यो क्षण एउटा दोभानजस्तो थियो
दोभान– जहाँ एउटा नदी अर्कोमा मिसिन्छ
र अभागी चाहिँले आफ्नो परिचय गुमाउँछ ।’’
उल्लेखित पदावली दुनियाँमा प्रचलित कुनै उम्दा कविको पुस्तकबाट साभार गरिएको होइन । खासमा यो नेपाली साहित्यका सिद्धहस्त लेखक नारायण ढकालको पछिल्लो कृति ‘जगज्जननी उसकी आमाको नाम होइन’ उपन्यासको एक काव्यात्मक अंश हो ।
‘जगज्जननी उसकी आमाको नाम होइन ।’ यो कसकी आमाको नाम हो त ? यो कस्तो शीर्षक हो ? यसको अर्थ के हो ? यो शीर्षक देख्नबित्तिक्कै मेरा मनमा एकसाथ यिनै प्रश्न उब्जिएका थिए ।
यो शीर्षक कुनै बिम्बात्मक कविताको शब्दहारजस्तो पनि लागेको थियो । नारायणको आख्यानको विशेषता राजनीतिक विसङ्गतिमाथि व्यङ्ग्य गर्नु हो । जीवन्त पात्रमार्फत निम्न वर्गीय मानिसका भोगाइलाई उजागर गर्नु उनको अर्को विशेषता हो । नेपाली समाजको सूक्ष्म एवम् मिहिन चित्रण गर्न सिपालु नारायण ढकालका आख्यान नेपाली समाजका सुन्दर तस्बिर बनेर देखा पर्ने गरेका छन् ।
यसअघि प्रेतकल्प, वृषभ वध, पीत संवाद, दुर्भिक्ष, हजार माइलको बाटो, जस्ता गहन उपन्यास र दर्जनौं कथा नेपाली साहित्यलाई दिइसकेका नारायणको ‘जगज्जननी उसकी आमाको नाम होइन’ अर्को एउटा उत्कृष्ट उपन्यास बन्न पुगेको छ ।
वर्तमान् नेपाली समाज कुरुप बिम्बहरू बोकेर बाँचिरहेको छ । प्रणाली, पद्धति, प्रकृया सब कुरूप । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका कुरूप । राज्यको चौथो अङ्ग पत्रकारिता झनै धेरै कुरूप । यो कृति नेपाली पत्रकारिता क्षेत्रभित्र लुकेको कुरूप एवम् भद्धा अनुहारलाई अनावरण गर्न सफल देखिन्छ । पानी आफैँ फोहोर भयो भने पानीले पखालेका अन्य वस्तु कसरी सफा र शुद्ध होला ? साधुले डकैती गर्नु, गाईले मांशभक्षण गर्नु र पुष्षहारबाट दुर्गन्ध फैलिनु एकै हुन् ।
स्वतन्त्रता भनी भनी स्वतन्त्रताको हत्या गर्ने अनि प्रजातन्त्र भनी भनी प्रजातन्त्रकै गला निमोठ्ने व्यवस्थालाई आफ्नो कलममार्फत मलजल गर्ने अनेक पात्र उपन्यासमा खडा गरिएका छन् ।
अरूका काला कर्तुतको भण्डाफोर गर्ने, समाजका विकृतिको विनाश गर्ने, राष्ट्रको पिलो निचोर्ने काम राज्यको चौथो अङ्गकै हो । जब पत्रकारिता आफैँ भ्रष्टीकरण हुन्छ तब अरू क्षेत्र के हुन्छ ? पत्रकारिता भित्रका फोहोर र दुर्गन्धले समाजलाई भित्रभित्र कसरी सडाउन सक्छ ? जगज्जननीले यसको जवाफ खोजेको छ ।
