- सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै गृह मन्त्रालयलाई उपलब्ध गराउन निर्देशन दिएको छ।
- प्रधानमन्त्री कार्यालयले कानुनले तोकेको भन्दा बढी सुविधा लिइरहेका पूर्वविशिष्टहरूको तथ्य फेला पारेपछि स्पष्ट विवरण माग गरेको हो।
- गृह मन्त्रालयबाट प्राप्त विवरणको आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गर्ने र प्रक्रियालाई व्यवस्थित बनाउने तयारी छ।
२३ वैशाख, काठमाडौं । राज्य कोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारीसाधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि मंगलबार गृहसँग स्पष्ट विवरण माग गरिएको हो ।
पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको छ।
यस कदमबारे जानकारी दिँदै प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाइका साथ विवरण माग गरेको बताइन् ।
उनका अनुसार कानुनले तोकेभन्दा बाहिर गएर लिइएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउनु यो निर्देशनको मुख्य उद्देश्य हो।
विगत लामो समयदेखि पूर्वविशिष्टहरूले मापदण्डविपरीत सरकारी स्रोत–साधनको प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेका बेला सरकारले यो सक्रियता देखाएको हो ।
गृह मन्त्रालयबाट प्राप्त हुने विवरणको आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गर्ने र प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी छ।
२३ बैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानको दायरामा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरेको छ ।
नेपाल प्रहरीमार्फत पठाइएको अनुरोधमाथि सुनुवाइ गर्दै इन्टरपोलले अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न आवश्यक कानुनी सर्त र सम्बद्ध कसुर नदेखिएको जवाफ पठाएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा प्रहरीले इन्टरपोललाई पत्राचार गरे पनि इन्टरपोलले अनुसन्धानको प्रक्रिया र आधारमाथि प्रश्न उठाएको छ ।
विशेषगरी, सम्बद्ध कसुर स्पष्ट नदेखिएको र एकैपटक सम्पत्ति शुद्धीकरणमा मात्रै अनुसन्धान अघि बढाइएको विषयले रेड नोटिसका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको इन्टरपोलको ठम्याइ छ । गत २४ चैत २०८२ मा जिल्ला अदालत काठमाडौँले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि सरकारले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरबाटै खोजी गर्न प्रक्रिया थालेको थियो ।
सुरक्षा उद्धारदेखि वैदेशिक बसाइँसम्म
गत २४ भदौमा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा निजी निवासमा आक्रमण भएपछि देउवा दम्पतीलाई सेनाको सहयोगमा उद्धार गरिएको थियो । त्यसपछि उपचारका लागि भन्दै सिंगापुर प्रस्थान गरेका उनीहरू हालसम्म स्वदेश फर्किएका छैनन् । हाल देउवा परिवार हङकङमा रहेको बताइए पनि यसबारे पारिवारिक वा सरकारी तवरबाट कुनै आधिकारिक पुष्टि हुन सकेको छैन ।
अनुसन्धानको भविष्य र चुनौती
