बुढीगण्डकीमा भीषण बाढी : पाँच जना बेपत्ता, आठ पुल र चार जलविद्युत् आयोजनामा क्षति
बिरगंज, पर्सा, २६ असोज
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि बनेको ताल फुट्दा आएको आकस्मिक बाढीले गोरखाको माथिल्लो तथा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीमा परी पाँच जना सम्पर्कविहीन भएका छन् भने दुईवटा पक्की पुल र छवटा झोलुङ्गे पुल बगाएको प्रारम्भिक विवरण छ। बाढीले चारवटा निर्माणाधीन जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ।
आइतबार बिहान करिब ४ बजेतिर चुमनुब्री क्षेत्रका बासिन्दाले भूकम्पको जस्तै कम्पन महसुस गरेका थिए। सुरुमा भूकम्प आएको अनुमान गरेका स्थानीयले केहीबेरमै बुढीगण्डकी नदीको असामान्य गडगडाहट सुनेपछि नदीमा बाढी आएको आशंका गरेका थिए। त्यसपछि तत्कालै तल्लो तटीय क्षेत्रका बासिन्दालाई फोनमार्फत सूचना प्रवाह गरिएको थियो।
समयमै सूचना आदानप्रदान भएकाले नदी आसपासका धेरै बासिन्दाले घर छाडेर सुरक्षित स्थानमा जान पाए। यसले ठूलो मानवीय क्षति हुनबाट जोगाएको स्थानीय प्रशासनको भनाइ छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ को लोक्पादेखि चुम्लिङबीच ठूलो पहिरो खसेर बुढीगण्डकी नदी अवरुद्ध भएको थियो। पहिरोले नदी थुन्दा ताल बनेको र पानीको दबाब बढेपछि ताल फुटेर एकाएक बाढी आएको प्रारम्भिक अनुमान छ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बिहान करिब ४ बजेतिर आफू बसेको ठाउँमा कम्पन महसुस भएको बताए। उनका अनुसार घर नदीबाट करिब चार सय मिटरको दूरीमा छ।
‘बिहान ४ बजेतिर एकाएक घर थर्कियो। सुरुमा भूकम्प आएको अनुमान गरेको थिएँ। केहीबेरमा बुढीगण्डकीको गडगडाहट सुनियो,’ उनले भने, ‘तत्कालै नदीमा बाढी आएको खबर फोनमार्फत तल्लो तटीय क्षेत्रमा पुर्याइयो। प्रहरी र प्रशासनलाई पनि बेलैमा जानकारी पुगेकाले ठूलो मानवीय क्षति हुन पाएन।’
उनका अनुसार पहिरोस्थलसम्म पुग्न आफूहरू बसेको ठाउँबाट कम्तीमा पाँच घण्टा लाग्छ। डेढ महिनाअघि रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीको घटनालाई सम्झेर पनि स्थानीयले तत्कालै सतर्कता अपनाएका थिए।
चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले पनि समयमै सूचना प्रवाह हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सहज भएको बताइन्। उनका अनुसार बाढीबाट विस्थापित भएका परिवारका लागि त्रिपाल र खाद्यान्न पठाइएको छ। खोर्लाबेसी, माछाखोला, सोती र आर्खेतलगायतका क्षेत्रका बासिन्दालाई समेत सुरक्षित स्थानमा जान भनिएको थियो।
पाँच जना अझै सम्पर्कविहीन
बाढीपछि चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोला किनारको गोठमा रहेका पाँच जना अझै सम्पर्कमा आएका छैनन्।
प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा चुमनुब्री–६, चुम्चेतका ६५ वर्षीय सोनाम लामा, उनकी ५९ वर्षीया पत्नी मोम्मोअजी लामा, ६६ वर्षीया सोम भुटी लामा, ७३ वर्षीया कर्मा लामा र ४१ वर्षीय पेमा दोर्जे लामा रहेका छन्।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पाँच जना सम्पर्कविहीन भए पनि समयमै सूचना प्रवाह भएकाले अन्य ठूलो मानवीय क्षति हुन नपाएको बताए।
उनका अनुसार बाढीबाट विस्थापित भएका नागरिकको खानपिन र बसोबासको व्यवस्था स्थानीय तहमार्फत मिलाइएको छ। तत्कालका लागि जोखिम कम भएको भए पनि भौतिक क्षति भने ठूलो रहेको उनले बताए।
दर्जनौँ घरमा क्षति, बस्ती जोखिममा
बाढीले चुमनुब्री गाउँपालिकाका विभिन्न स्थानमा घर बगाउनुका साथै बस्तीमा क्षति पुर्याएको छ। गाउँपालिकाका अनुसार पैंयुका १०, घट्टेखोलाका सात, जगतका १० र सल्लेरीका चार घर बगेका छन्।
प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–३, न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही स्थानमा एउटा घर बगेको र अर्को घरमा बाढी पसेको छ।
धार्चे गाउँपालिका–४ स्थित माछिखोलाबाट केरौंजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। धार्चे गाउँपालिका–३, सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिका संरचना तथा आसपासका सातदेखि आठवटा घरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।
आरुघाट गाउँपालिका–१, नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बाढीले बगाएको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सीमामा रहेको फलामे मोटरेबल पुलसमेत बाढीले बगाएको छ।
माछिखोलाको तल्लो बस्तीमा बाढी पसेपछि २० देखि २२ घर जोखिममा परेको प्राधिकरणले जनाएको छ।