पश्चिममा जुलियस सिजरले पत्रकारिताको आधारशीला तयार गर्दै गर्दा पूर्वले त्यसभन्दा अघि नै ‘लाइभ सञ्चार’को सुरुवात गरिसकेको थियो । मिथक र अध्यात्मिक कृतिका अधारमा भन्ने हो भने पौराणिक पात्र र देवताले प्रयोग गर्ने आकाशवाणी अहिलेका प्रत्यक्ष प्रसारणभन्दा उम्दा देखिन्थे । भलै यिनका भौतिक र वैज्ञानिक प्रमाण भेट्न गाह्रो छ । पूर्वीय दर्शनका पहिला पत्रकार नारदजी हुन् । महाभारत युद्धको प्रत्यक्ष प्रशारण गर्ने अर्का पात्र सञ्जय हुन् । आफ्नो समयका समाचारलाई मसलेदार बनाउन पौराणिक पात्रहरूले देखाएको क्रियाशीलताले घटनालाई अतिरञ्जित बनाउने गरेका थिए ।
अहिले के हुँदै छ त ? अहिले पनि दुनियाँमा सत्य समाचार र जानकारी भन्दा भ्रामक र सनसनीपूर्ण मसला बढी विक्री हुन्छन् । अहिलेको अवस्थासम्म आइपुग्दा नेपाली समाचार संस्थाहरू धेरै नै स्वार्थप्रेरित भए । तिनले कसलाई उचाल्ने र चोख्याउने भनेर एक हातमा बुके र सुनपानी बोकेर बसे । अर्को हातमा चाहिँ मन नपरेकालाई खुइल्याउनका लागि भुक्लुक्क उम्लिएको तातोपानी । नेपाली राजनीति र पत्रकारिताभित्रका यस्ता अनेक विकृतिलाई उपन्यासले छताछुल्ल पारेको छ ।
उपन्यासको मूल पात्र सिद्धार्थ गौतम एक यस्तो पात्र हो जसले अर्कै पत्रकारलाई आफू हुँ भनी नीलगिरि नामक पत्रिकामा जागिर खाएको छ । अर्थात् लोकेन्द्र थापा जसले कठोर सङ्घर्ष र गहन अध्ययन गरी राजनीति, समाज र पत्रकारिताको सेवा गरेर एउटा उचाइ प्राप्त गरेको थियो । आफूले आदर्श ठानेको सिद्धान्त, आफूले मार्गदर्शक ठानेका नेता र आफूले सच्चा ठानेको परिवेश जब जघन्य अपराध, गुन्डागर्दी र राष्ट्रघातको मतियार हुन्छ तब लोकेन्द्र थापा प्रवृत्तिका मानिस पलायन र गुमनाम हुन्छन् ।
कि त मानसिक रूपमा विक्षिप्त र अवसादग्रस्त बन्छन् । लोकेन्द्र थापाको छायाचरित्रमा उभिएको सिद्धार्थ गौतम यस्तै एक पीडित र हतप्रभ पात्रका रूपमा देखापरेको छ ।
विभिन्न एकतीस अध्यायमा रचित यस उपन्यासको मूल विषयवस्तु नेपाली राजनीति र सञ्चारमाध्यमहरूको गन्धे हर्कतको वरिपरि घुम्छ । वि.सं २०१७ पुस १ गते महेन्द्रले बहुदलीय व्यवस्थाको निलम्बन गरी दलहरूमाथि प्रतिबन्ध लगाए ।
हुर्कँदै गरेको नेपाली पत्रकारिताको जग त्यस परिघटनाले भत्किएको थियो । समाचार र पत्रपत्रिकामाथि सेनाको प्रत्यक्ष नियन्त्रण हुन पुग्यो । दरबारलाई सहयोग र समर्थन नगर्ने पत्रपत्रिकाको सरकारी अनुदान रोक्का भयो । पत्रिकाका समाचार कक्ष र स्वतन्त्र पत्रकारिताको छाती सेनाका बुटले किचिमिची भयो ।
आफ्ना स्वर्गवासी बाको सिको गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले पनि विं सं २०६१ माघ १९ गते शाही घोषणामार्फत प्रम शेरवहादुर देउवालाई अपदस्त गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । तत्पश्चात् सेना विभिन्न सञ्चारगृहमा पुगी सञ्चारउपकरण लुटी समाचारहरूमाथि सेन्सरसिप लगाएको थियो । सम्पादकको भूमिकामा सेनाका अधिकृत उभिएका थिए ।