देउवा दम्पती देशबाहिर रहेकै समयमा सरकारले उनीहरूको सम्पत्तिमाथि शुद्धीकरणको अनुसन्धान सुरु गरेको थियो । इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि अब विदेशमा रहेका अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउने र अनुसन्धान प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारी निकायहरू दबाबमा परेका छन् । यो विकासक्रमले नेपाली राजनीति र भ्रष्टाचार विरोधी अनुसन्धानको अन्तर्राष्ट्रिय कानुनी पाटोलाई थप जटिल मोडमा पुर्याएको छ ।
२३ बैशाख, काठमाडौं । मधेस प्रदेशमा पछिल्लो केही दिनदेखि चुलिएको सत्ता समीकरण परिवर्तनको खेल केन्द्रको हस्तक्षेपका कारण तत्कालका लागि मत्थर भएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच काठमाडौँमा भएको त्रिपक्षीय छलफलपछि तत्काल सरकार नढाल्ने समझदारी बनेसँगै मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले राहत महसुस गरेको हो ।
हस्तक्षेप र ‘पर्ख र हेर’ को स्थिति
सत्ता साझेदार दलहरू जसपा, लोसपा र एमालेले सरकारबाट समर्थन फिर्ता लिने अन्तिम तयारी गरे पनि केन्द्रको ‘अब्जेक्सन’ पछि मंगलबारको प्रक्रिया रोकिएको छ । जनमत पार्टीले समर्थन फिर्ता लिने तयारी गरेसँगै मधेसको राजनीति तातिएको थियो ।
यद्यपि, एमाले संसदीय दलका नेता सरोजकुमार यादवसँगको वार्ता सकारात्मक हुन नसक्नु र गठबन्धनभित्रै अविश्वास देखिनुले पनि नयाँ समीकरणको कसरतलाई थप जटिल बनाएको छ ।
आन्तरिक कलह र नेतृत्वको असन्तुष्टि
सत्ता जोगिए पनि गठबन्धनभित्रको असन्तुष्टि भने चरम सीमामा पुगेको छ । मुख्यमन्त्री यादवले ‘हैकमवादी’ शैलीमा शासन चलाएको, अन्य मन्त्रालयमा हस्तक्षेप गरेको र कर्मचारी सरुवामा मनपरी गरेको आरोप सत्तापक्षीय मन्त्रीहरूले नै लगाएका छन् ।
उता, जनमत पार्टीभित्रको आन्तरिक विवाद पनि सतहमा आएको छ । १२ मध्ये ९ सांसदको समर्थनमा महेशप्रसाद यादवलाई हटाएर चंदन सिंहलाई दलको नेता चयन गरेपछि पार्टी दुई खेमामा विभाजित देखिएको छ ।
अंकगणितको सकस र आगामी चुनौती
मधेस प्रदेश सभाको वर्तमान अंकगणित निकै नाजुक अवस्थामा छ । १०१ सदस्यीय प्रदेश सभामा बहुमत सिद्ध गर्न निकै कसरत गर्नुपर्ने देखिन्छ । केही सांसदहरूको निलम्बन र केहीको राजीनामाका कारण समीकरण छिनछिनमै फेरिन सक्ने अवस्था छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउत अझै पनि नयाँ समीकरणको प्रयासमा सक्रिय रहनु र ३० दिनभित्र मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण मधेसको राजनीति आगामी दिनमा थप अस्थिर हुने संकेत देखिएको छ । यदि यो असन्तुष्टि कायमै रहे, वर्तमान सरकारले संसदमै पराजय भोग्नुपर्ने जोखिम अझै टरेको छैन ।
- विमला श्रेष्ठले दुबईमा अन्तरजातीय विवाह गरी इलाममा बस्दै गर्भावस्थामा पिसाब संक्रमणपछि साढे ६ महिनामा शल्यक्रिया मार्फत छोरा जन्माइन्।
- छोरा मोतिबिन्दु र रेटिनाको समस्याका कारण आँखा नदेख्ने, कान कम सुन्ने र शारीरिक विकासमा समस्या भएको पत्ता लाग्यो।
- श्रीमानको नशालु व्यवहार र आर्थिक अभावबीच विमलाले छोराको हेरचाह गर्दै पार्ट टाइम काम गरेर जीवन गुजार्दै छिन्।
