वीरगञ्ज । सामाजिक रूपमा सीमान्तकृत तथा लामो समयदेखि जातीय विभेद र छुवाछुतको पीडा भोग्दै आएको डोम समुदायबाट चिकित्सक बन्न सफल सप्तरीका डा. दिनेश मरिक (डोम) सम्मानित भएका छन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–२, रमपुराका डा. मरिकलाई वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रमबीच सम्मान गरिएको हो। डोम समुदायबाट चिकित्सा क्षेत्रमा प्रवेश गरी डाक्टर बन्न सफल भएको भन्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
सामाजिक तथा आर्थिक रूपमा पछाडि पारिएको समुदायबाट कठिन परिस्थितिका बाबजुद उच्च शिक्षा हासिल गरी चिकित्सक बन्न सफल डा. मरिकको उपलब्धिलाई समुदायका लागि प्रेरणादायी उपलब्धिका रूपमा लिइएको छ।
जातीय विभेद, छुवाछुत तथा सामाजिक बहिष्करणका कारण शिक्षा र अवसरबाट लामो समयदेखि वञ्चित हुँदै आएको डोम समुदायका लागि डा. मरिकको सफलता महत्वपूर्ण उदाहरण बनेको छ। उनको उपलब्धिले सीमान्तकृत समुदायका बालबालिका तथा युवालाई शिक्षा र आफ्नो लक्ष्यप्रति अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले डा. मरिकको सफलताले व्यक्तिगत उपलब्धिसँगै सामाजिक रूपान्तरणको सन्देशसमेत दिएको बताएका थिए। उनीहरूले समाजमा अझै कायम रहेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि शिक्षा, समान अवसर र सामाजिक सचेतना आवश्यक रहेकोमा जोड दिए।
डा. मरिकको सम्मानलाई डोम समुदायको सामाजिक तथा शैक्षिक यात्रामा एउटा महत्वपूर्ण उपलब्धिका रूपमा समेत हेरिएको छ।
जनकपुरधाम । धनुषाको कमला नगरपालिका–७ का शिवकुमार कौशलले आफू र छोरामाथि कुटपिट गरेको आरोप लागेका व्यक्तिहरूलाई प्रहरीले अझै पक्राउ नगरेको भन्दै न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन्।
जग्गासम्बन्धी विवादका क्रममा आफू र आफ्ना छोरा चन्द्रिका कौशलमाथि कुटपिट भएको भन्दै कौशलले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन्। जाहेरीमा नवीनकुमार महतो, धर्मेन्द्रकुमार महतो र रूपेशकुमार महतोविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी आरोप लगाइएको छ।
कौशलका अनुसार २०८३ साउन १५ गते राति कमला नगरपालिका–७ स्थित खेतमा जग्गासम्बन्धी विवादलाई लिएर उनी र उनका छोरामाथि कुटपिट भएको थियो। घटनाका क्रममा आफूहरूमाथि ढुंगा तथा लाठी प्रहार गरिएको र ज्यान मार्ने धम्कीसमेत दिइएको उनको आरोप छ।
कुटपिटबाट घाइते भएका आफू र छोराको जनकपुरधामस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल, रामदैयामा उपचार गरिएको कौशलले बताएका छन्।
घटनाबारे प्रहरीमा जाहेरी दिइसक्दा पनि आरोपितहरू पक्राउ नपरेको भन्दै कौशलले प्रहरी अनुसन्धानप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न भनिएका व्यक्तिहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्।
“घटना भएको विषयमा जाहेरी दिइसकेपछि पनि संलग्न भनिएका व्यक्तिहरू पक्राउ नपर्दा हामीलाई न्याय पाइन्छ कि पाइँदैन भन्ने चिन्ता भएको छ,” कौशलले भने।
कौशलले आफूहरूले व्यक्तिगत प्रतिशोध नभई कानुनी प्रक्रियामार्फत न्याय खोजिरहेको बताएका छन्। उनले प्रहरी प्रशासनसँग घटनाको प्रभावकारी अनुसन्धान गरी दोषी ठहरिने व्यक्तिमाथि कानुनअनुसार कारबाही अघि बढाउन आग्रह गरेका छन्।
नोट: घटनामा आरोपित पक्षको धारणा यस समाचारमा समेटिएको छैन। उनीहरूको प्रतिक्रिया प्राप्त भएमा समाचारलाई थप अद्यावधिक गर्न सकिन्छ।
सिमरा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेस प्रदेशका प्रमुख एवं ट्राफिक प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले मातहतका आठवटै जिल्लाका ट्राफिक प्रमुखसँग वार्षिक कार्यसम्पादन करार सम्झौता गरेका छन्।