यी दुवै कालखण्डमा नागरिक सम्प्रभुतामाथिको प्रहारलाई धेरै सञ्चारगृहले प्रतिरोध गर्न सकेका थिएनन् । बरू लुब्ध बिरालाको शैलीमा म्याउँ गर्दै निरङ्कुश सत्ताको टाँङमुनि आफ्नो पुच्छर लुकाएका थिए । उपन्यासमा नारायण ढकालले नीलगिरि नामक पत्रिकामार्फत नेपाली पत्रकारिताको दूषित चरित्रलाई उदाङ्गो पारेका छन् ।
नारायण ढकालको व्यक्तित्वका प्रमुख तीन पाटा छन् । राजनीति, पत्रकारिता र साहित्य । आफ्नै दलको उन्मादमा खासगरी केपी ओलीको लहड र सनकमा (भित्री कुरा अरू पनि हुन सक्लान्) महाकाली सन्धिको घनघोर राष्ट्रघातपछि नारायण ढकाल जस्ता सच्चा राजनीतिज्ञ राजनीतिबाट टाढिएका हुन् ।
यसरी जानाजान जनघात र आफ्नो मुलुकमाथि जननीघात भएपछि उनको ध्यान राजनीतिको बाटोबाट पन्छिएर पत्रकारिता र साहित्य सिर्जनामा एकाग्र भएको पाइन्छ । विशेषगरी एमालेको राजनीतिमा सुरुदेखि नै करेक्सन गर्न खोज्ने हरेक व्यक्ति किनाराकृत हुँदै गएका दर्जनौँ उदाहरण छन् ।
पछि त यतिसम्म हुनथाल्यो कि कम्युनिस्टहरू मुलायम, भुवादार र तिलस्मी सपनाको खेतीमा व्यस्त भए । ओठमा क्रान्ति आँतमा भोगविलास । भनाइमा राष्ट्रप्रेम गराइमा राष्ट्रघात । सत्ताका लागि जे गर्न पनि पछि नपर्ने सिद्धान्त विकास भयो । भ्रष्टाचार र सत्ताको नसामा कम्युनिस्ट लगायतका प्रायः सबै दल चुलुम्म डुबे । कम्युनिस्ट शब्दको हुर्मत भयो । दुःखद् के भयो भने पत्रकारिताकाका दोकान पनि बिकाउ र निकम्मा भए । धेरैले प्रेस र पत्रकारको खोल ओढेर लुटधन्दा र यस्तै पार्टीको भजनकारितामा आफ्नो कलमको दुरुपयोग गरे ।
उपन्यासमा एउटा घटना यस्तो छ– नीलगिरि पत्रिकाको एक पत्रकार विजय ओझालाई सेनाले गिरफ्तार गर्छ तर पत्रिकाले केही दुःख मनाउ गर्दैन । आफ्नै कार्यालयको द्वारपाल कविराज मादेन र नजिकैको भट्टी पसले पासादाइ जस्ता निम्न वर्गीय जनतालाई सेनाले लगेर चरम यातना दिँदा पनि पत्रिकाले अनदेखा गर्छ । सत्ता र सेनाको चाकडीमा भने पत्रिकाले बेलाबेलामा विज्ञप्ति निकाल्छ ।
सम्पादक महेन्द्र श्रेष्ठ पत्रकारिताका नाममा हुने चाटुकारिताको बिम्ब बनेको छ । लोकेन्द्र थापा जो अर्काको छदम नाममा पेट पाल्ने प्रयोजन बोकी पत्रकारितामा छिरेको छ । समाजले उसलाई विद्वान् ठान्छ । आदर्श र नमुनायोग्य पात्र ठान्छ तर उसले आफ्नो कार्यालयमा ‘आदर्श अभागी’ को उपमा पनि पाएको छ । बाहिर प्रकाण्ड मार्क्सवादी देखिए पनि ऊ घरीघरी भाग्यवाद, ईश्वर र ज्योतिषी शास्त्रमा हराउँछ । उपन्यासमा उसले देखाउने आत्मस्वीकृति भने स्मरणयोग्य छ । उसले धेरै ठाउँमा इमान्दार देखिने प्रयास पनि गरेको छ ।
