाई गोल ठोक्ने र विपक्षीको आक्रमणलाई रोक्ने बाहेक अरु के नै गर्न सक्छन् र!!
अन्योल स्थिति
नेपाली फुटबल अहिले अन्योल र अनिश्चितताको भूमरीमा छ । अझ भन्दा नेपाली फुटबल अहिले गहिरो संकटको स्थितिमा छ ।
एन्फाले अर्ली इलेक्सन गर्ने भनेपछि सुरु भएको आन्तरिक विवाद, राष्ट्रिय खेलकुद परिषद (राखेप)बाट एन्फा निलम्बन अनि अन्तर्राष्ट्रिय रूपमा निलम्बन गर्ने फिफाको चेतावनीले गर्दा अहिले नेपाली फुटबल संकटमा छ ।
राखेपको निलम्बनको अवस्थामा पनि मोफसलमा विभिन्न गोल्डकप फुटबल आयोजना भइरहेपनि पनि राष्ट्रिय र अन्तर्रष्ट्रिय स्तरमा फुटबल पूर्ण रुपमा प्रभावित छ ।
नेपालले सहभागिता जनाउने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा अब सहभागिता हुने नहुने अन्योल छ । यस्तै राष्ट्रिय स्तरमा भइरहेका र हुने तयारीमा रहेका प्रतियोगिताहरुको भविष्य पनि अनिश्चित छ ।
विशेषगरी दक्षिण एसियाली स्तरमा सिनियर साफ च्याम्पियनसिप देखि उमेर समूहका विभिन्न प्रतियोगिताहरू नजिकिँदै छ । त्यसमा पनि महिला साफ च्याम्पियनसिपमा निकै नजिक आइसकेको छ ।
यतिबेला महिला फुटबल टोलीले धमाधम तयारी गर्नुपर्ने बेला उनीहरू फुर्सदिला बनेका छन् ।
यस्तै अगष्टमा साफ जुनियर लेभलको प्रतियोगिताहरू हुने तयारी छ भने सेप्टेम्बरमा बंगलादेशमा पुरुषको साफ च्याम्पियनसिप आयोजना हुने तय छ । तर नेपाली फुटबलको अन्योल स्थितीले गर्दा नेपालले यी प्रतियोगिताहरूमा नेपालको सहभागिता पनि अन्योल छ ।
राखेपको तीन महिनाको निलम्बनको एक महिना अवधि बित्न लाग्दा न राखेपले दिएको निर्देशन अनुसार एन्फाले काम गरेको छ, न राखेपले फुटबल गतिविधि चलायमान बनाउन केही पहल गरेको छ, न त फिफा र एएफसीसँग राखेप र एन्फाको संयुक्त बैठकले केही ठोस निर्णय निकाल्न सकेको छ ।
सरकारी प्रतिनिधित्व गर्ने खेलकुदको कार्यकारी निकाय देखि फुटबलको अभिभावक संस्था, अन्तर्राष्ट्रिय संस्थाहरूले छलफल गरेपनि नेपाली फुटबलको संकटलाई निचोडमा पुर्याउन सकेका छैन ।
राखेपको निलम्बनपछि एन्फालाई हाइसन्चो भएजस्तो, राखेपलाई ठूलै काम गरेँ भने जस्तो, अनि फिफा र एएफसी आफ्नो भोट बचाउनका लागि आफू अनुकुल निर्णयको पर्खाइमा बस्ने र चित्त नबुझे निलम्बनको चेतावनी दिइरहने जस्ता मैदान बाहिरको काम मात्र भइरहेको छ ।
यदि नेपाली फुटबललाई बचाउने हो भने सबै सरोकारवाल निकायले एक पटक आफ्नो स्वार्थ त्यागेर के गर्दा नेपाली फुटबलको हित हुन्छ र फुटबल विकासमा सहयोग पुग्छ भनेर गम्भिर रुपमा सोच्न र छलफल गर्न अत्यावश्यक छ ।
साफको टुंगो छैन, गोल्डकपमा व्यस्त खेलाडी
नेपाली फुटबल सधै सही तरिकाले चलिरहेको स्थिती हुन्थ्यो भने यतिबेला नेपाली राष्ट्रिय फुटबल टोली जोडतोडले भारतमा जुनमा हुने साफ महिला च्याम्पियनसिपको तयारीमा हुन्थे ।
