बिरगंज, पर्सा, २३ असोज
विराटनगर । पर्यटक भिसामा नेपाल आएका २४ जना दक्षिण कोरियाली नागरिकलाई मोरङबाट प्रहरीले नियन्त्रणमा लिएको छ। पर्यटक भिसाको सर्तविपरीत धार्मिक प्रशिक्षण तथा प्रचारप्रसारमा संलग्न रहेको आरोपमा उनीहरूलाई शुक्रबार पक्राउ गरी थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको हो।
पक्राउ पर्नेमा १३ जना पुरुष र ११ जना महिला रहेका छन्। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार उनीहरूलाई विराटनगर विमानस्थलबाट यती एयरलाइन्सको जहाजमार्फत शुक्रबार साँझ काठमाडौं पठाइएको हो।
प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–७, मालती मार्गस्थित नेपाल न्यू कोभेनन्ट कलेजमा धार्मिक प्रशिक्षण तथा कार्यक्रम सञ्चालन भइरहेका बेला उनीहरूलाई नियन्त्रणमा लिइएको हो। स्थानीयवासीबाट उजुरी प्राप्त भएपछि विदेशी नागरिकहरूको गतिविधिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ।
निगरानीका क्रममा उनीहरू धर्मशास्त्रसम्बन्धी तालिममा संलग्न रहेको पाइएको एसपी कटवालले बताए।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले धार्मिक शिक्षा, तालिम वा प्रचारप्रसार गर्न नपाउने कानुनी व्यवस्थाविपरीत गतिविधि भएको सूचना प्राप्त भएपछि प्रशासनले दुई दिनदेखि निगरानी गरिरहेको थियो।
अनुसन्धानका क्रममा उनीहरूले भिसाको उद्देश्यविपरीत गतिविधि गरेको देखिएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नियन्त्रणमा लिइएको कोइरालाले जानकारी दिए।
पक्राउ परेका दक्षिण कोरियाली नागरिक असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर आएका थिए। उनीहरू अक्टोबर १२ सम्म मोरङमा रहने योजनासहित नेपाल आएको बताइएको छ।
लभ नेपाल मिसनको सहयोगमा सञ्चालित नेपाल न्यू कोभेनन्ट कलेजमा धर्मशास्त्रको अध्ययन तथा अध्यापन हुँदै आएको छ। उक्त संस्थाले प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मको धार्मिक शिक्षा प्रदान गर्ने बताइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार अध्यागमन नियमावली, २०५१ को नियम २० को उपनियम (२०) अनुसार पर्यटक भिसाको दुरुपयोग गरेको देखिएपछि उनीहरूलाई अध्यागमन विभाग पठाइएको हो। उनीहरूलाई नेपालबाट निष्कासन गर्ने वा अन्य कानुनी कारबाही अघि बढाउने भन्ने निर्णय अध्यागमन विभागले गर्नेछ।
मोरङमा विदेशी नागरिकको आवागमन बढेसँगै प्रशासनले उनीहरूको गतिविधिमाथि निगरानी तीव्र बनाएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अध्यागमन जिल्ला समन्वय समितिले विदेशी नागरिकले भिसाका सर्त पालना गरे–नगरेको विषयमा निगरानी गरिरहेको छ।
यसअघि विराटनगरबाट दुई जना चिनियाँ नागरिकसमेत पक्राउ परेका थिए। उनीहरूलाई पनि आवश्यक अनुसन्धानका लागि अध्यागमन विभाग पठाइएको थियो।
बिरगंज, पर्सा, २३ असोज
पोखरा, २३ असोज। कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन्।
कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनापछि बसमा सवार १९ जनाकै उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको थियो। उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चार विद्यार्थी र एक वृद्ध
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा करिब १२–१३ वर्षीया ममता तिवारी, १३–१४ वर्षीय अशिम कँडेल, नामथर खुल्न नसकेका दुई जना १३–१४ वर्षीया बालिका र पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारी रहेका छन्।
बाबुराम तिवारी स्कुल बसमा लिफ्ट मागेर सवार भएका व्यक्ति रहेको बताइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा बिहान ८ः३५ बजेदेखि ९ बजेसम्म विभिन्न समयमा चिकित्सकले पाँचै जनालाई मृत घोषणा गरेका थिए।
१४ जना घाइते, एक जनाको अवस्था गम्भीर
दुर्घटनामा घाइते भएका १४ जनाको पोखराका दुई अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको गण्डकी मेडिकल कलेज (जीएमसी) र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जीएमसीमा उपचाररत घाइतेहरूमा पोखरा–२८ सौर्यकी १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापा मगर र पोखरा–२८ डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिना रहेका छन्। उनीहरू कक्षा १० मा अध्ययनरत रहेको र तीनै जनाको अवस्था मध्यम रहेको जनाइएको छ।
त्यस्तै, गण्डकी अस्पतालमा उपचाररत १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरूमा स्नेहा गौतम, सोनिया तिवारी, अंकित पराजुली, स्मृती खत्री, स्नेहा तिवारी, आकृती बुढाथोकी, मेरिना तिवारी, सुप्रिया आचार्य, यमन मगर र बस चालक ५७ वर्षीय तुलबहादुर गुरुङ रहेका छन्।
घाइतेमध्ये अधिकांशको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
उद्धारमा खटिएका प्रहरी जवान पनि घाइते
दुर्घटनामा परेकाहरूको उद्धार गर्ने क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान
सडकबाट करिब २०० मिटर तल बस खस्दा ठूलो मानवीय क्षति भएको यस दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