उपन्यासमा चाप्लुसी, प्रतिगामी र जडसूत्रवादी प्रवृत्ति बोकेका पात्रहरूको लस्कर छ । सम्पादक महेन्द्र श्रेष्ठ, उसकी श्रीमती लक्ष्मी श्रेष्ठ (जो कला निर्देशकको पगरी गुथेर बसेकी छे) । कुमार रिजाल, निशा पाठक, विद्या शर्मा, रबर्ट क्षेत्री प्रवृत्तिका पत्रकार अहिले पनि धेरै सञ्चारगृहतिर भेटिन्छन् । निशा पाठक नामक एक यस्ती पात्र हो, जसले पत्रिकाका सहकर्मीलाई आफ्नो ‘डिभोर्स पार्टी’ खुवाउँछे ।
बाउआमाका पाँच छोरीपछि जन्मिएको श्याम गोतामे आफूलाई इच्छा नहुँदानहुँदै पनि बाउको इच्छा पूरा गर्न पत्रकारिता गर्छ । विकास खनाल अनेक करुण कथा कथेर साथीहरूसित पैसा धुतेर रक्सी खान्छ । आफू अविवाहित छ तर थाहा नपाएका मानिसलाई अस्पतालमा छोरो सिकिस्त बिरामी छ भनेर रुन्चे अभिनय गरी पैसा झारेर रक्सी खान्छ ।
विद्या शर्मा एक त्यस्ती बोल्ड र साहसी पात्र देखिन्छे जसले अविवाहित आमा बन्ने हिम्मत गरेकी छ । बाउ ठेगान नभएको बच्चालाई जन्म दिएर यो समाजमा जिउने हिम्मत गर्नु आफैँमा एक खतरनाक भोगाइ हो । हेर्दा बोल्ड देखिने यो पात्र पनि हाम्रो पत्रकारिताको एक बिम्ब बन्न पुगेकी छे । कविर शम्शेर जवरा पत्रिकालाई नियन्त्रण गर्न खटिएको एक सैनिक अधिकारी हो । जसको घरमा श्रीमती हुँदाहुँदै धादिङमा प्रेमिका भेट्न जाने क्रममा माओवादीले हत्या गर्छ ।
पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पत्रकारितामाथि भएको बर्बरताको सग्लो चित्र यस उपन्यासमा देखा परेको छ । ‘युटोपिया’को परिकल्पना गर्दागर्दै ‘डिस्टोपिया’मा पुगेका पात्र छन् यहाँ । त्यतिखेर राजनीतिले हाम्रो सपना खण्डित पारेको थियो । कुत्सित आदर्शको छायामा दूषित भविष्य नै हाम्रो नियति बन्न पुगेको थियो । दुर्भाग्य के थियो भने एक ढिका भई प्रतिरोधमा उभिनु पर्ने पत्रकारिता जगत शक्तिकै प्रार्थना र प्रदक्षिणामा व्यस्त रहेको थियो ।
स्वतन्त्रता भनी भनी स्वतन्त्रताको हत्या गर्ने अनि प्रजातन्त्र भनी भनी प्रजातन्त्रकै गला निमोठ्ने व्यवस्थालाई आफ्नो कलममार्फत मलजल गर्ने अनेक पात्र उपन्यासमा खडा गरिएका छन् ।
लोकेन्द्र थापाको जीवनमा पासा पल्टिन लागेको हुन्छ । जे भए पनि लोकेन्द्र थापाको एउटा कद छ शहरमा । दरबारले मन्त्रीको अफर गरी पदासीन गराउन खोज्दा उसले म लोकेन्द्र थापा होइन, सिद्धार्थ गौतम हुँ भनी सत्य बोल्न खोज्छ । यही सत्य उसलाई आफैँले ओछ्याएको इन्द्रजाल जस्तो बन्न पुग्छ । उसलाई दिमाग सडकिएको ठानी पागलखानामा लगेर कोचिन्छ ।
पात्र संयोजन जस्तै जगज्जननीको कथावस्तु बढो रोचक छ । यसको भाषाशैली बढो सुन्दर छ । ठाउँठाउँमा कोमल काव्यात्मक अभिव्यक्ति छ । लोकेन्द्र थापा सिद्धार्थ गौतम हो कि सिद्धार्थ गौतम लोकेन्द्र थापा हो ? उपन्यासको अन्तिम खण्डले भन्छ लोकेन्द्र थापाकी आमाको नाम जगज्जननी होइन । त्यसो भए जगज्जननी कसकी आमाको नाम हो ?
