KATHMANDU WEATHER
Horizontal Scroll Menu

नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव

ताराचन्द्र देवकोटा

 

काठमाडौं/ फागुन ४ गते

 

वीरता, धीरता, अदम्य साहस, शौम्य र गौरवले भरिएका अनेकौं गाथा, नेपाल राष्ट्रको एकीकरणदेखि हरेक राष्ट्रिय संकटलाई किनारा लगाउन खेलेको अग्रणी भूमिका, विश्व शान्ति स्थापनार्थ अन्तर्राष्ट्रिय क्षेत्रमा कमाएको छविले नेपाल राष्ट्रको गौरव उँचो पार्न सफल नेपाली सेनाले आफ्नो सेना दिवस-२०८२ तथा २६३ औं वार्षिकोत्सवलाई ‘बलियो एकता, सुरक्षित राष्ट्र’ का निम्ति फलदायी हुने गरी मनाएको छ । वार्षिकोत्सव कार्यक्रम नेपाली सेनाले खाली औपचारिकतामा मात्र सीमित गरेन ।

 

 २६३ औं वार्षिकोत्सव अथवा सेना दिवस-२०८२ का अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै हाम्रो देश नेपालका गौरवका गाथा, परम्परा र संस्कृतिहरु चिन्न, गौरव गर्न र इतिहासका पाठबाट सिक्न सबै सैनिक तालिमहरुमा नेपाल र नेपालीको इतिहास अध्ययन-अध्यापन गराउन अह्राएबाट के प्रष्ट हुन्छ भने नेपाली सेना नेपाल राष्ट्रको स्वाधिनता, राष्ट्रिय एकता, जनताको सार्वभौम अधिकार र आफ्नो कर्तव्यप्रति अत्यन्तै सम्वेदनशील छ ।

 

 सेना दिवस-२०८२ अथवा २६३ औं वार्षिकोत्सवलाई नेपाली सेनाले नेपाली मन-मुटु र माटोसँग जोडिने गरी विभिन्न खेलकुद, सामाजिक क्रियाकलाप, युवा प्रोत्साहन कार्यक्रम गरेरमात्र मनाएन, ‘मिलिट्री टु मिलिट्री’ सम्बन्ध समुधुर राख्ने उद्देश्यका साथ मित्र राष्ट्रका सैनिकहरुलाई समेत निमन्त्रणा गरेर उनीहरुले बोलाउँदा आफू जाने र आफुले बोलाउँदा मित्र राष्ट्रका सेनाहरु आउने परम्परालाई निरन्तरता दिएको छ । यस पटकको सेना दिवस कार्यक्रममा नेपाली सेनासहित मित्र राष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीबाट सांगीतिक प्रस्तुति दिइनुलाई मित्र राष्ट्रबीचको सुमुधुर सम्बन्धको निरन्तरताको प्रयासका रुपमा हेरिनुपर्दछ । यसले मित्र राष्ट्रहरुसँगको कुटनीतिक सम्बन्धलाई समेत बलियो बनाउन मद्दत पुग्नेछ । मित्र राष्ट्रका सैनिकहरु राष्ट्रिय सेवा दल अन्तर्गतको एनसीसी ‘युवा आदान-प्रदान’ कार्यक्रममा भाग लिनको निम्तिसमेत आएका थिए । यसले युवा वर्गलाई आफ्नो देशको राष्ट्रियता, स्वाधीनता र जगेर्नामा थप प्रेरित गर्ने विश्वास लिन सकिन्छ ।

 

वि. सं. १८१९ मा स्थापना भएको नेपाली सेनाले स्थापनाकालदेखि नै मुलुक, नागरिक र संविधानप्रति प्रतिबद्ध भई संविधानले तोकेको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेका कारण आमनागरिकको भरोषा र विश्वास पाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतको भनाई छ । ‘नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि मुलुक र नागरिकको रक्षार्थ संविधान अनुसार चल्न तयार रहँदै आएको छ र अटुटरुपमा रहिरहने छ’ सैनिक प्रवक्ता सहायकरथी बस्नेतले प्रष्ट पारे- ‘मुलुकको समग्र सुरक्षासँगै विपत् व्यवस्थापन र राष्ट्र निर्माण (पूर्वधार विकास), कला-संस्कृति र ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षणमा पनि नेपाली सेना सदैव समर्पित छ ।’