घरमा दुःखको चाङ थियो । अभावै अभावमा दिनहरू कठिन बन्दै गएपछि विमला श्रेष्ठले घर छाडिन् । अनि श्रम भिसा च्यापेर दुबई पुगिन् । त्यहीँ रहँदा उनको एक युवकसँग प्रेम बस्यो र अन्तरजातीय विवाह भयो । परिवार र समाजका अनेक प्रश्न, असहजता र आशंकाबीच उनले आफ्नो जीवनको निर्णय गरिन् । विवाहपछि उनी श्रीमानसँग इलाम पुगिन् र त्यहीं बसेर आफ्नो जीवनको नयाँ अध्याय सुरु गरिन् ।
ज्याला मजदुरी गरेर चार जनाको परिवार जेनतेन चल्दै थयो । उनी गर्भवती भइन् ।
गर्भावस्थाको छैटौं महिनामा अचानक पिसाब संक्रमण भयो । पिसाब पोल्नुको साथै पिसाबमा रगत देखिएपछि स्वास्थ्य चौकी पुगिन् ।
स्वास्थ्य चौकीमा पिसाब जाँचपछि संक्रमण पुष्टि भयो र औषधि दिइयो । तर त्यही राति गर्भको पानी फुट्यो र अनियन्त्रित रूपमा बग्न थाल्यो । अर्कोदिन उनी इलाम अस्पताल पुगिन्, अल्ट्रासाउन्डका लागि । इलाम अस्पतालमा उक्त सुविधा नभएपछि उनी झापाको मनमोहन सामुदायिक अस्पताल पुगिन् । त्यहाँ अल्ट्रासाउन्डबाट गर्भमा पानी नभएको पुष्टि भयो । संक्रमणले बच्चामा समेत असर गर्ने भएकाले शल्यक्रिया गर्नुपर्ने भयो ।
बच्चाको फोक्सो पूर्णविकसित नभएकाले सुई दिएर विकास गराइयो र २४ घण्टाभित्र डेलिभरी गर्नुपर्ने भयो । २४ घण्टाभित्र डेलिभरी गर्नुपर्ने भएपछि विमलाले श्रीमान्लाई फोन गरेर अस्पतालमा बोलाइन् ।
श्रीमान् आएपछि उनको शल्यक्रिया भयो । साढे ६ महिनामै शल्यक्रिया मार्फत बिमलाले छोरालाई जन्म दिइन् । छोरा प्रिम्याच्योर जन्मियो, जसको तौल अपेक्षितभन्दा कम थियो । बच्चालाई केही दिन एनआईसीयूमा राखियो । जन्मेको १० दिनपछि घर ल्याइयो । बच्चा सामान्य देखिन्थ्यो चलमलाउने, कराउने र आँखा खोल्ने । डाक्टरले चिसो मौसमलाई ध्यानमा राखेर तेल मालिस नगर्न र भिटामिन डी तथा नाकका ड्रपहरू प्रयोग गर्न सल्लाह दिए ।
बच्चामा समस्या नै समस्या
घर पुगेको केही दिनपछि विमलाले बच्चाको आँखामा सेतो भाग देखिन्, जसलाई सासूले ‘जालो’ भनेर सामान्य मानिन् । तर यो समस्या बढ्दै गयो । दुई महिनापछि बिमला माइती इचंगु नारायण पुगिन्, तर लकडाउनले गर्दा फर्किन सकिनन् । तीन महिनापछि उनकी दिदी नाता पर्ने बच्चालाई राम्ररी नियालिन । बच्चाले आँखा फर्काउने र बोलाउँदा प्रतिक्रिया नदिने देखेर अस्पताल जान सल्लाह दिइन् ।
दिदीको सल्लाह अनुसार विमला त्रिवि शिक्षण अस्पताल पुगिन् । त्यहाँ जाँच गर्दा मोतिबिन्दुको शंका गरियो । डाक्टरले आँखाको शल्यक्रिया सिफारिस गरे । ८ महिनाको हुँदा पहिलो र एघार महिनामा दोस्रो शल्यक्रिया भयो । शल्यक्रियापछि सेतो पर्दा हट्यो, तर आँखाको नानी नै विकसित नभएको पत्ता लाग्यो । डाक्टरले रेटिनाको समस्या भएको बताए र बच्चाले कहिल्यै देख्न नसक्ने घोषणा गरे । औषधि राख्ने र थप उपचार गर्नुनपर्ने सल्लाह दिए ।
यो खबरले विमला हतास भइन् । ‘देख्नै नसक्ने बच्चाको भविष्य कस्तो होला ?’ उनले कल्पना गरिन् । तर सत्य स्वीकारी बच्चाको हेरचाह गर्नुको विकल्प थिएन । पहिले बच्चाले आँखानजिक हात लगिरहन्थ्यो तर अप्रेसनपछि आँखामा हात लैजान छाड्यो । ५-६ महिनापछि दाहिने आँखा एक्कासी फुल्यो र ठूलो भयो ।