साफ महिला च्याम्पियनसिपको पहिलो पटक उपाधि जित्ने भोकलाई नतिजामा परिणत गर्न प्रशिक्षकहरू रणनीति बनाएर आफ्नो टिमलाई तयार पारिरहेका हुन्थे । तर यहाँ अवस्था ठिक उल्टो छ ।
नेपालले साफ महिला च्याम्पियनसिपमा सहभागि हुने/नहुने नै टुङ्गो छैन । अर्कोतर्फ नेपाली महिला फुटबल खेलाडीहरू भने अहिले झापामा भइरहेको चन्द्रगढी महिला गोल्डकप खेल्न व्यस्त छन् ।
साफ महिला च्याम्पियनसिपको आठौं संस्करण भारतको गोवास्थित मार्गाओ सहरमा मे २५ देखि जुन ७ सम्म हुने तय छ ।
त्यसका लागि नेपालले कम्तीमा प्रारम्भिक सूची पठासक्नुपर्ने थियो । तर अहिलेसम्म नेपालले प्रारम्भिक सूची पठाएको आधिकारिक कुने जानकारी छैन । एन्फा स्रोतका अनुसार साफ महिला च्याम्पियनसिपको लागि आन्तरिक रुपमा काम गरिरहेको र प्रारम्भिक सूची बुझाएको जानकारी प्राप्त भएको छ । अब सहभागि हुने नहुने विषयमा राखेपले निर्णय लिनुपर्ने उनीहरुको दावी छ ।
यता राखेप सदस्य सचिव राम चरित्र मेहताले भने यस विषयमा एन्फाले कुनै छलफल नै नगरेको जानकारी दिए । हामीले सबै विषय अबलोकन गरिरहेका छौं । ‘एन्फाले यो विषयमा केही भनेको छैन । पुरुष टोली पठाउन मिल्ने महिला टोली किन पठाएन । आफूलाई ठिक लागेको गरिराछ । खेलाडी पठाउन मिल्दैन भन्ने आफू पदाधिकारी विदेश जाने योजना बनाउने गरिरहेका छन् ।’
राष्ट्रिय महिला फुटबल टिमका पूर्व कप्तान तथा गोलकिपर एन्जिला सुब्बाले पनि सोमबार फेसबुकमा स्ट्याटस लेख्दै नेपाली फुटबलमा अहिले खेल भन्दा बढी राजनीति र प्रशासनिक विवाद हावी भएको बताएकी छिन् । यसले खेलाडीको मन दुख्ने कुरा उनले लेखेकी छिन् ।
‘नेपाली फुटबल अहिले एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ खेलभन्दा बढी राजनीति र प्रशासनिक विवाद हावी भइरहेको छ। यो देख्दा एउटा खेलाडीको नाताले मन साह्रै रुन्छ, एन्जिलाले लेखेकी छन्, ‘राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फा बीचको आन्तरिक कलहले गर्दा आगामी साफ महिला च्याम्पियनसिपमा हाम्रो सहभागिता नै संकटमा पर्नु भनेको खेलकुदकै उपहास हो । यी “प्रशासनिक रोक” र “समयसीमाको उल्लङ्घन” केवल कागजका कुरा होइनन्, यसको पछाडि हजारौँ खेलाडीहरूको पसिना, सपना र देशका लागि केही गर्ने वर्षौंको मेहेनत लुकेको हुन्छ ।’
उनले देशको गर्वका लागि खल्ने खेलाडीको भविष्य अन्धाकारमा पुगेको लेखेकी छिन् । ‘जब संस्थाहरू चल्न छोड्छन्, तब एउटा खेलाडीको भविष्यमा अन्धकार छाउँछ । हामी देशको गर्वका लागि खेल्छौँ, तर प्रशिक्षण क्याम्प, प्राविधिक तयारी र स्पष्ट कार्ययोजना बिना हामी मैदानमा कसरी उत्रिने ?’