जम्माजम्मी २८६ पृष्ठको यस उपन्यासमा वैश्विक दृष्टिकोणका केही उम्दा उदाहरण पनि छन् । विभिन्न भाषाका लेखक, चिन्तक र सर्जका कृति र तिनका सूक्तिमय दृष्टान्तले किताब थप रोचक बनेको छ ।
अन्त्यतिर एउटा मार्मिक सन्दर्भको स्मरण गरौँ । सङ्कटग्रस्त समय छ । अपुष्ट आरोपमा वा अन्य कुनै प्रयोजनका लागि सेनाले कसैलाई पक्रेको छ । आँखामा पट्टी बाँधेर लगेको छ । इरादा र स्थान अज्ञात छ । आफू मारिन सक्ने कल्पनाले काँपेको पात्रले अन्तिम समयमा स्मरण गर्ने व्यक्ति को हुन सक्छ ? बोल्ने शब्द के हुन सक्छ ? वा विचारका तन्तुहरूले लगातार घोचिरहेको उसको दिमागी हाल कति बेहाल हुन सक्छ ?
हो उसले त्यही बेला जगज्जननीलाई सम्झिन्छ, आफ्नी आमालाई सम्झिन्छ :
हे जगज्जननी ! तिमी नै भन अब मेरो भविष्य के हुन्छ ?
यो एक प्रार्थना हो तिम्रो चरणकमलमा
म सबै प्रकारका यातना खप्न तयार छु तर मारिन तयार छैन ।
म लोकेन्द्र थापाको परिचयमा मर्न चाहन्न
म आफू भएर बाँचन चाहन्छु
म एउटा सग्लो सिद्धार्थ गौतम भएर बाँच्न चाहन्छु ।
दरबार, प्रेस र राजनीतिको माखेसाङ्लोमा जेलिएको यो उपन्यास हामीले बाँचेको युगको एउटा सग्लो चित्र हो ।
७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो जोडिएपछि उठेका प्रश्नबारे बोल्दै उनले उक्त आरोप र सत्य एउटै कुरा नभएको जिकिर गरेका छन् ।
‘…म यति मात्र भन्न चाहन्छु, आरोप र सत्य एउटै कुरा होइनन् । निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,’ गुरुङले भनेका छन्, ‘तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।’
उनले शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले जिम्मेवार बनाउने भन्दै हल्लामा मात्रै नभइ प्रमाणमा उभिन आग्रह गरेका छन् ।

७ बैशाख, काठमाडौं । आफ्नो व्यावसायिक इमानदारिता र सेयर लगानीलाई लिएर चौतर्फी आलोचना खेपिरहनुभएका गृहमन्त्री सुधन गुरुङले स्पष्टीकरण दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत लामो प्रष्टीकरण सार्वजनिक गर्दै उहाँले आफूमाथि लागेका ‘सेयर लुकाएको’ र ‘विवादित व्यक्तिसँग साझेदारी गरेको’ भन्ने आरोपहरू तथ्यहीन रहेको दाबी गर्नुभएको हो । हल्लाको पछाडि नदौडी प्रमाण र तथ्यलाई बुझ्न आग्रह गर्दै उहाँले आफूलाई नियोजित रूपमा निशाना बनाइएको गुनासो समेत गर्नुभएको छ ।
२ करोडको लगानी सार्वजनिक छ, २५ लाख लुकाउनु पर्दैन
गृहमन्त्री गुरुङले ‘२५ लाखको सेयर लुकाएको’ भन्ने आरोपको प्रतिवाद गर्दै धितोपत्र बजारमा आफ्नो २ करोड रुपैयाँभन्दा बढीको लगानी पहिले नै मन्त्रिपरिषद्को वेबसाइटमा स्पष्ट उल्लेख गरिएको जानकारी दिनुभएको छ । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी सोही २ करोडको समूहभित्रै समेटिएको र यो लुकाउने विषय नभई वर्गीकरणको मात्र कुरा भएको उहाँको तर्क छ। ‘सिधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन,’ उहाँले लेख्नुभएको छ ।
ऋण लिएर लगानी गरेको खुलासा, बैंक रेकर्ड नै प्रमाण