लकडाउनका कारण अस्पताल जान ढिलो भयो । पछि अस्पताल पुगेर जाँच गर्दा संक्रमण पुष्टि भयो, जुन मस्तिष्कसम्म पुग्न सक्ने खतरा थियो । एन्टिबायोटिक दिएपछि आँखा सुन्निने समस्या कम भयो, तर आँखा सामान्य भन्दा सानो भयो । आँखाको संक्रमणको उपचारको क्रममा उनको छोराको कानको जाँच पनि गरियो । छोराले आँखा नदेख्ने मात्र हैन कान पनि एकदमै कम सुन्ने कुरा थाहा भयो । यो कुरा सुनेर विमला झन् निरास भइन् । १० दिन अस्पातलको बसाइपछि घर फर्किन् ।
छोराले आँखा नदेख्ने, कान नसुन्ने र बोल्न नसक्ने समस्या त थियो नै त्यसमाथि शारीरिक विकास अन्य बच्चाको जस्तो भएन । दुई वर्ष हुँदा पनि बच्चा बस्न सक्दैनथ्यो । बिमलाले सिरकले बेरेर बसाउने कोसिस गरिन्, तर सफल भएनन् ।
थप प्रयास
दुई वर्षको उमेरमा अरू बच्चा ठमठम हिँड्न । तर उनका छोरा बस्न पनि सक्दैनथे । यो समस्या बोकेर उनी फेरि अस्पताल पुगिन् । चिकित्सकले फिजियोथेरापी गर्ने सल्लाह दिए ।
अनि विमलाले फिजियोथेरापी गराउन सुरु गरिन् । १५–२० दिनपछि बच्चा हात टेकेर बस्न थाल्यो । निरन्तर प्रयासपछि साढे दुई वर्षमा आफैं बस्न सिक्यो, तर उठ्न सक्दैनथ्यो । थेरापीले मुभमेन्ट सुधार्यो । अहिले बच्चा बस्दा लड्दैन र यताउता घुम्न सक्छ । तर हिँड्न सक्दैन ।
विमलाका छोराले आँखा देख्दैनन्, कान राम्ररी सुन्दैनन्, बोल्न सक्दैनन् र हिँडडुल गर्न पनि सक्दैनन् । सञ्चारमा निकै कठिन छ । ठूलो आवाजमा गीत बजाउँदा मात्र प्रतिक्रिया दिन्छ ।
विमलाले समय मिलाएर बनाएर खाना, खाजा र दिसा–पिसाबको व्यवस्था गर्छिन् । बच्चाले व्यक्त गर्दैन, तर बिमलाले अनुमान गरेर हेरचाह गर्छिन् । चपाउने र निल्नेमा पनि समस्या थियो, तर अहिले सुधारिएको छ ।
पारिवारिक कलह
बच्चाको स्वास्थ्य समस्या बढ्दै जाँदा पारिवारमा कलह सुरु भयो । विमलाको श्रीमान् पहिले अलिअलि रक्सी खान्थे, तर बच्चाको समस्या बढ्दै जाँदा उनी नशामा डुब्न थाले । रक्सी र गाँजाको लत लाग्यो । बिहान उठ्नेबित्तिकै रक्सी खोज्थे । काम गर्न छाडे । घरमा पैसा अभाव भयो ।
विमलाले बच्चा र श्रीमान् दुवैको हेरचाह गर्नुपर्यो । श्रीमानले रिसमा बच्चालाई पनि हान्ने प्रयास गरे, जुन पछि विमला डराइन् ।
बच्चाको अवस्था र श्रीमानको व्यवहारका कारण निकै गाह्रो भइरहेको थियो । पूरा समय बच्चाको हेरचाहका लागि दिनुपर्ने भएकोले विमला आफैं काम गर्न जाने अवस्था थिएन । घरभाडा तिर्न र खानका लागि समस्या हुन थाल्यो ।
यो अवस्था देखेर घरबेटीले दया देखाए– भाडा लिएनन्, विमलाले घरको काममा सहयोग गर्न थालिन् । काम गरेबापत बरू थोरै पैसा पनि दिन थाले।
घरबेढी निकै वृद्धवृद्धा थिए । विमलाले उनीहरूको हेरचाहका साथै घरको काममा सहयोग गरिन् । तर श्रीमानको व्यवहार झन् खराब भयो । कुटपिट गर्ने, पैसा माग्ने र धम्की दिने । जति गर्दा पनि नसुध्रिएपछि श्रीमानलाई छोडेर माइत गएर बस्न थालिन् ।
श्रीमान् इलाम फर्किए । श्रीमती र छोराको कुनै वास्ता राखेनन् । सासुससुराले पनि विमलाको र उनको छोराको अनुहार हेर्न समेत चाहेनन् ।
दुःखका पहाड छिचोल्दै
अहिले छोरा ६ वर्षको भएको छ । उनलाई विशेष स्कुलमा हालिएको छ । स्कुलमा शारीरिक र मानसिक विकासमा फोकस गरिन्छ । विमला आफैं बच्चालाई लिएर जान्छिन् र ल्याउँछिन् । पहिले बच्चा स्कुलमा रुन्थ्यो, तर अहिले अभ्यस्त छ । बिमला छोराको स्कुल नजिकै केही घण्टा पार्ट टाइम काम गर्छिन् ।