यस्तै एन्जिलाले नेपाल सरकार र एन्फालाई विनम्र अनुरोध गर्दै लेखेकी छिन्, ‘खेलकुद जोड्ने माध्यम बन्नुपर्छ, प्रशासनिक दाउपेचको रणभूमि होइन । दुवै पक्षलाई तुरुन्तै आपसी सहमति खोज्न म हार्दिक आग्रह गर्दछु । खेलाडीलाई खेल्ने वातावरण दिनुहोस्। हाम्रो मेहनत गोवाको मैदानमा देखिनुपर्छ, बन्द कोठाको विवादमा हराउनु हुँदैन । हाम्रा खेलाडीका सपनाहरूलाई प्रशासनिक पक्षाघातको सिकार नबनाउनुहोस् । हाम्रो भविष्य “जोखिम” मा होइन, तपाईंहरूको “प्राथमिकता” मा हुनुपर्छ ।’
साफ महिला च्याम्पियनसिपपछि साफ यू-१७ च्याम्पियनसिप अगष्टमा हुने तालिका छ । त्यसमा पनि नेपालको सहभागिता अन्योल बनेको छ ।
राखेपको निलम्बन रहेसम्म एन्फा ‘हामी त निलम्बनमा रहेको संघ’ भनेर पन्छिने अनी राखेपले साफ च्याम्पियनसिपको लागि कुनै पहल पनि नगर्ने हुँदा त्यसको असर खेलाडीको सहभागितामा परेको छ ।
यस्तै राखेपले एन्फालाई निलम्बन गरेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसलाई तेस्रो पक्षको हस्तक्षेप भन्द यसलाई स्वीकार नगर्ने र निलम्बन फिर्ता लिन भनिसकेको छ । यदी त्यसो नभए निलम्बन गर्ने फिफाले चेतावनी दिइसकेको छ ।
फिफाकै निलम्बनमा परेमा नेपालले साफ च्याम्पियनसिप देखि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैन ।
यही वैशाख ५ गतेदेखि सुरु भएको चन्द्रगढी गोल्डकपमा नेपालको तीन विभागीय टोलीसहित भुटान सम्मको टोलीको सहभागिता छ । नेपाली महिला फुटबल खेलाडीहरू अहिले त्यही प्रतियोगितामा व्यस्त छन् । त्रिभुवन आर्मी क्लबले आफ्नो पहिलो खेलमा जित हात पारिसकेको छ भने नेपालको च्याम्पियन टोली एपीएफ आइतबार प्रतियोगिताको लागि झापा गएको छ ।
यस प्रतियोगिताको विजेताले महिला फुटबलकै सर्वाधिक पुरस्कार राशी ११ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले पनि ५ लाख रुपैयाँ पाउनेछ । पुरस्कार धेरै भएपनि यसले अहिले खेलाडीलाई खुशी दिँदैन ।
महिला खेलाडीहरू मात्र होइन अहिले नेपालको पुरुष फुटबल खेलाडी र क्लबहरू पनि मोफसलकै विभिन्न गोल्डकपहरूमा व्यस्त छन् । मोरङले आइतबार मात्रै विराट गोल्डकप सम्पन्न भएको छ । जहाँ झापा ११ ले उपाधि जित्यो । यस्तै आइतबारै नेपालगन्जमा खजुर गोल्डकप सम्पन्न भएको छ ।
इलाममा इलाम गोल्डकप सञ्चालन भइरहेको छ । अन्य विभिन्न गोल्डकप प्रतियोगिताहरू पनि हुने तयारीमा छ । यस्तै पोखरामा पनि महिला नकआउट फुटबल प्रतियोगिता हुने तयारी छ ।
