१० वर्षअघि देशलाई लोडसेडिङमुक्त बनाएको अभियानको स्मरण गर्दै जनार्दन शर्माले भने– ‘मैले जनतालाई अन्धकारबाट मुक्त गराएँ’
बिरगंज, पर्सा, २३ कार्तिक
काठमाडौं । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेपाललाई वर्षौँ लामो लोडसेडिङको अन्धकारबाट मुक्त गराउने अभियान सुरु गरेको १० वर्ष पूरा भएको बताएका छन्। उज्यालो नेपाल अभियानको एक दशक पूरा भएको अवसरमा लक्ष्मीपूजाका दिन सामाजिक सञ्जालमार्फत उनले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गर्दाको अनुभव स्मरण गरेका हुन्।
पूर्वऊर्जामन्त्री शर्माले सामाजिक सञ्जालमा विगतका अन्तर्वार्ताहरू समेटिएको भिडियो सार्वजनिक गर्दै अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेपाली नागरिक तथा आफ्नो सहयोगी टोलीप्रति आभार व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘हाम्रो देशलाई वर्षौं लामो अन्धकारबाट मुक्त गरी उज्यालोतर्फ डोर्याएको १० वर्ष पूरा भएको सुखद अवसरमा यो अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण नेपालीहरूका साथै मेरो सहयोगी टोलीका साथीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
शर्माका अनुसार मन्त्री पदको शपथ लिँदै गर्दा नै उनले देशलाई लोडसेडिङमुक्त बनाउने संकल्प गरेका थिए। पदभार सम्हालेको एक साताभित्र सार्वजनिक गरेको ३७ बुँदे कार्ययोजनाको पहिलो बुँदामै काठमाडौंलाई ‘शून्य घण्टा लोडसेडिङ’ बनाउने लक्ष्य राखेर काम अघि बढाइएको उनले बताएका छन्।
त्यतिबेलाको अवस्था स्मरण गर्दै शर्माले मन्त्रालय प्रवेश गर्दा लोडसेडिङ कति घण्टा घटाउनेभन्दा पनि कति घण्टा लोडसेडिङ गर्ने भन्ने प्रश्न उठ्ने गरेको बताएका छन्।
‘मैले स्पष्ट भनेको थिएँ, लोडसेडिङ घण्टामा नापिँदैन, म जनतालाई लोडसेडिङबाटै मुक्त गराउँछु,’ उनले भनेका छन्।
उनका अनुसार त्यसबेला नेपालमा लोडसेडिङ अन्त्य हुन नसक्ने भन्दै कतिपय विज्ञहरूले असम्भव दाबी गरेका थिए। विद्युत् आपूर्ति सहज बनाउने क्रममा कुलेखानी जलाशय रित्ताएर सस्तो लोकप्रियता खोजेको आरोपसमेत आफूले खेप्नुपरेको उनले स्मरण गरेका छन्।
तर, कुनै जादु नभई विद्युत् प्रणालीभित्रका अव्यवस्था र नीतिगत समस्याहरू सुधार गरेर लोडसेडिङ अन्त्य गर्न सफल भएको उनको दाबी छ।
शर्माले उज्यालो नेपाल अभियानलाई केवल घरघरमा बत्ती बाल्ने अभियानका रूपमा मात्र नभई देशमा व्याप्त निराशा र ‘नेपालमा केही हुँदैन’ भन्ने हीनताबोधविरुद्धको संघर्षका रूपमा व्याख्या गरेका छन्।
काठमाडौंमा सुरु भएको लोडसेडिङ अन्त्यको अभियान पोखरा, विराटनगर हुँदै क्रमशः देशभर विस्तार भएको स्मरण गर्दै उनले जनताको साथ र सहयोगकै कारण अन्धकारमाथि उज्यालोको विजय सम्भव भएको बताएका छन्।
उज्यालो नेपाल अभियानको एक दशक पूरा भएको अवसरमा शर्माको यो अभिव्यक्तिले नेपालमा लोडसेडिङ अन्त्यका सुरुवाती दिन र त्यसबेला भएका चुनौतीहरूलाई पुनः स्मरण गराएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






