२६ वैशाख,काठमाडौं ।सगरमाथा आरोहणका लागि यस वर्ष अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएका छन्। पर्यटन विभाग का अनुसार वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि ४ सय ९२ जनाले अनुमति प्राप्त गरेका छन्।
पर्यटन विभागका निर्देशक हिमाल गौतम ले यो संख्या वार्षिक तथ्यांकअनुसार हालसम्मकै उच्च रहेको जानकारी दिए।
सगरमाथा आरोहण अनुमतिबाट सरकारले वसन्तकालीन सिजनमा १ अर्ब ७ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै उच्च भएको विभागले जनाएको छ।
यसअघि सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकामा सरकारले यस वर्षदेखि बढाएर १५ हजार डलर पुर्याएको छ।
यसैबीच, चालु सिजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो निर्माण सम्पन्न भएको छ। डोरी टाँग्दै मार्ग खुलाउने जिम्मा पाएको अनुभवी आरोही टोली चौथो शिविरसम्म पुगेको निर्देशक गौतमले बताए।
सगरमाथा आरोहणका क्रममा चौथो शिविरसम्म विभिन्न क्याम्प स्थापना गरिन्छ। अब मौसम अनुकूल भएपछि शिखरसम्मको बाटो खुलाइने पर्यटन विभागले जनाएको छ।
विभागका अनुसार यस वर्षको वसन्तकालीन आरोहणका लागि नेपालका ३० वटा हिमालमा गरी १ हजार १ सय ३४ जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले १ अर्ब २४ करोड ४१ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ।
२६ वैशाख,वीरगञ्ज । पर्सागढी नगरपालिका–स्थित बढनियारमा दोस्रो सातासम्म ‘घरदैलोमा डाक्टर’ कार्यक्रम सञ्चालन गरिएको छ। प्रभु हस्पिटल को सहकार्य तथा जुनतारा बचत सहकारी संस्था को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमअन्तर्गत १९० महिला र ६० पुरुष गरी कुल २५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण, सुगर जाँच तथा निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ।
आर्थिक अवस्था कमजोर तथा अस्पतालसम्म पुग्न कठिनाइ भएका बिरामीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा र परामर्श उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।
स्थानीय बलिराम शुक्ला को समन्वय तथा सहकारीकी अध्यक्ष मन्जु क्षेत्री को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रभु हस्पिटलकी सञ्चालिका एवं स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।
कार्यक्रममा वरिष्ठ फिजिसियन डा. रवि रन्जन साह ले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए।
पत्रकार तथा सामाजिक अभियान्ता बलिराम शुक्लाले आगामी दिनमा पनि यस्ता सेवा–मुखी कार्यक्रमलाई निरन्तरता दिन सहकार्य गर्ने बताए।
कार्यक्रम प्रमुख दिलीप राज कार्की ले अस्पताल केवल व्यवसायिक नभई सेवामुखी बन्नुपर्ने धारणासहित यस्ता कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा पनि जारी रहने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष मन्जु क्षेत्रीले दुर्गम तथा विकट क्षेत्रमा स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक सहयोग र समन्वय गर्ने बताइन्।
डा. लक्ष्मी थापाले दीर्घरोगी, ज्येष्ठ नागरिक तथा महिला रोगका गम्भीर बिरामीलाई आगामी उपचारमा अस्पतालले थप सहयोग र सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाइन्। साथै प्रभु हस्पिटलले आगामी हप्ताहरूमा अन्य दुर्गम तथा पिछडिएका क्षेत्रमा पनि यस्ता घरदैलो स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिइन्।
२६ वैशाख, धनगढी । गगनकुमार थापा ले नेपाली कांग्रेसका आधिकारिक सदस्यले पार्टीको चुनाव चिन्ह ‘रूख’ बाहेक अन्य चिन्हमा मतदान गर्न नपाइने बताएका छन्।
कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले उम्मेदवार मन नपरेको भन्दै अन्य दललाई मतदान गर्नु पार्टी अनुशासनविपरीत हुने बताएका हुन्।
“नेपाली कांग्रेसको क्रियाशील सदस्य हुने, पार्टीका तर्फबाट सांसद, मन्त्री वा स्थानीय तहमा जिम्मेवारी लिने तर चुनावमा अर्को चिन्हमा मतदान गरेँ भन्न पाइँदैन,” थापाले भने, “त्यसको कुनै तर्क हुँदैन, पाइँदै पाइँदैन। मेरो शब्दकोशमा त्यो छैन।”
उनले आफू कांग्रेसको कार्यकर्ताले चुनावको दिनमा रूख चिन्हबाहेक अन्य चिन्हबारे सोच्न पनि नसक्ने संस्कारमा हुर्किएको उल्लेख गर्दै अहिले पनि त्यही मान्यता कायम रहेको बताए।