राखेपबाट एन्फा निलम्बन हुँदा केन्द्र र अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा प्रभाव परेपनि मोफसलको फुटबल भने अहिले चलायमान बनेको छ ।
एन्फा निलम्बनको असर
राखेपको निलम्बनपछि नेपालको केन्द्रिय र अन्तर्राष्ट्रिय फुटबल गतिविधि ठप्प जस्तै बनेको छ ।
निलम्बन भएपछि नेपालको पुरुष राष्ट्रिय टिमले एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्ध अन्तिम खेल खेल्यो । यसमा राखेपले एन्फालाई निमल्मबन अघि नै स्वीकृति माग गरेको र त्यही अनुसार नै स्वीकृति दिएकोले सहभागि भएको भन्ने तर्क रह्यो ।
त्यसमा राखेपले स्वीकृति दिएर सहजीकरण गरेको थियो, तर त्यसलगत्तै थाइल्यान्डमा भएको फिफा इन्टरनेसनल सिरिज २०२६ मा भने नेपाली महिला टिम सहभागी हुन पाएन । यसमा भने एन्फाले राखेपले निलम्बन गरेपछि महिला टोलीले तयारी गर्न नपाएको भन्ने तर्क राख्यो ।
निलम्बन हुनुअघि नै राखेप र एन्फाबीच एन्फाको अर्ली इलेक्सन विषयमा विवाद हुँदा नेपाल र हङकङको पुरुष टोलीबीच दशरथ रंगशालमा तय भएको मैत्रीपूर्ण खेल नै रद्द भएको थियो । त्यसमा राखेपले मैदान उपलब्ध नगराएको एन्फाको आरोप थियो ।
त्यसअघि नै एन्फाले गरेको राष्ट्रिय लिग र शहीद स्मारक महिला लिग स्थगित भयो । एन्फाको अर्ली इलेक्सन र राखेप-एन्फा विवाद नै लिग रोकिने मुख्य कारण बन्यो ।
राष्ट्रिय लिग खेलिरहेका पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीले श्रम स्वीकृति नलिई खेलेको भन्दै उजुरी परेपछि अध्यागमन विभागले त्यस्ता खेलाडी सहभागी नगराउन भन्दै एन्फालाई पत्र काट्यो ।
त्यसपछि एन्फाले खेलाडी सहभागी नगराउने मात्र होइन लिग नै स्थगित गरिदियो । त्यसपछि फेरि लिगको खेल हुन सकेको छैन । महिला लिगको जम्मा चार खेल मात्र भएको थियो भने एपीएफको महिला टोलीले त एक खेल पनि खेलेको थिएन ।
यस्तै एन्फाले नेपाल फुटबल खेलाडी संघसँग २०८२ चैत ३० गते शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल गर्ने भनेर गरेको सहमति पनि पुरा हुन पाएन । एन्फा निलम्बनपछि ए डिभिजन लिग पनि अन्योल बन्यो ।
नेपाली फुटबल अहिले शून्यकै स्थितिमा पुगेको छ । अब नेपाली फुटबलको संकटको समाधान कसरी हुन्छ, नेपाली फुटबललाई पुरानै स्थितिमा कसरी फर्काउने र फिफा निलम्बनबाट एन्फालाई कसरी जोगाउने भन् विषयमा बहस गर्दै समाधान निकाल्नु जरुरी छ ।
तर अन्योलमा रहेको नेपाली फुटबललाई ट्रयाकमा ल्याउन कसैलाई चासो छैन । सबै चुनावी अंकगणित र आफू पदमा पुग्ने खेल जस्तै बनेको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