पथलैयास्थित प्रदेश कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक बस्नेत र मधेस प्रदेशका आठ जिल्लाका ट्राफिक प्रहरी प्रमुखबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार ट्राफिक प्रहरीको दायित्व र भूमिकालाई थप प्रभावकारी, पारदर्शी तथा जनमुखी बनाउने विषयलाई प्राथमिकता दिइएको छ। सम्झौतापत्रमा शासकीय सुधार, शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा सडकमा प्रभावकारी ट्राफिक व्यवस्थापन लगायतका विषय समेटिएका छन्।
कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक बस्नेतले गत आर्थिक वर्षमा निर्धारित लक्ष्य तथा हासिल भएको प्रगतिबारे समीक्षा गरेका थिए। उनले नयाँ आर्थिक वर्षमा तोकिएको जिम्मेवारी थप कुशलताका साथ पूरा गर्न मातहतका ट्राफिक प्रमुखहरूलाई निर्देशन दिए।
बस्नेतले सम्झौतामा उल्लेखित शर्त तथा प्रतिबद्धताहरूलाई पूर्ण रूपमा पालना गर्दै जिम्मेवार, अनुशासित र उत्तरदायी भएर कार्यसम्पादन गर्न आग्रह गरे।
कार्यक्रममा मधेस प्रदेश कार्यालयका प्रवक्ता एवं ट्राफिक प्रहरी नायब उपरीक्षक नवराज न्यौपाने, प्रदेश कार्यालयका ट्राफिक प्रहरी निरीक्षक रमेश राई लगायतको उपस्थिति थियो।
त्यस्तै, कार्यक्रममा बारा ट्राफिक प्रहरी निरीक्षक हरि भट्टराई, पर्साका दीपेन्द्र श्रेष्ठ, रौतहटका राजेन्द्र थापा मगर, सर्लाहीका झलक शर्मा, महोत्तरीका बाबुराम कार्की, धनुषाका खगेन्द्र दाहाल, सिरहाका नवीन मरासैनी र सप्तरीका उमेशमान अमात्यको पनि सहभागिता रहेको थियो।
मधेस प्रदेशका आठ जिल्लामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सडक सुरक्षा, शान्ति सुरक्षा तथा नागरिकमैत्री प्रहरी सेवामा सुधार ल्याउने उद्देश्यले कार्यसम्पादन करार गरिएको कार्यालयले जनाएको छ।
विराटनगर । विराटनगरमा नेपाली नागरिकको नाममा फर्म दर्ता गरी चिनियाँ नागरिकले व्यापार सञ्चालन गरेको अर्को घटना सार्वजनिक भएको छ। विराटनगर महानगरपालिका–२, डीएसपी रोडस्थित ‘१६० सप’मा गरिएको अनुगमनका क्रममा चिनियाँ नागरिकले व्यवसाय सञ्चालन गरिरहेको भेटिएपछि सरकारी निकायले अनुसन्धान थालेको हो।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले सोमबार गरेको अनुगमनका क्रममा पसलको दर्ता कागजात काठमाडौं महानगरपालिका–३२, जडीबुटी निवासी राधिका बस्नेत कार्कीको नाममा रहेको भेटिएको थियो। तर, पसलमा चिनियाँ नागरिक लि जोसिज्याकले व्यापार सञ्चालन गरिरहेको पाइएको हो।
पसल बाहिर ‘१६० सप’ नाम प्रयोग गरिएको भए पनि सरकारी कागजातमा भने ‘एभरपिक सप्लायर्स’का नाममा फर्म दर्ता रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख दिपेशकुमार झाले जानकारी दिए।
उनका अनुसार पसलमा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामग्री कहाँबाट खरिद गरिएको हो, कारोबार कसरी भइरहेको छ र चिनियाँ नागरिकले उक्त व्यवसाय सञ्चालन गर्ने कानुनी आधार के हो भन्ने विषयमा आवश्यक कागजात माग गरिएको छ।
अनुगमन टोलीले पसल सञ्चालकलाई सामान खरिदका बिलसहित व्यवसायसँग सम्बन्धित कागजात उपलब्ध गराउन निर्देशन दिएको छ। फर्मको दर्ता विवरण, आन्तरिक राजस्व कार्यालयमा देखाइएको कारोबार र वास्तविक रूपमा भइरहेको व्यवसायबीच मेल छ कि छैन भन्ने विषयमा समेत अध्ययन भइरहेको जनाइएको छ।
पसल सञ्चालनमा संलग्न चिनियाँ नागरिक लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
विराटनगरमा दोस्रो घटना