 

 भदौ २३ र २४ गते (२०८२) भएको जेन-जी पुस्ताको प्रदर्शनमा नेपाली सेनाले उच्च सुझबुझ नदेखाई राष्ट्र, जनता र संविधानप्रतिको आफ्नो दायित्व भुलेर अघि बढेको भए २५ गतेदेखि मुलुकको अवस्था, व्यवस्था र हविगत के हुन्थ्यो ? नेपाली सेनामाथि आशंका गर्नेहरुले गहनरुपमा गम्भीर भएर विश्लेषणमात्रै गरिदने हो भने उनीहरुले पनि भन्नेछन्- ‘नेपाली सेना : जनताको सेना, राष्ट्रको गौरव ।’ संगठनभित्र केही कमीकमजोरी हुन सक्छन्, त्यसलाई उसले सुधार्नुपर्छ । तर, नेपाली सेना राष्ट्र, जनभावना र संविधानविपरीत चल्दै-चल्दैन भन्ने कुरा उसले बारम्बार पुष्टि गर्दै आएको छ ।

 

राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले स्थापना गरेको नेपाली सेनाले आफूलाई सुरक्षा संगठनमात्र होइन, राष्ट्रिय एकताको बलियो खम्बाका रुपमा कायम राख्दै आमनागरिकको विश्वास र भरोषा आर्जन गरेको छ । १७ औं शताब्दीको विश्वव्यापी रुपमा राज्यसत्ता कब्जा गर्ने औपनिवेशवादलाई सीमामै छेकेर नेपालको राष्ट्रियता अक्षुण्ण राख्न सफल नेपाली सेनालाई सेना दिवस-२०८२ तथा २६३ औं वार्षिकोत्सवका अवसरमा वीरता-धीरता, अदम्य साहस, शौम्य र गौरवले भरिएका थप गाथा कोर्न सफलता मिल्दै जाओस्, शुभकामना !

वीरगंज-३मा एमालेको चुनावी वडा भेला,रिमा यादवलाई जिताउन कार्यकर्ताको प्रतिबद्धता

सोमबार,।नेकपा एमालेले वीरगंज महानगरपालिका वडा नम्बर–३ को चुनावी वडा भेला सोमबार सम्पन्न भएको छ। वडा कमिटीका उपाध्यक्ष प्रकाश नेपालको अध्यक्षतामा सम्पन्न भेलामा सहभागीहरूले फागुन २१ गते हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।

भेलालाई सम्बोधन गर्दै उम्मेदवार रिमा कुमारी यादवले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताइन्। उनले जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याउने र क्षेत्रको समग्र विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।

“स्थानीय तहदेखि संघीय तहसम्मको समन्वयमा योजनाबद्ध विकास अघि बढाउँछु,” उनले भनिन्, “किसान, युवा, महिला र गरिब समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याइनेछ।”

मालपोत चौकमा आयोजित भेलामा पार्टीका नेताहरूले पर्सा क्षेत्र नम्बर–२ बाट उम्मेदवार रिमा यादवलाई विजयी बनाउन आग्रह गरेका थिए। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव, जिल्ला सचिव महेश दास, क्षेत्र नम्बर–२ का संयोजक मनोज कुशवाह, वडा अध्यक्ष वैजु सुवर्णकार, नेता खैरुदिन हवारी, महानगर उपाध्यक्ष लियाकत अली, नविदिन हवारीलगायतले मन्तव्य व्यक्त गर्दै पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।

त्यस्तै, राजेशमान सिंहले शुभकामना सन्देश दिँदै लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरेका थिए। उनले विकासका योजनामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

भेला सम्पन्नसँगै एमालेले वीरगञ्ज–३ मा चुनावी अभियान थप तीव्र बनाउने जनाएको छ। स्थानीय नेताहरूका अनुसार घरदैलो, भेटघाट तथा जनसंवाद कार्यक्रमलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने निर्णय गरेको छ । भेलाको सहजीकरण निरन्जन मिश्रले गरेका

