२७ बैशाख, काठमाडौँ । सार्वजनिक सेवा प्रवाह हुने सरकारी निकायहरूलाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यका साथ सरकारले भोलि वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर सरसफाइ सप्ताह २०८३ मनाउने घोषणा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सिंहदरबारदेखि स्थानीय तहका वडा कार्यालय र सार्वजनिक शिक्षण संस्थासम्मलाई यस अभियानमा एकाकार हुन निर्देशन दिएको हो । यो अभियानको औपचारिक शुभारम्भ आइतबार बिहान ८स्३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले गर्ने कार्यक्रम तय भएको छ ।
सरकारले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन २०८३’ ले सरकारी कार्यालयहरूको स्वरूप नै बदल्ने लक्ष्य राखेको छ। मार्गदर्शन अनुसार कार्यालयका नागरिक वडापत्र, सूचना बोर्ड र संकेत चिन्हहरूलाई व्यवस्थित बनाइनेछ भने चर्किएका वा उक्किएका भित्ताहरूको मर्मत र रङ्गरोगन गरी सेवा क्षेत्रलाई आकर्षक बनाइनेछ ।
विशेषगरी सरकारी कार्यालयका शौचालयहरूको दूरावस्थालाई सुधार्न यस पटक कठोर मापदण्ड तय गरिएको छ। सबै शौचालयलाई दुर्गन्धरहित बनाउने, नियमित पानी र साबुनको व्यवस्था गर्ने तथा महिलामैत्री र स्यानिटरी प्याड व्यवस्थापनको सुविधा सुनिश्चित गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
फोहोर व्यवस्थापनका लागि कार्यालयहरूले अब अनिवार्य रूपमा कुहिने र नकुहिने फोहोर छुट्याउन दुई प्रकारका डस्टबिन राख्नुपर्नेछ। कार्यालय परिसरको १०० मिटर वरिपरि रहेका नाली र ढलहरूको सफाइ, अव्यवस्थित तार र पुराना पोस्टरहरू हटाउने कार्यलाई पनि अभियानको सूचकमा राखिएको छ । यस्तै, पुराना र काम नलाग्ने सामानहरूको लिलामी वा उचित विसर्जन गरी कार्यस्थललाई खुल्ला र सफा बनाउनुपर्नेछ। खुला रूपमा फोहोर जलाउने कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको मार्गदर्शनमा उल्लेख छ ।
अभियानलाई केवल औपचारिकतामा मात्र सीमित हुन नदिन सरकारले दिगोपन र अनुगमनको बलियो संयन्त्र पनि तयार पारेको छ । प्रत्येक निकायले एक ुसरसफाइ सम्पर्क व्यक्ति तोक्नुपर्नेछ भने साप्ताहिक कार्यतालिका बनाएर मासिक रूपमा स्वमूल्यांकन गर्नुपर्नेछ। यस अभियानको सफल कार्यान्वयनको सम्पूर्ण जवाफदेहिता सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ ।
सेवाग्राहीले सरकारी कार्यालय छिर्दा सम्मानित र स्वच्छ वातावरण महसुस गरुन् भन्ने हेतुले ल्याइएको यो सप्ताहले सार्वजनिक क्षेत्रको छवि सुधार्ने अपेक्षा गरिएको छ ।
२७ बैशाख, काठमाडौं । लेबनन र इजरायलबीच युद्धविराम घोषणा भएको केही समय नबित्दै पुनः हिंसात्मक आक्रमण सुरु भएको छ ।
शनिबार लेबननको राजधानी बेरुत र दक्षिणी क्षेत्रहरूलाई लक्षित गरी इजरायलले गरेको भीषण ड्रोन तथा हवाई आक्रमणमा परी एक १२ वर्षीया बालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको छ । लेबननी स्वास्थ्य मन्त्रालयका अनुसार बेरुतको दक्षिणी उपनगरमा गुडिरहेका सवारीसाधनलाई लक्षित गरी गरिएका तीनवटा ड्रोन आक्रमणमा चार जना र दक्षिणी लेबननका विभिन्न गाउँहरूमा भएका हवाई हमलामा अन्य १३ जनाको ज्यान गएको हो ।