विराटनगरमा नेपाली नागरिकको नाममा फर्म दर्ता गरेर चिनियाँ नागरिकले व्यापार सञ्चालन गरेको यो दोस्रो घटना भएको सरकारी अधिकारीहरूले बताएका छन्।
यसअघि विराटनगरस्थित सेन्ट्रल मलमा सञ्चालनमा रहेको ‘योनो मार्ट’ पनि नेपाली नागरिकको नाममा दर्ता भएको तर चिनियाँ नागरिकले सञ्चालन गरेको पाइएको थियो।
‘योनो मार्ट’ सञ्चालन गरिरहेका चिनियाँ नागरिक सीए जिङलानलाई गत असोज ८ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनले नेपालमा लगानी गर्ने उद्देश्यले उद्योग विभागबाट बिजनेस भिसाका लागि सिफारिस लिएको खुलेको थियो। तर, सम्बन्धित काम नगरी पसल सञ्चालन गरिरहेको पाइएको थियो।
अनुगमनका क्रममा सीए जिङलानको साथमा सक्कल राहदानीसमेत फेला नपरेपछि उनलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको थियो।
अन्य व्यवसायमाथि पनि निगरानी
पछिल्लो घटनापछि नेपाली नागरिकका नाममा दर्ता भएका फर्मबाट विदेशी नागरिकले प्रत्यक्ष रूपमा व्यापार सञ्चालन गरिरहेको हुन सक्ने विषयमा सरकारी निकायको चासो बढेको छ।
‘१६० सप’को फर्म दर्ता, राजस्व विवरण, महानगरपालिकामा गरिएको व्यवसाय दर्ता, सामान आयात तथा खरिदसँग सम्बन्धित कागजातलगायत विषयमा अध्ययन भइरहेको छ।
व्यक्तिगत फर्म दर्ता गर्दा आयात–निर्यात तथा स्थानीय व्यापारलाई उद्देश्यका रूपमा उल्लेख गरिए पनि वास्तविक लगानीकर्ता र व्यवसाय सञ्चालन गर्ने व्यक्ति को हुन् भन्ने विषयमा समेत अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
अनुगमनबाट प्राप्त कागजात र अनुसन्धानको निष्कर्षपछि ‘१६० सप’मा भइरहेको कारोबारको वास्तविक प्रकृति तथा व्यवसाय सञ्चालनको कानुनी अवस्थाबारे थप स्पष्ट हुने बताइएको छ।
प्रशासनले विराटनगरमा नेपाली नागरिकका नाममा दर्ता भएका अन्य व्यवसायमा समेत विदेशी नागरिकको प्रत्यक्ष संलग्नता छ कि छैन भन्ने विषयमा निगरानी बढाएको जनाएको छ।
तनहुँ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रदीप सुवेदी भदौ महिनाका लागि गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी अर्थात् ‘पुलिस अफ दी मन्थ’ घोषित भएका छन्।
गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीले इन्स्पेक्टर सुवेदीलाई उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत गरेका हुन्।
भोटेकोशीमा आएको बाढीपछि भएको उद्धार तथा खोजी कार्यमा सुवेदीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले बाढीपछिको उद्धार अभियानको कमाण्ड सम्हाल्दै ३८ वटा शव निकाल्ने कार्यको नेतृत्व गरेका थिए।
त्यसैगरी, फरार प्रतिवादी पक्राउ, जघन्य अपराधको सफल अनुसन्धान तथा समुदायमा प्रहरी जनचेतना अभिवृद्धिमा उल्लेख्य भूमिका निर्वाह गरेको आधारमा उनलाई ‘पुलिस अफ दी मन्थ’ घोषणा गरिएको हो।
डीआईजी घर्ती क्षेत्रीद्वारा हस्ताक्षरित प्रमाणपत्रमा सुवेदीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेको उल्लेख गरिएको छ।
२०७४ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका सुवेदीले यसअघि धनुषाको इलाका प्रहरी कार्यालय ढल्केबरको कमाण्डसमेत सम्हालिसकेका छन्।
उनले जिल्ला प्रहरी कार्यालय सोलु, काठमाडौंस्थित प्रहरी वृत्त दरबारमार्ग र लैनचौर तथा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा समेत विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्।
प्रहरी सेवामा आफ्नो जिम्मेवारी, अनुसन्धान तथा उद्धार कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सुवेदीलाई गण्डकी प्रदेश प्रहरीले भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेको हो।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