लगानीको स्रोतमाथि उठेको प्रश्नको जवाफ दिँदै गुरुङले आफूले २०८० भदौ २९ गते लिखित तमसुक गरेर ऋण (कर्जा) मार्फत उक्त रकम जुटाएको दाबी गर्नुभएको छ । उक्त रकम बैंकिङ च्यानलमार्फत नै आएको र सोको रेकर्ड सुरक्षित रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
साथै, एउटै कम्पनीमा सयौँ-हजारौँ सेयरधनी हुने भएकाले कुनै एक व्यक्तिसँगको साझेदारीलाई लिएर आफूलाई दोषी ठहर्याउनु न्यायोचित नहुने उहाँको भनाइ छ ।
छानबिनमा सहयोगको प्रतिबद्धता
गृहमन्त्रीले आफूमाथि लागेको ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को आरोपबारे बोल्दै यस विषयको छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको प्रष्ट पार्नुभयो । ‘यदि मैले कुनै हस्तक्षेप गरेको भए यस्तो छानबिन प्रक्रिया नै अघि बढ्ने थिएन,’ उहाँले भन्नुभएको छ ।
पार्टीले गर्ने हरेक निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उहाँले अन्त्यमा भन्नुभएको छ ूनिर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ । ’
७ बैशाख, काठमाडौं । बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारमा ‘जान्नेलाई छान्ने’ नारासहित सामेल भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरू एकपछि अर्को गर्दै विवादको भुमरीमा फसेका छन् ।
सरकार गठन भएको महिना दिन नपुग्दै मन्त्रीहरूको आचरण, व्यावसायिक साझेदारी र कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन् । रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरूमध्ये सबैभन्दा पहिले श्रममन्त्री दीपक साह विवादमा तानिए । जिम्मेवारी सम्हालेको दुई सातामै स्वार्थको द्वन्द्व र विभिन्न विवादमा मुछिएपछि उनलाई चैत २६ गते पदबाट फिर्ता बोलाइयो ।
साहकै पदचाप पछ्याउँदै स्वास्थ्यमन्त्री निशा मेहता पनि विवादमा परिन् । उनले श्रममन्त्री साहकै दबाबमा उनकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा निरन्तरता दिने निर्णय गरेकी थिइन् । आफ्नै पार्टीका मन्त्रीको पारिवारिक स्वार्थमा निर्णय गरेको भन्दै रास्वपाले मेहतालाई नसियतस्वरुप सचेत गराइसकेको छ ।
गृहमन्त्रीमाथि बिचौलियासँगको साझेदारी र सेयर लुकाइएको आरोप
यतिबेला सबैभन्दा बढी दबाबमा गृहमन्त्री सुधन गुरुङ देखिएका छन् । पदभार ग्रहण गरेलगत्तै हाइप्रोफाइल व्यक्तिहरूलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ अहिले आफैँ बिचौलिया दीपक भट्टसँगको व्यावसायिक साझेदारीका कारण विवादमा परेका छन् ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका भट्ट र सुलभ अग्रवालको ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी’ मा गुरुङको २५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर रहेको खुलासा भएको छ । गुरुङले प्रधानमन्त्री कार्यालयमा बुझाएको आफ्नो सम्पत्ति विवरणमा उक्त सेयर लगानी कतै पनि उल्लेख गरेका छैनन्, जसले उनको आर्थिक पारदर्शितामाथि ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ ।
नैतिकता र सुशासनको अग्निपरीक्षा