गत अप्रिल १७ मा इजरायल र हेजबुल्लाहबीच युद्धविरामको सहमति भए पनि दुवै पक्षबाट दैनिक रूपमा भइरहेका आक्रमणले सम्झौतालाई चुनौती दिएको छ । पछिल्लो समय इजरायली वायुसेनाले बेरुतको दक्षिणी क्षेत्रमा हेजबुल्लाहका वरिष्ठ सैन्य कमान्डर मारिएको दाबी गरेपछि तनाव थप चुलिएको हो ।
शनिबारका आक्रमणहरू विशेष गरी बेरुतलाई दक्षिणी बन्दरगाह सहर सैदासँग जोड्ने राजमार्ग र चोउफ क्षेत्रमा केन्द्रित थिए । दक्षिणी गाउँ साक्साकियेहमा भएको भीषण बमबारीमा मात्रै ७ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।
युद्धविराम पछिको यो सबैभन्दा घातक आक्रमण मानिएको छ, जसले लेबननको जनजीवन पुनः त्रसित बनाएको छ । बुर्ज रहाल र माइफादौन लगायतका क्षेत्रमा पनि मानवीय क्षति भएको समाचारहरू प्राप्त भएका छन् ।
अन्तर्राष्ट्रिय समुदायले युद्धविराम पालना गर्न आग्रह गरिरहे पनि स्थलगत अवस्था भने भयावह बन्दै गएको छ । राजधानी नजिकै भएका यी शृङ्खलाबद्ध हमलाहरूले लेबननमा शान्ति स्थापनाको प्रयासलाई पुनः जोखिममा धकेलिदिएको विश्लेषण गरिएको छ ।
२७ बैशाख, काठमाडौं । जनमत पार्टीले समर्थन फिर्ता लिएर सरकार सङ्कटमा परेको चर्चा भइरहँदा मधेश प्रदेशका सत्तारुढ चार दलले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने ठोस निर्णय गरेका छन् ।
आइतबार बसेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई नै टिकाउने सहमति गरेको हो । बैठकले सत्ता समीकरणमा आएको बदलाबलाई चिर्दै मुख्यमन्त्रीले यथाशीघ्र प्रदेश सभाबाट विश्वासको मत लिने निर्णय समेत गरेको छ ।
गत वैशाख २२ गते जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेश सरकार अल्पमतमा परेको अड्कलबाजी सुरु भएको थियो । तर, सत्तारुढ घटकहरूले एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारलाई बलियो बनाउन आफूहरू एकजुट रहेको सन्देश दिएका छन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नेमा ढुक्क रहेको बताउँदै चारै दलले प्रदेशको राजनीतिक स्थिरताका लागि यो सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेका हुन् । जनमतको बहिर्गमनले सत्ता गठबन्धनमा हलचल पैदा गरे पनि नयाँ समीकरणको शक्ति सन्तुलनले सरकार तत्काल नढल्ने देखिएको छ ।
मुख्यमन्त्री यादवले छिट्टै प्रदेश सभाको अधिवेशन आह्वान गरी आफ्नो बहुमत प्रमाणित गर्ने तयारी थाल्नुभएको छ । मधेसको सत्ता राजनीतिमा देखिएको यो नयाँ धु्रवीकरणले प्रदेशको आगामी राजनीतिक दिशा तय गर्ने देखिन्छ ।
चार दलबीचको यो सुदृढ एकताले विपक्षी दलहरूलाई नयाँ रणनीतिका लागि दबाब सिर्जना गरेको छ भने प्रदेश सरकारको भविष्य अब केही दिनमा हुने विश्वासको मतको परीक्षणले स्पष्ट पार्नेछ ।
२७ बैशाख, काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन भोलि (सोमबार) देखि प्रारम्भ हुँदैछ ।
