काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकलाई जोड्ने चेहेरेस्थित सुनकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल ६ वर्षदेखि अलपत्र अवस्थामा छ। तोकिएको समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि पुल निर्माण कार्य लामो समयदेखि ठप्पजस्तै बनेको हो।
काभ्रेपलाञ्चोकको कोशीपूर्व क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले पुल निर्माणको योजना अघि बढाइएको थियो। यसका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ भदौ १० गते निर्माण सम्झौता भएको थियो।
सम्झौताअनुसार पुल २०८० जेठ २ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। तर निर्माण व्यवसायीले समयमै काम पूरा नगरेपछि निर्धारित समयसीमाभित्र आयोजना सम्पन्न हुन सकेन।
सडक विभागका इन्जिनियर निरोज महर्जनका अनुसार निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै काममा ढिलाइ गरेको स्थानीयको गुनासो छ। समयमै निर्माण सम्पन्न नभएपछि विभागीय निर्णयबाट २०८१ वैशाख २० गते थप २३ महिना २५ दिनको म्याद दिइएको थियो। तर थपिएको अवधिमा समेत निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न नसकेको महर्जनले बताए।
भ्याटसहित ११ करोड ७ लाख ४२ हजार २ सय रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको उक्त पुलमा हालसम्म तीनवटा मात्रै पिल्लर निर्माण भएका छन्। काभ्रेपलाञ्चोकतर्फ एउटा स्पानसमेत तयार भएको छ।
पुल निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीय नागरिकले लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता रहेको भुम्लु गाउँपालिका–१ का वडाध्यक्ष लेखबहादुर श्रेष्ठले बताए।
उनका अनुसार पुल निर्माण सम्पन्न भए हालको तुलनामा स्थानीयको यात्रा दूरी निकै छोटिनेछ। ‘पुल नबन्दा यहाँका नागरिकले १५ किलोमिटर बढी सडकको यात्रा गर्नुपर्ने बाध्यता छ, पुल बन्दा चार किलोमिटर मात्रै हिँडे पुग्छ,’ उनले भने।
यसैबीच काभ्रेका सांसद बदन भण्डारीले केही दिनअघि अलपत्र अवस्थामा रहेको पुलको अनुगमन तथा निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले पुल निर्माणलाई पूर्णता दिन आफूले पहल गर्ने बताएका छन्।
स्थानीयवासीले लामो समयदेखि अलपत्र रहेको पुल निर्माणलाई गति दिई शीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्।
काभ्रे । रोशी खोलाको कटान तथा विभिन्न स्थानमा गएको पहिरोका कारण चार दिनदेखि पूर्णरूपमा अवरुद्ध रहेको बीपी राजमार्ग मंगलबार बेलुकासम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलाले सडक कटान गर्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो।
राजमार्गको चौकीडाँडा, गुमाउने, गिम्दीबेँसी, चारसयबेँसी र पन्थली लगायतका स्थानमा रोशी खोलाको कटान तथा पहिरोका कारण सडकमा क्षति पुगेको छ। काभ्रे खण्डमा मात्रै रोशी खोलाले करिब छ स्थानमा सडक कटान गरेको जनाइएको छ।
क्षतिग्रस्त सडकखण्डमा सडक डिभिजन कार्यालय भक्तपुर तथा सम्बन्धित निकायले मर्मत तथा पुनर्निर्माणको काम तीव्र बनाएका छन्। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चार स्थानमा एकैपटक मर्मतको काम भइरहेको इन्जिनियर हिमाल काफ्लेले जानकारी दिए।
ट्राफिक प्रहरी सहायक निरीक्षक महेश्वर अधिकारीका अनुसार सडक मर्मतको काम तीव्र रूपमा अघि बढिरहेको छ। मंगलबार बेलुकासम्म बीपी राजमार्ग सञ्चालनमा ल्याउन सक्ने गरी काम भइरहेको उनले बताए।
उनका अनुसार बीपी राजमार्ग हुँदै आवतजावत गर्ने सबै सवारीसाधनलाई हाल धुलिखेलमै होल्ड गरिएको छ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले पनि मंगलबार बेलुकासम्म राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए। उनका अनुसार सोमबार इन्जिनियरसहितको प्राविधिक टोलीले बीपी राजमार्गका क्षतिग्रस्त विभिन्न स्थानको स्थलगत निरीक्षण गरेको थियो।
स्थलगत निरीक्षणपछि सडक खुलाउन आवश्यक मर्मत तथा पुनर्निर्माणको कामलाई थप तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।
बीपी राजमार्ग चार दिनदेखि अवरुद्ध हुँदा काभ्रे हुँदै पूर्वी नेपालतर्फ जाने तथा काठमाडौं आउने–जाने यात्रु र सवारीसाधन प्रभावित भएका छन्। सडक सञ्चालनमा आएपछि यस क्षेत्रमा रोकिएका सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
– काठमाडौं बुलेटिन
वलपरासी (बर्दघाट–सुस्ता पश्चिम) — चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट नारायणी नदीको बाढीले बगाएको करिब पाँच वर्षको एउटा गैँडा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्ता गाउँपालिका–४ पुगेको छ।