सुशासनको चर्को नारा दिएर सत्तामा पुगेको रास्वपाका लागि आफ्नै मन्त्रीहरूका यी काण्डहरू ‘निल्नु न ओकल्नु’ भएका छन् । फेवाताल जग्गा प्रकरणमा यसअघि नै विवादमा परेका सुधन गुरुङलाई यसपटक भने बिचौलियासँगको कनेक्सन र सम्पत्ति विवरण लुकाएको प्रकरणले गम्भीर संकटमा पारेको छ ।
एकातिर पार्टीका प्रभावशाली नेताहरूले गुरुङलाई बर्खास्त गर्न माग गरिरहेका छन् भने अर्कोतिर गृहमन्त्री आफैँ प्रश्नहरूबाट भाग्न खोजिरहेका छन्। सुशासनको कुरा गर्ने दलका प्रतिनिधिहरू नै बिचौलियाको साझेदारीमा देखिनुले बालेन सरकारको छविसँगै रास्वपाको ‘डेलिभरी’ माथि पनि आम नागरिकले आशंका व्यक्त गर्न थालेका छन् ।
इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामाबादमा इरान-अमेरिका अर्को वार्ता हुँदैछ। ११–१२ अप्रिलमा अमेरिका–इरानबीच शान्ति वार्ता असफल भएपछि अर्को वार्ता हुन लागेको हो ।
अमेरिका र इरानबीच २२ अप्रिलमा युद्धविराम सकिँदै छ। यसअघि इरानले पाकिस्तानमा हुने दोस्रो चरणको वार्तामा सहभागी हुन अस्वीकार गरेको थियो।
इरानले अमेरिकामाथि अत्यधिक माग, अव्यवहारिक सर्त, बारम्बार अडान परिवर्तन र विरोधाभासी अभिव्यक्तिले वार्तामा अवरोध सिर्जना गरेको आरोप लगाएको छ। यसका साथै, अमेरिकाले झूटो प्रचार गरेको पनि इरानको भनाइ छ।
इरानले अमेरिकी नौसैनिक नाकाबन्दीलाई युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताउँदै अमेरिकाको धम्कीपूर्ण भाषाले अवस्था झन् बिग्रिएको जनाएको छ। यी परिस्थितिमा वार्ता हुने सम्भावना निकै कम रहेको उल्लेख गरिएको छ।
पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरी मोगद्दमले पनि अमेरिकाको आलोचना गरेका छन्। उनले भनेका छन् कि एकातर्फ अमेरिका अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै नाकाबन्दी जारी राख्छ र युद्धको धम्की दिन्छ, अर्कोतर्फ वार्ताको कुरा गर्नु उपयुक्त होइन।
इस्लामाबादमा अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता हुने वा नहुने भन्ने विषयमा अझै अन्योल कायम छ। अमेरिकाले एउटा इरानी जहाज नियन्त्रणमा लिएपछि तेहरानले कडा प्रतिक्रिया जनाएको छ, जसका कारण अवस्था थप तनावपूर्ण बनेको छ।
राजधानीको ‘रेड जोन’ क्षेत्रमा कडा सुरक्षा तयारी गरिएको छ। यहाँ संसद, सर्वोच्च अदालत, ठूला सरकारी कार्यालय तथा विदेशी दूतावासहरू छन्। सम्भावित वार्तालाई ध्यानमा राख्दै सेरेना र म्यारियट नामका दुई ठूला होटल खाली गरिएका छन्।
सेरेना होटलमा पहिलो चरणको वार्ता (११–१२ अप्रिल) भएको थियो भने म्यारियट होटलमा इरानी प्रतिनिधिमण्डल बसेको थियो। अब यी दुवै होटललाई नयाँ चरणको वार्ताका लागि तयारी अवस्थामा राखिएको छ।
सुरक्षा व्यवस्थाका कारण सहरको यातायातमा पनि प्रभाव परेको छ। रेड जोनतर्फ जाने मुख्य सडकमा जामको अवस्था छ । विदेशी प्रतिनिधिमण्डलको आगमनलाई ध्यानमा राख्दै ट्राफिक डाइभर्सन लागू गरिएको छ।
सर्वसाधारणलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ। यसैबीच, रेड जोन क्षेत्रमा कार्यरत सबै सरकारी कर्मचारीलाई २० अप्रिलमा घरबाटै काम गर्न निर्देशन दिइएको छ
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