अधिवेशनको पहिलो दिनै राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, संविधानको धारा ९५ को प्रावधान बमोजिम राष्ट्रपति पौडेलले अपराह्न ४स्०० बजे सरकारको कार्यदिशा र प्राथमिकतासहितको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ। संसद् सचिवालयले सबै सांसदहरूलाई अपराह्न ३स्४५ बजेभित्रै संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।
अधिवेशनको औपचारिक सुरुवातका लागि संयुक्त बैठक अघि अपराह्न २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकहरू बस्नेछन् । प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ ।
साथै, सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन र प्रतिनिधिसभा नियमावली २०७९ सँग सम्बन्धित बाधा अड्काउ फुकाउ प्रस्तावहरू पनि सोही बैठकमा अनुमोदनका लागि पेस गरिनेछन् ।
बजेट अधिवेशनको पहिलो दिन नै सरकारले विभिन्न ८ वटा महत्त्वपूर्ण अध्यादेशहरू संसद्मा पेस गर्ने तयारी गरेको छ । संसद् सचिवालयका अनुसार ुसार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३’ सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश २०८३’ लगायतका अध्यादेशहरू दुवै सदनमा टेबल गरिनेछन् । नयाँ आर्थिक वर्षको बजेट निर्माण र कानुनी जटिलता फुकाउने सन्दर्भमा यो अधिवेशनलाई निकै महत्त्वका साथ हेरिएको छ ।
गण्डकी- गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घामसँगै चराचुरुङ्गीको चिरबिर । वनपाखा–देउराली, उकाली–ओरालीमा गुज्रिन्छ घान्द्रुकको चक्रीय पदमार्ग । पर्यटकीय गाउँ घान्दु्रकलाई एक फन्को मार्दा पदयात्रीहरु बिछट्टै अनुभव गर्छन् । करिब दुई घण्टाको हिँडाइमा प्रकृतिमय घान्द्रुकको आनन्द बटुल्छन् । देशविदेशका पर्यटकको मनप्रिय गन्तव्य घान्द्रुकमा नयाँ आकर्षण थप्न र आगन्तुकको बसाइ लम्बाउन चक्रीय पदमार्ग बनाइएको हो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँको बसपार्कदेखि पञ्चे, कोटगाउँ, बलाचे उद्यान, देउराली, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ब्रेज मेश्रम बराह मन्दिर, नेगो, चिया बगान, डाँडागाउँ हुँदै पुनः बसपार्क आएर पदमार्ग टुङ्गिन्छ । चक्रीय पदमार्गको ६० प्रतिशत काम सकिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए ।
समितिको पहलमा तीन वर्षअघि चक्रीय पदमार्ग निर्माण थालिएको थियो । “यस वर्ष नेपाल पर्यटन बोर्डको रु २० लाख बजेटबाट थप काम भइरहेको छ”, अध्यक्ष गुरुङले भने, “चक्रीय पदमार्ग निर्माणमा तीनवटै तहका सरकारको सहयोग छ, स्थानीय दाताहरु पनि जोडिनुभएको छ ।” घान्द्रुकको नयाँ गन्तव्यका रुपमा चक्रीय पदमार्गलाई स्थापित गर्ने र पर्यटकको बसाइ लम्बाउने उद्देश्यले पूर्वाधारका काम भइरहेको उनको भनाइ छ ।
घान्द्रुक गाउँको सिरानमाथि वनको बाटो हुँदै पदमार्ग अगाडि बढ्छ । पदमार्गका ठाउँठाउँमा उद्यान, विश्रामस्थल, चौतारी आदि निर्माण भइरहेको समितिले जनाएको छ । घान्द्रुकका पर्यटन व्यवसायी अमृत लामा गुरुङले घान्द्रुक आउने पर्यटकलाई छोटो दुरीको पदयात्रा (हाइकिङ)मा निस्कन चक्रीय पदमार्ग उत्तम रहेको बताए ।
