७ चैत,काठमाडौं । इरानले युएईको रास अल-खैमाह शहरमा ‘निर्णायक शक्ति’ प्रयोग गरी आक्रमण गर्ने चेतावनी दिएको छ। यस धम्की फारसी खाडीमा रहेका दुई टापुहरूमा युएईसँग लामो समयदेखि चलिरहेको विवादसँग सम्बन्धित रहेको बताइएको छ।
राज्य सञ्चालित मिडियाले रिपोर्ट गरेअनुसार इरानको सशस्त्र सेनाका प्रवक्ताले टेलिग्राममा पोस्ट गरेको सन्देशमा भनिएको छ, “अबु मुसा र ग्रेटर टुन्ब टापुहरूमा कुनै पनि नयाँ आक्रमणको सामना युएईको रास अल-खैमाह शहरमा आक्रमणको साथ गरिनेछ।”
सन्देशमा आक्रमणको प्रकृति स्पष्ट रूपमा उल्लेख गरिएको छैन, तर यो चेतावनी यस्तो समयमा आएको हो जब यी दुवै टापु दशकौंदेखि इरानी नियन्त्रणमा छन्।
यी टापुहरू फारसी खाडीमा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छन्। युएईले दुवै टापुमा आफ्नो दाबी राख्दै आएको छ, जसले क्षेत्रीय सुरक्षा र कूटनीतिक तनावलाई थप जटिल बनाएको छ।
विशेषज्ञहरूले यो घटनालाई मध्यपूर्वको स्थिरता र तेल आपूर्ति मार्गमा सम्भावित प्रभावसँग जोडेर विश्लेषण गरिरहेका छन्। हालसम्म युएई र इरानबीच यस विषयमा कुनै औपचारिक वार्ता वा समाधानको संकेत देखिएको छैन।
बुटवल । कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा दुई समुदायबीच झडप रोक्न जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
आज बिहान मन्दिरमा भजन गाउँदा तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच तनाव सिर्जना भएको थियो । सम्भावित झडपलाई रोक्न कुनै किसिमको भेला, सभा, जुलुस गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरेको छ ।
पूर्वमा बर्गदी पुल, पश्चिम बहादुरगञ्ज चोक, उत्तर महाराजगन्ज बजार र दिक्षणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।
आज राम नवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरुले मन्दिरमा तथा इदको अवसरमा मुस्लिम समुदायले मस्जिदमा नवाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयमा विवाद र झडप भएको थियो ।
झडपका क्रममा ढुंगा प्रहार भएको र ५ जना सामान्य घाइते भएका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले बताए । निषेधाज्ञापछि स्थिति नियन्त्रणमा आइसकेको घिमिरेले बताए ।
राष्ट्रिय ज्योतिष दिवस २०८२ को सुअवसरमा आज वीरगञ्जस्थित प्रसिद्ध श्री गहवा माई मन्दिरको प्राङ्गणमा एक भव्य सम्मान तथा विचार गोष्ठी समारोह सम्पन्न भएको छ। विश्व ज्योतिष महासंघका एसिया उपसभापति एवं बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष, सुप्रसिद्ध ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेको आयोजनामा उक्त कार्यक्रमको सफलतापूर्वक समापन गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा स्नेही नेपाल सामाजिक संस्थाका अध्यक्ष भुपेन्द्र पौडेलको गरिमामय उपस्थिति रहेको थियो। समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले हाम्रो मौलिक धर्म, संस्कृति र खगोल विज्ञानको जगेर्ना गर्न यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक उर्जा भर्ने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट व्यक्तित्वहरूको अभिनन्दन
विभिन्न क्षेत्रबाट सनातन संस्कृति, धर्म र ज्योतिष शास्त्रको संरक्षणमा पुऱ्याउनुहुने अतुलनीय योगदानको उच्च कदर गर्दै कार्यक्रममा 'सम्मान पत्र' अर्पण गरिएको थियो। सम्मानित हुनेहरूमा नेपाल भोजपुरी समाजका अध्यक्ष श्री धुर्व सिंह ठकुरी, संस्कृत पाठशाला वीरगञ्जका प्राचार्य पं. श्री विजय नाथ तिवारी र हिन्दू पत्रकार संघ परिवारका अध्यक्ष श्री राजन रौनियार रहनुभएको थियो।
त्यसैगरी, महिला सशक्तिकरण र समाजसेवाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने महिला समाजसेवी राधा शर्मा लाई पनि उहाँको विशिष्ट योगदानको कदर गर्दै सम्मान पत्रद्वारा अभिनन्दन गरिएको थियो। साथै, श्री राजन तिवारी, पण्डित जटाशंकर तिवारी (गुरुकुल आश्रम), अपाङ्ग कल्याण संघका अध्यक्ष श्री संजय सर्राफ र देश मधेश अनलाइनका संचालक अभिलाष गुप्तालाई पनि उहाँहरूको समर्पणका लागि सम्मान गरिएको थियो।
महिला नेतृत्व र भक्तजनको सहभागिता
समारोहमा सिमा दुबे, विभा साह, र स्वस्तिका चौधरी लगायतका महिला व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। उहाँहरूको सहभागिताले कार्यक्रमलाई थप ओजपूर्ण बनाएको थियो। कार्यक्रमका आयोजक डा. पुरुषोत्तम दुबेले सम्मानित सबै व्यक्तित्वहरूको ज्ञान, साधना र समर्पणले आगामी दिनमा ज्योतिष विद्याको थप उत्थान हुने र समाजलाई सही मार्गनिर्देशन मिल्ने शुभेच्छा व्यक्त गर्नुभयो।
गहवा माई मन्दिरको पवित्र परिसरमा आयोजित यस विशेष सभामा स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी र श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले सम्मानित सबै व्यक्तित्वहरूको सुस्वास्थ्य, दीर्घायु र उज्ज्वल भविष्यको कामना गरेका थिए।
७ चैत, दाङ- लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशसहित देशका विभिन्न ठाउँमा बिहानैदेखि पानी परेको छ । ती क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरू, लुम्बिनी र कर्णाली प्रदेशको केही तथा सुदुरपश्चिम प्रदेशको थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
कोशी, मधेश र लुम्विनीको एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसोपछि मध्य र पूर्व क्षेत्रमा हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ ।
हिजो दिउँसो र बेलुकी पश्चिम र मध्य क्षेत्रमा मध्यम वर्षा भएको थियो । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । आज रातिदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाले जनाएको छ ।
हावाहुरीका बेला रुख ढल्ने, कमजोर संरचना र छाना उडाउने, विद्युत तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात समेत प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । हावाहुरी र चट्याङ परेको बेला सकेसम्म घरभित्रै बस्न र घरबाहिर भएमा पनि सुरक्षित ठाउँमा बस्न मौसमविदले आग्रह गर्दै आएका छन् ।
७ चैत,बुटवल । वर्षा पछि झरेको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको हो ।
आज बिहानैदेखि परेको वर्षाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।
कार्यालयका अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भई दुवैतर्फको सवारी साधन पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सवारी साधनहरुलाई पाल्पा रुट हुँदै ड्राइभर्सन गरिएकोमा उक्त सडक समेत अवरुद्ध भएको छ । वर्षा भइरहेकाले अवरुद्ध सडक खुल्न केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
साभार -onlinekhabar.com
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३