सम्पत्ति विवरणमा डेपुटी गभर्नरको विलासी जीवन: काठमाडौँमा जग्गाको थुप्रो, करोडौँको बैंक मौज्दात
१० बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
पदभार ग्रहण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य कानुनी व्यवस्था अनुसार उनले पेश गरेको विवरणलाई राष्ट्र बैंकले बिहीबार औपचारिक रूपमा सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार डेपुटी गभर्नर पण्डितको लगानीको मुख्य हिस्सा घरजग्गा र बहुमूल्य धातुमा केन्द्रित देखिएको छ भने आधुनिक लगानीको क्षेत्र मानिने सेयर बजारमा उनको उपस्थिति तुलनात्मक रूपमा निकै न्यून देखिएको छ ।
विवरण अनुसार पण्डितको परिवारको नाममा काठमाडौँका विभिन्न स्थानमा करोडौँ मूल्य बराबरको जग्गा जमिन रहेको छ । विशेषगरी टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितको नाममा २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने तारकेश्वरमा थप ६९ लाख रुपैयाँ बराबरको जग्गा जोडिएको पाइएको छ ।
निजी आय, पत्नीको कमाइ र बैंक ऋणलाई यी सम्पत्तिको स्रोतका रूपमा देखाइएको छ। यस्तै, डेपुटी गभर्नर पण्डितको आफ्नै नाममा कैलालीको धनगढीमा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने तनहुँ र काठमाडौँमा रहेका पैतृक सम्पत्तिहरूमा पनि उनको बलियो पारिवारिक स्वामित्व देखिएको छ ।
बहुमूल्य धातु र विलासिताका वस्तुतर्फ पण्डितसँग २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको विवरणमा उल्लेख छ । सामाजिक परम्परा र आफ्नै आर्जनबाट यी धातुहरू जोडेका पण्डितको बैंक मौज्दात भने लोभलाग्दो देखिएको छ। राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष र विभिन्न वाणिज्य बैंकहरूमा गरी उनको २ करोड रुपैयाँभन्दा बढी बचत रहेको छ ।
तर, बैंकिङ क्षेत्रको नियामक निकायको माथिल्लो तहमा रहेका पण्डितको सेयर बजारमा भने निकै कम अर्थात् विभिन्न कम्पनीहरूमा जम्मा ७ सय कित्ता मात्र सेयर लगानी रहेको छ । यसले डेपुटी गभर्नरको रुचि पुँजी बजारभन्दा अचल सम्पत्ति र सुरक्षित बचतमा बढी रहेको संकेत गरेको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३