बस कसरी दुर्घटनामा पर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको यकिन कारण भने खुल्न बाँकी रहेको छ।
बिरगंज, पर्सा, २२ असोज
जनकपुरधाम, २२ असोज । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ रहिमपथ नजिकै छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन्।
बिहीबार साँझ करिब ७ः१० बजे सोनारपट्टी दाहाचोक बस्ने करिब २४ वर्षीय आमिन साफी र सोही ठाउँका करिब २५ वर्षीय इम्तियाज राइनमाथि धारिलो हतियारबाट आक्रमण भएको हो।
छुरा प्रहारबाट गम्भीर घाइते भएका आमिन साफीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ। मृतकको शव अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका इम्तियाज राइनको पनि प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोही ठाउँका करिब २२ वर्षीय मोहम्मद इर्साद खानले दुवै जनामाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले इर्सादलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।
प्रारम्भिक अनुसन्धानमा पुरानो रिसिइबीका कारण घटना भएको देखिएको प्रहरीले जनाएको छ। इर्सादले दुवै युवकको छाती तथा पेटमा धारिलो हतियार प्रहार गरेको प्रहरीको भनाइ छ।
घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको थप कारण, घटनाक्रम र संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
बिरगंज, पर्सा, २२ असोज
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट प्रहरीले करिब २० किलो अवैध सुनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनका क्रममा ठूलो परिमाणमा सुन र सुन पगाल्न प्रयोग हुने मेसिनरी उपकरण बरामद गरेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले बूढानीलकण्ठबाट सुन बरामद भएको पुष्टि गरेका छन्। उनका अनुसार बरामद सुनको प्रारम्भिक अनुमान करिब २० किलो रहेको छ। यद्यपि, सुनको यकिन तौल भने जोखिएपछि मात्र पुष्टि हुनेछ।
डीआईजी थपलियाले नागरिक न्युजसँग कुरा गर्दै बूढानीलकण्ठ क्षेत्रमा अपरेसन सञ्चालन गरेर सुन बरामद गरिएको र अहिले यसको विस्तृत विवरण संकलन तथा तौल गर्ने काम भइरहेको बताएका छन्।
प्रहरीका अनुसार पक्राउ परेका दुई चिनियाँ नागरिकले बूढानीलकण्ठ क्षेत्रमा घर भाडामा लिएर सुन प्रशोधन गर्ने अवैध गतिविधि सञ्चालन गर्दै आएका थिए। उनीहरूले विदेशबाट तरल अवस्थामा अवैध सुन नेपाल भित्र्याउने र भाडामा लिएको घरभित्रै मेसिनको प्रयोग गरी सुन पगालेर चक्का अर्थात् बिस्कुटको आकारमा तयार पार्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरी टोलीले छापा मार्ने क्रममा सुन पगाल्न प्रयोग हुने मेसिनसहित अन्य आवश्यक उपकरणसमेत बरामद गरेको जनाएको छ। यसबाट उनीहरूले घरभित्रै सुन प्रशोधन गरी विभिन्न ठाउँमा आपूर्ति गर्ने गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
पक्राउ परेका दुवै चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। उनीहरू नेपालमा कहिलेदेखि यस्तो गतिविधिमा संलग्न थिए, अवैध सुन कहाँबाट ल्याइएको थियो र यसमा अन्य व्यक्ति तथा समूहको संलग्नता छ कि छैन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बरामद भएको सुनको यकिन परिमाण, यसको बजार मूल्य तथा घटनामा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
बिरगंज, पर्सा, २२ असोज
रौतहटको गौर नगरपालिका वडा नं. १ स्थित भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको ठूलो रकम र मोटरसाइकलसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं. ०१ बस्ने ४२ वर्षीय शेराज अलि रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहट र भन्सार सुरक्षा गार्ड गौरको संयुक्त BAT (Border Action Team) टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको BR 30 AR 2495 नम्बरको TVS Raider मोटरसाइकलमा सवार उनलाई शंका लागेर जाँच गरेको थियो। जाँचका क्रममा उनीबाट ठूलो परिमाणमा नेपाली तथा भारतीय नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बरामद गरिएका सामान तथा नगद विवरण:
१.नेपाली रुपैयाँ: रु. ५०० का २३३ थान नोट (जम्मा रु. १,१६,५००/-)
२.भारतीय रुपैयाँ: रु. ५०० का २०० थान नोट (जम्मा रु. १,००,०००/-)
३.सवारी साधन: BR 30 AR 2495 नम्बरको TVS Raider मोटरसाइकल (१ थान)
स्रोत नखुलेको रकम र मोटरसाइकलसहित पक्राउ परेका शेराज अलिलाई नियन्त्रणमा लिई हुण्डी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (बसन्त गौतम) ले जानकारी दिनुभयो।
- बिर्तामोडमा फर्निचर उद्योगमा भीषण आगलागी, दुई सोरुम पूर्ण रूपमा क्षतिग्रस्त
- दिल्ली भाग्न खोज्दा पक्राउ परे सापकोटा, निलम्बित एआईजी दाहालसँगको सम्पर्कले बढायो अनुसन्धान
- थापा मेडिकल घटनाको भिडिओ अनुमतिबिना सार्वजनिक गरेको आरोपमा सञ्चालक पक्राउ
- कन्टेनरभित्र लुकाएर लगिँदै थियो ७ हजार १५२ पिस सर्ट, प्रहरीले समात्यो
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