त्यसबाट आउने थोरै पैसाले जसोतसो गुजारा चलिरहेको छ । माइतीमा आश्रय पाए पनि थप आर्थिक बोझ पारिदिन मन छैन उनलाई ।
‘मम्मी, बुबा र दाइ छन्, उनीहरूको पनि आफ्नै परिवार छ त्यसैले धेरै दु:ख दिन मिल्दैन’ विमला भन्छिन्, ‘घरमा ३–४ हजार दिन्छु ।’
बच्चा सँगै हुन पाए सजिलो हुन्थ्यो भनेर उनले छोराको स्कुलमै काम मिलाउने कोसिस गरिरहेकी छिन् ।
‘बच्चाको भविष्य अलि सहज बनाउन सकिन्छ भन्ने आशा छ’ उनी भावुक हुँदै भन्छिन्, ‘सरकारले केही व्यवस्था गर्दिए पनि मैले काम गर्न पाउँथे ।’
छोरा अलिअलि हिँड्न खोजिरहेको छ, थेरापी जारी छ ।
आफ्नो सन्तानका कारण जतिसुकै कठिनाइहरू आउन्, एक आमा निर्दयी बन्न सक्दिनन् । यही नियती विमलाको जीवनमा आइलागेको छ । आफ्नो मातृत्व र दृढ संकल्पले उनी पीडाहरूलाई पन्छाइरहेकी छिन् ।
उनी आशावादी छिन्– पक्कै एक दिन आफ्नो छोराको पनि राम्रा दिन आउँछ भनेर ।
२३ बैशाख, काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो तनावका कारण सिर्जित विश्वव्यापी आर्थिक अस्थिरतालाई मध्यनजर गर्दै भारत सरकारले ठूलो राहत प्याकेजको घोषणा गरेको छ ।
केन्द्रीय मन्त्री अश्विनी वैष्णवले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै संकटमा परेका साना व्यवसायी र हवाई क्षेत्रको उत्थानका लागि कुल २ लाख ५५ हजार करोड रुपैयाँ बराबरको ऋण सुविधा उपलब्ध गराउने जानकारी दिनुभएको हो ।
विना धितो ऋण र सरकारी ग्यारेन्टी
यस विशेष योजनाअन्तर्गत साना तथा मझौला उद्योगले अब कुनै पनि धितो वा व्यक्तिगत ग्यारेन्टी बिना १०० करोड रुपैयाँसम्मको ऋण प्राप्त गर्न सक्नेछन्। यस्तो ऋणमा सरकारले शतप्रतिशत ग्यारेन्टी दिने व्यवस्था गरिएको छ ।
यस्तै, इन्धनको मूल्य वृद्धिले संकटमा परेका हवाई कम्पनीहरूका लागि सरकारले ५ हजार करोड रुपैयाँ आरक्षित गरेको छ, जसमध्ये एक कम्पनीले १ हजार ५०० करोडसम्म ऋण लिन पाउनेछन् । हवाई क्षेत्रको ऋणमा सरकारले ९० प्रतिशत ग्यारेन्टी लिने निर्णय गरेको छ, जसले बैंकहरूलाई ऋण प्रवाहमा सहजता प्रदान गर्नेछ ।
भुक्तानीमा सहुलियत र समयसीमा
ऋण तिर्ने प्रक्रियालाई व्यवसायीमैत्री बनाउँदै सरकारले ‘मोरेटोरियम’ अवधि समेत तोकेको छ । साना व्यवसायीले ५ वर्षको अवधिमा ऋण चुक्ता गर्न सक्नेछन् भने पहिलो एक वर्ष सावाँ तिर्नु पर्ने छैन ।
हवाई कम्पनीका लागि ७ वर्षको अवधि र सुरुवाती २ वर्ष किस्ता तिर्नु नपर्ने सुविधा दिइएको छ। यो सुविधा आगामी ३१ मार्च २०२७ सम्म लागू हुनेछ भने मार्च २०२६ सम्म नियमित किस्ता तिरेका ‘स्ट्याण्डर्ड’ खातावालाहरूले मात्र यसमा सहभागी हुन पाउनेछन् ।
सेमिकण्डक्टर र कृषिमा लगानी
राहत प्याकेजका अतिरिक्त भारत सरकारले प्रविधि र कृषि क्षेत्रमा पनि महत्वपूर्ण निर्णयहरू गरेको छ । भारतलाई सेमिकण्डक्टर उत्पादनको विश्वव्यापी केन्द्र बनाउन गुजरातमा करिब ३ हजार ९३६ करोडको लगानीमा दुई नयाँ प्लान्ट स्थापना गरिने भएको छ ।
यसैगरी, कपास खेतीमा आइरहेको ह्रासलाई रोक्न र किसानको आय वृद्धि गर्न ५ हजार ६५९ करोड रुपैयाँको ‘कपास उत्पादकत्व मिसन’ लाई समेत सरकारले स्वीकृत गरेको छ । यी कदमहरूले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