“घान्द्रुक बास बसेका पर्यटकहरु भोलिपल्ट बिहान सूर्योदयको अवलोकनसँगै चक्रीय पदमार्ग घुम्न सक्छन्, घान्द्रुक गाउँबाटभन्दा अझ सुन्दर दुश्यालोकन पदयात्राका क्रममा गर्न सकिन्छ, प्रकृतिमा रमाउँदै पदयात्रा गर्न सकिन्छ”, उनले भने । गुरुङ समुदायको आस्थाको धरोहरका रुपमा रहेको मेस्रम बराहको मन्दिर पनि यही मार्गमा पर्ने भएकाले धर्मप्रेमीहरु पनि पदयात्रामा आकर्षित भइरहेको उनको भनाइ छ ।
पदमार्ग निर्माणमा हालसम्म झण्डै रु ५३ लाख खर्च भइसकेको समितिले जनाएको छ । स्थानीय निर्माण सामग्री प्रयोग गरेर मौलिक शैलीमा पदमार्ग बनाइएको छ । पदमार्ग क्षेत्रमा बलाचे र बुद्ध गरी दुई उद्यान निर्माण पनि अगाडि बढाइएको छ । घान्द्रुकको पर्यटनमा चक्रीय पदमार्गले नयाँ आकर्षण थपेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायले बताए ।
घान्द्रुकमा पदमार्गसहित पर्यटकीय पूर्वाधार निर्माण, सामुदायिक सशक्तीकरणलगायत क्षेत्रमा ‘एक्याप’ले सघाउँदै आएको छ । कार्यालय प्रमुख उपाध्यायले घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न आउनेमध्ये धेरै सङ्ख्यामा भारतीय पर्यटक रहेको बताए । अहिलेको याममा एकैदिनमा आठ सय ५६ जनासम्म विदेशी पर्यटक घान्द्रुकमा भित्रिएको उनको भनाइ छ ।
“पछिल्लो समय भारतीय पर्यटकको सङ्ख्या बढ्दो छ, आन्तरिक पर्यटन पनि उत्तिकै फस्टाएको छ”, उनले भने, “सडकको पहँच विस्तारले पनि घान्द्रुकमा आन्तरिक पर्यटकको आउजाउ पछिल्लो समय बढेको हो ।” चल्तीका पदमार्ग, आकर्षक गन्तव्यस्थल र व्यवस्थित पर्यटकीय पूर्वाधारका कारण यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
तीसको दशकदेखि सुरु भएको घान्द्रुकको पर्यटनमा पछिल्लो समय गाउँको मौलिकता जोगाउने चुनौती थपिएको छ । पर्यटकीय चहलपहल बढेपनि घान्द्रुकको असली पहिचान गुम्ने हो की भन्ने पिरलो स्थानीय र पर्यटनकर्मीमाझ छ । प्रकृति र संस्कृतिको सङ्गम मानिने घान्द्रुक पहिलेको जस्तो छैन । जीवनशैली फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप खल्बलिएको छ ।
सडकले पदमार्ग भत्केका छन् । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन पनि आधुनिकताको चेपुवामा परेको छ । पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ । बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको छ । पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ८० वटा होटल छन् ।
३५ वटा घरबास छन् । पर्यटक स्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन् । पर्यटन व्यवसायमा अर्बौँको लगानी छ । सयौँले रोजगारी पाएका छन् । पर्यटकीय याममा एकैदिनमा दुई तीन हजारसम्म पर्यटक त्यहाँ पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ ।
पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच/छ घण्टाको पदयात्रामा घान्द्रुक पुग्न सकिन्छ । मोटरमा पोखराबाट घान्द्रुक पुग्न दुई घण्टा लाग्छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३