सभापति थापाले २१ फागुनको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने जिम्मेवार नेतामाथि पनि कारबाही हुने संकेत गरेका छन्।
“जसले पार्टीको जिम्मेवारीमा बसेर पार्टीका उम्मेदवारलाई असहयोग गर्नुभयो, उहाँहरूलाई केही समयका लागि जिम्मेवारीबाट बाहिर राख्नै पर्छ,” उनले भने, “यसमा कुनै इफ–बट हुँदैन।”
२६ वैशाख,काठमाडौं । भारतको पश्चिम बङ्गालमा शुभेन्दु अधिकारी ले मुख्यमन्त्री पदको शपथ लिएका छन्। कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा आयोजित समारोहमा पश्चिम बङ्गालका राज्यपाल आर.एन रवि ले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
अधिकारीसँगै पाँच जना मन्त्रीले पनि शपथ लिएका छन्।
भारतीय जनता पार्टी ले पश्चिम बङ्गालमा स्थापना भएको ४६ वर्षपछि पहिलो पटक सरकार गठन गरेको हो। यसअघि तृणमूल कंग्रेस ले वामपन्थी दलको सत्ता समाप्त गर्दै लगातार १५ वर्ष शासन गरेको थियो।
२ सय ९४ सदस्यीय पश्चिम बङ्गाल विधानसभामा यसपटक भाजपाले २ सय ७ सिट जित्दै दुईतिहाइ बहुमतसहित सरकार बनाएको छ। तृणमूल कंग्रेसले भने ८० सिटमा सीमित हुनुपरेको छ।
निर्वाचन परिणामपछि पूर्व मुख्यमन्त्री ममता बनर्जी ले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन अस्वीकार गरेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको बताइएको छ।
यसअघि ममता बनर्जीका निकट सहयोगी रहेका शुभेन्दु अधिकारी सन् २०२१ मा भाजपा प्रवेश गरेका थिए। यसपटक निर्वाचनमा ममता बनर्जीलाई नै पराजित गरेपछि उनको राजनीतिक प्रभाव अझ मजबुत बनेको विश्लेषण गरिएको छ।
मुख्यमन्त्री नियुक्तिपछि आयोजित शपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका थिए। त्यसअघि गृहमन्त्री अमित शाह को उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले अधिकारीलाई दलको नेता चयन गरेको थियो।
२६ वैशाख,काठमाडौं । तामिलनाडु विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भएसँगै राज्यमा नयाँ सरकार गठनको राजनीतिक दौड तीव्र बनेको छ। सबैभन्दा ठूलो दल बनेको तमिलगा वेत्री कझगम का प्रमुख जोसेफ विजय लाई सरकार गठनका लागि अझै दुई विधायकको समर्थन आवश्यक परेको छ।
२३४ सदस्यीय तामिलनाडु विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक पर्नेमा टीभीकेले १०८ सिट जितेको छ। विजयलाई भारतीय राष्ट्रिय कांग्रेस का ५, भारतीय कम्युनिस्ट पार्टी का २ तथा मार्क्सवादी कम्युनिस्ट पार्टी का १ विधायकको समर्थन प्राप्त भएको बताइएको छ। यससँगै उनको पक्षमा ११६ विधायक पुगेका छन्।
यस्तो अवस्थामा दुई सिट जितेको विदुथलाई चिरुथैगल काची सरकार गठनको समीकरणमा निर्णायक बनेको छ। भीसीकेले समर्थनको बदलामा सरकारमा अर्थपूर्ण सहभागिता खोजेको जनाएको छ।
पार्टीका महासचिव डी. रविकुमार का अनुसार जिम्मेवारीबिनाको समर्थन प्रभावकारी नहुने भन्दै सरकारमा प्रत्यक्ष सहभागिताको संकेत गरिएको छ। भीसीकेले आफ्ना नेता थोल थिरुमावलवन लाई उपमुख्यमन्त्री बनाउन माग गरेको जनाइएको छ।
त्यस्तै आगामी निर्वाचनका लागि चिदम्बरम लोकसभा सिटमा समेत आफ्नो दाबी सुरक्षित गर्न भीसीकेले माग राखेको बताइएको छ।
अभिनेताबाट राजनीतिमा आएका विजयले दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका छन्। उनले ‘तिरुची पूर्व’ सिट छाड्न सक्ने चर्चा चलिरहेका बेला भीसीकेले उक्त क्षेत्रमा पनि आफ्नो दाबी प्रस्तुत गरेको छ।
यसबीच विजयले राज्यपाल राजेन्द्र अर्लेकर लाई भेटेर ११६ विधायकको समर्थनपत्र बुझाइसकेका छन्। तर, बहुमत नपुगेसम्म सरकार गठनका लागि औपचारिक आह्वान हुने सम्भावना कम रहेको बताइएको छ।
यदि टीभीके र भीसीकेबीच सहमति जुट्न नसके राज्यमा संवैधानिक जटिलता उत्पन्न हुन सक्ने विश्लेषण गरिएको छ। यस्तो अवस्थामा विधानसभा भंग वा राष्ट्रपति शासनको सिफारिससम्मको अवस्था आउन सक्ने चर्चा भइरहेको छ।
- सुदूरपश्चिममा कांग्रेसको प्रदेश भेला सुरु, डेढ मिनेटमै सकियो आसन ग्रहण
- सुदूरपश्चिममा कांग्रेसको प्रदेश भेला सुरु, डेढ मिनेटमै सकियो आसन ग्रहण
- सुदूरपश्चिममा कांग्रेसको प्रदेश भेला सुरु, डेढ मिनेटमै सकियो आसन ग्रहण
- ‘हामी माओवादीलाई निल्छौं’: पूर्व प्रहरी महानिरीक्षक साहले सुनाए वामदेवसँगको पुरानो राजनीतिक संवाद
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३