स्थानीयले सोमबार बिहान गैँडा देखेपछि चितवन राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए। जानकारी प्राप्त भएपछि निकुञ्जले गैँडाको अवस्था र स्थानबारे निगरानी तथा रेकी सुरु गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले बाढीले बगाएर गैँडा सुस्ता पुगेको जानकारी प्राप्त भएपछि टोली परिचालन गरी निगरानी भइरहेको बताए।
“गैँडाको रेकी भइरहेको छ। उद्धार गरेर हामी ल्याउने तयारीमा छौँ,” उनले भने।
निकुञ्जका अनुसार गैँडालाई उद्धार गरी चितवन ल्याउन आवश्यक तयारी भइरहेको छ। सुस्ता पुग्न भारतीय भूभागको बाटो प्रयोग गर्नुपर्ने भएकाले उद्धार कार्यमा भारतीय पक्षसँग समेत समन्वय तथा सहजीकरण भइरहेको छ।
उद्धारका क्रममा गैँडालाई डार्ट गरेर बेहोस बनाई सुरक्षित रूपमा डुङ्गाबाट वा भारतीय बाटो हुँदै चितवन ल्याउने विकल्पमा काम भइरहेको निकुञ्जले जनाएको छ।
शनिबार र आइतबार नारायणी नदीमा आएको ठूलो बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका केही वन्यजन्तु बाढीमा बगेका हुन्। यसपटक बाढीको बहाव निकै ठूलो रहेकाले केही गैँडा भारतसम्मै पुगेको हुनसक्ने अनुमान निकुञ्जको छ।
यसअघि विसं २०७४ साउन २८ गते राप्ती र नारायणी नदीमा आएको ठूलो बाढीका क्रममा पनि धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमिमा पुगेका थिए। तत्कालीन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. रामचन्द्र कँडेलका अनुसार त्यतिबेला भारतीय भूमिमा पुगेका १२ वटा गैँडालाई उद्धार गरी नेपाल ल्याइएको थियो।
भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरूसँगको पुरानो समन्वय र चिनजानका कारण यसपटक पनि गैँडा उद्धारका लागि भारतीय पक्षबाट सहजीकरण भइरहेको डा. कँडेलले बताए।
यस वर्षको बाढीमा राप्ती नदीको मेघौली, खैरहनीलगायत क्षेत्रमा बगेका केही गैँडा भने आफैँ नदीबाट सुरक्षित रूपमा बाहिर निस्किएका छन्।
बाढीमा परेको एउटा मृगलाई समेत भरतपुर महानगरपालिका–१७, शिसुवारबाट उद्धार गरिएको निकुञ्जले जनाएको छ।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेका छन्। बाढीका कारण वन्यजन्तु प्रभावित भएपछि निकुञ्जले नदी तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा रहेका वन्यजन्तुको अवस्थाबारे निगरानी बढाएको जनाएको छ।
नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र स्थानीय तहका गाउँपालिका तथा नगरपालिका महासंघबीच विभिन्न समसामयिक विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
शुक्रबार मन्त्रालयमा कर्मचारी व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, कार्यविभाजनको स्पष्टता, अनुदान कटौती लगायतका विषयहरूमा गहन छलफल भएको हो। स्थानीय तहका प्रतिनिधिहरूले भोगिरहेका वास्तविक समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए |
यस क्रममा नगरपालिकाका अध्यक्ष भिम ढुंगानाले स्थानीय तहमा देखिएका चुनौतीहरूबारे विस्तृत जानकारी गराउँदै समाधानका लागि संघीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताए। त्यस्तै, गाउँपालिकाका अध्यक्षहरूले सुकुम्बासीलाई लालपुर्जा वितरण, भूमि व्यवस्थापन लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए।
महालक्ष्मी नगरपालिकाका उपप्रमुखले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई दुई वर्षमा अनिवार्य रूपमा सरुवा गर्ने नीति ल्याउनुपर्ने आवश्यकता रहेको बताइन् ।
मन्त्री रावलले स्थानीय तहसँग मिलेर काम गर्न मन्त्रालय तयार रहेको बताइन्। उनले नागरिक सन्तुष्ट हुनेगरी सेवा दिन सरकार प्रतिबद्ध रहेको र जनताको अपेक्षा स्थानिय सरकार मार्फत प्राथमिकतामा राखेको बताइन्।
त्यसैगरी, स्थानीय तहका पदाधिकारीहरूले कर्मचारीहरूलाई खटाएर सहयोग गरेकोमा मन्त्रालयप्रति धन्यवाद व्यक्त गरेका थिए।
काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनमा भारी मूल्य वृद्धि गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै आज मध्यराति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको जनाएको छ।
भारतले पठाएकाे नयाँ मूल्यसूची अनुसार निगम सञ्चालक समितिले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ८१९ ले बढाएकाे छ। हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेक इभन पोइन् (न नाफा, न घाटा) मा बिक्री मूल्य कायम गरिएको छ।
साथै, अर्को मूल्य समायोजन नहुँदासम्मका लागि पेट्रोल, डिजेल/मट्टीतेल र एलपी ग्यासको साविक खुद्रा मूल्यलाई नै यथावत राखिएको निगमले जनाएकाे छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ रुपैयाँ ६० पैसा, डिजलमा प्रतिलिटर ९४.९३ रुपैयाँ तथा हवाई इन्धनमा प्रति लिटर १२३. ८ र एलपी ग्यासमा प्रति सिलिण्डर १९०.३६ रुपैयाँले वृद्धि भएर आएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