थिए।

 

वीरगन्ज-१६ नागवामा एमालेको सम्पर्क कार्यालय उद्धाटन;चुनावी प्रभावकारी बनाउन उम्मेदवार यादवको आग्रह

वीरगन्ज ।
नेकपा एमाले पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादवले वीरगञ्ज–१६नागवामा सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले “सम्पर्क कार्यालयले मतदाता भेटघाट, घरदैलो र अन्य चुनावी गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन सहयोग पुर्‍याउनेछ। यस मार्फत हामी जनता र उम्मेदवार बीचको संवादलाई थप सुदृढ बनाउने प्रयासमा छौं।” उनले मतदातासँगको प्रत्यक्ष संवाद र समस्या बुझ्ने कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा समृद्ध वीरगंज निर्माणको लक्ष्यका साथ कार्यालय सञ्चालनमा ल्याइएको बताए । नागवाबासीको सक्रिय सहभागिता, सुझाव र साथ–सहयोगले हाम्रो अभियानलाई अझ सशक्त बनाउने विश्वास लिएको बताए।

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–६ स्थित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै क्षेत्रका विद्यमान समस्या, आवश्यकता र अपेक्षाहरूबारे जानकारी लिएका थिए। स्थानीयसँगको संवादमा उनले रास्वपा नेतृत्वमा आएपछि स्वास्थ्य सेवाको सुधार, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने तथा युवाहरूका लागि स्थायी र दिगो रोजगारीको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गरे।

उम्मेदवार कानुले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सार्दै जनताको आवश्यकता र चाहनाअनुसार नीतिगत तथा व्यवहारिक रूपमा काम गर्ने प्रतिबद्धता जनाए। “स्वास्थ्य र शिक्षा बलियो भए मात्रै समाज र राष्ट्र समृद्ध बन्छ,” उनले भने, “स्थानीय तहमा प्रभावकारी सेवा पुर्‍याउन र युवालाई रोजगारीमा जोड्न विशेष कार्यक्रमहरू ल्याइनेछन्।”

कानुले कृषकहरूको समस्या समाधानका लागि समयमै मल, सिँचाइ तथा उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यवस्था मिलाइने उल्लेख गरे। साथै युवालाई सीपमूलक तालिम, स्वरोजगार र उद्यमशीलतामा जोड्ने योजनालाई प्राथमिकतामा राखिने उनको भनाइ थियो।

घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीहरूले मुलुकमा नयाँ राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेही नेतृत्व आवश्यक भएको बताउँदै परिवर्तनमुखी एजेन्डा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति भरोसा बढ्दै गएको प्रतिक्रिया दिएका थिए। स्थानीय मतदाताहरूले यसपटक एकजुट भएर रास्वपालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उम्मेदवार कानुले समावेशी विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राखेर अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई हरहालतमा विजयी बनाउन स्थानीय मतदाताहरूलाई आग्रह गरे। उनले जनताबाट प्राप्त सुझाव र अपेक्षालाई आफ्नो चुनावी घोषणापत्र तथा भावी कार्ययोजनामा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए।

बहुअरावामा अगुवा भेला तथा विभिन्न पार्टी परित्याग गरि सयौ कार्यकर्ता रिमा यादवलाई जिताउन एमालेमा प्रवेश

 

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत को पर्सागढी नगरपालिका वडा नम्बर–५ बहुअरावामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौँ कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता बताईन्। उनले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र आधुनिक कृषि प्रणालीमार्फत स्थानीय जनताको जीवनस्तर उकास्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका प्रमुख सिंघासन साह तथा पूर्व वडा अध्यक्ष असलम आलम लगायतले सम्बोधन गर्दै संगठन सुदृढीकरण र विकास निर्माणमा एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।


कार्यक्रममा नेकपा (एमाले) का स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार जसपा नेपाल र नेपाली कांग्रेस लगायत विभिन्न दलबाट ठूलो संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

बिकी यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३