गृह मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा करिब सात सय सुरक्षाकर्मी परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक सुदीप रेग्मीका अनुसार बाढीबाट विस्थापित ३५० स्थानीय बासिन्दा र नौ जना विदेशी नागरिकलाई सुरक्षित स्थानमा राखिएको छ।
पदयात्रामा गएका पर्यटकलाई पनि सुरक्षित स्थानमा ल्याइएको छ। सुरक्षाकर्मीले अलपत्र परेकाको उद्धार, चौपायालाई सुरक्षित स्थानमा सार्ने तथा बाढीले थुपारेको भग्नावशेष हटाउने काम गरिरहेका छन्। माथिल्लो क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर र तल्लो तटीय क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ।
रेग्मीका अनुसार आइतबार साँझसम्म ४५ घर पूर्ण र २७ घरमा आंशिक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको थियो।
बुढीगण्डकीमा बाढीले बगायो आठ पुल
बुढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पक्की पुल र छवटा झोलुङ्गे पुल बगाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल र आरुघाट–धादिङ जोड्ने पक्की पुल बाढीले बगाएको हो।
स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख शंकर बुढाथोकीका अनुसार गोरखाको चुनडुम्रे, धार्चे, आरुघाट र माथिल्लो क्षेत्रका गरी छवटा झोलुङ्गे पुल बगेको प्रारम्भिक अध्ययनले देखाएको छ।
यसअघि गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीले झोलुङ्गे पुलसहित ४२ वटा पुल बगाएको थियो। ती पुलको पुनर्निर्माण प्रक्रिया अघि बढिरहेका बेला बुढीगण्डकीको बाढीले थप आठ पुलमा क्षति पुर्याएको हो। पुल बगाएपछि प्रभावित क्षेत्रमा आवतजावतमा कठिनाइ उत्पन्न भएको छ।
चार जलविद्युत् आयोजनामा क्षति
बुढीगण्डकी नदीको बाढीबाट करिब ४११ मेगावाट क्षमताका चारवटा निर्माणाधीन जलविद्युत् आयोजनामा भौतिक तथा संरचनात्मक क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीका अनुसार बाढीबाट ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना, २४.५ मेगावाटको दोभान खोला जलविद्युत् आयोजना, ३०.५९ मेगावाटको यारु खोला जलविद्युत् आयोजना र १६ मेगावाटको माछाखोला जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प, पहुँचमार्ग, बेलीब्रिज तथा निर्माण उपकरण बाढीले बगाएको प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी प्रालिले जनाएको छ।
दोभान खोला जलविद्युत् आयोजनाको क्याम्पका केही भवनमा क्षति पुगेको छ भने बेलीब्रिज पूर्णरूपमा बगाएको छ। यारु खोला जलविद्युत् आयोजनाको बेलीब्रिजमा क्षति पुग्नुका साथै निर्माण सामग्री र उपकरण बगेका छन्।
त्यस्तै, माछाखोला जलविद्युत् आयोजनाको पहुँच सडक र आयोजनास्थल जोड्ने पुलमा पनि क्षति पुगेको छ। इप्पानका अनुसार प्रारम्भिक विवरणमा यी आयोजनामा मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।
बाढीले दुईवटा टेलिफोन टावर र करिब ५० वटा बिजुलीका पोलमा समेत क्षति पुर्याएको प्राधिकरणले जनाएको छ।
वर्षाका कारण बाढी आएको सम्भावना कम
बाढी पूर्वानुमान महाशाखाका अनुसार पहिरो गएको क्षेत्रमा पछिल्लो २४ घण्टामा छिटपुट मात्र वर्षा भएकाले वर्षाकै कारण बाढी आएको सम्भावना कम देखिएको छ।
बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा आइतबार बिहान ६ः३० बजे जलसतह २.२८ मिटरबाट बढेर ३.६६ मिटर पुगेको थियो। उक्त केन्द्रमा सतर्कता तह ४.५० मिटर रहेको छ।
बिहान ७ः५० बजे जलसतह बढेर ५.०१ मिटर पुगेको थियो, जुन खतरा तह ५ मिटरभन्दा माथि हो। त्यसपछि बिहान ८ः३० बजे जलसतह ६.२२ मिटर र ८ः४० बजे ८.४३ मिटर पुगेको महाशाखाले जनाएको छ।
नदीमा एकाएक जलसतह बढ्नुले माथिल्लो क्षेत्रमा पानी थुनिएर बनेको ताल फुट्दा आएको आकस्मिक बाढीको प्रभाव देखिएको छ।
हिमाली क्षेत्रमा दोहोरिँदै आकस्मिक बाढी
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेलले हिमाली क्षेत्रमा पछिल्लो समय आकस्मिक बाढीका घटना दोहोरिन थालेकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।
उनका अनुसार पछिल्ला दुई महिनामा मनाङ, कालीगण्डकी र रसुवाको भोटेकोसी क्षेत्रमा तीव्र बहावसहितका बाढीका घटना भएका छन्। यस्ता घटनाले हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तनको प्रभावबारे थप अध्ययन गर्नुपर्ने आवश्यकता देखाएको उनले बताए।
बुढीगण्डकीमा आएको बाढीलाई सामान्य आकस्मिक घटनाका रूपमा मात्र हेर्न नहुने पोखरेलको भनाइ छ। पहिरोले नदी थुनिने, ताल बन्ने र अचानक फुट्ने जोखिमको पूर्वानुमान, समयमै सूचना प्रवाह तथा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






