२७ बैशाख, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल मैदान नजिकै आइतबार बिहान दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् ।
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट काँकडभिट्टाका लागि गुडेको बा.प्र.०१–००६ ख ५२३७ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो। तीव्र गतिको प्रतिस्पर्धाका कारण भएको उक्त टक्करपछि दुवै बस सडकमै पल्टिएका थिए ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार दुई बसमा गरी कूल ३३ यात्रु सवार रहेकोमा ५२३७ नम्बरको बसमा रहेका यात्रीहरू बढी चोटपटकको शिकार भएका छन् ।
घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धनुषाको लालगढस्थित मोडल अस्पताल लगिएको छ। दुर्घटनामा संलग्न मध्ये ५२३७ नम्बरको बसलाई प्रहरी चौकी लालगढले नियन्त्रणमा लिएको छ भने सामान्य क्षति पुगेको अर्को बसलाई आवश्यक प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
सडकमा गुडिरहेका सवारी साधनबीचको अस्वस्थ प्रतिस्पर्धा र ओभरटेक गर्ने हतारोका कारण यो जोखिमपूर्ण दुर्घटना निम्तिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
२७ बैशाख, काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको पछिल्लो स्थलगत निरीक्षणले सहकारी क्षेत्रभित्र व्याप्त गम्भीर साङ्गठनिक र वित्तीय विचलनलाई सतहमा ल्याइदिएको छ ।
प्राधिकरणले गरेको ठूला सहकारीहरूको सुपरीवेक्षणका क्रममा धेरैजसो संस्थाहरूले धितोको वास्तविक मूल्याङ्कन नै नगरी केवल सामान्य कागजका आधारमा मोटो रकम कर्जा प्रवाह गर्ने गरेको भेटिएको हो ।
अझ उदेकलाग्दो तथ्य त के छ भने, ऋण उठाउन नसकेर ‘डिफल्ट’ भइसकेका पुराना कर्जाहरूलाई समेत बिना असुली नवीकरण गर्ने र खराब कर्जा बापत छुट्याउनुपर्ने ‘नोक्सानी व्यवस्था’ (लोन लस प्रोभिजन) समेत नगरेर वित्तीय विवरणलाई कृत्रिम रूपमा राम्रो देखाउने गरिएको प्रतिवेदनले औँल्याएको छ ।
सहकारी संस्थाहरू व्यावसायिक हुनुको सट्टा ‘पारिवारिक घेरा’ भित्र सीमित हुनु नै मुख्य समस्याको जड देखिएको छ । प्राधिकरणका अनुसार धेरैजसो ठूला सहकारीको उच्च व्यवस्थापन, ऋण समिति र धितो मूल्याङ्कन इकाईमा एउटै परिवारका सदस्यहरू हाबी छन् ।
जसका कारण सञ्चालकहरूले कानुनको धज्जी उडाउँदै आफ्ना निकटका व्यक्तिहरूलाई बिना मापदण्ड कर्जा बाँड्ने र संस्थाको स्रोतमाथि एकलौटी नियन्त्रण जमाउने गरेका छन् । प्राधिकरणको सञ्चालक समितिले यो प्रतिवेदन कार्यान्वयनका लागि कार्यकारी निर्देशकलाई निर्देशन दिइसकेको छ, जसमा लेखापरीक्षक (अडिटर) हरूले समेत सत्यतथ्य लुकाएर गलत विवरणलाई प्रमाणीकरण गरी बेथितिमा साथ दिएको उल्लेख छ ।
प्राधिकरणले हाल दोस्रो चरणको अनुगमन अन्तर्गत सञ्चालनमा रहेका सातवटा ठूला सहकारी र सम्पत्ति शुद्धीकरणको पाटोबाट थप दुईवटा संस्थाको सूक्ष्म अध्ययन गरिरहेको छ । यस क्रममा प्रत्येक संस्थाका १०० जना ठूला ऋणी र १०० जना ठूला बचतकर्ताको विवरण संकलन गरी तथ्याङ्क विश्लेषणको काम भइरहेको छ ।
यद्यपि, खराब देखिएका संस्थाको नाम सार्वजनिक गर्दा बचतकर्ताहरूमा त्रास फैलिएर झन् ठुलो वित्तीय सङ्कट आउन सक्ने भन्दै प्राधिकरणले नाम गोप्य राखेको छ । सहकारी क्षेत्रको छवि सुधार्न अडिटरहरू इमानदार हुनुपर्ने र सञ्चालकहरूले कानुनी सीमाभित्र बसेर स्व(घोषणा गर्नुपर्नेमा प्राधिकरणले जोड दिएको छ ।
२७ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर भइरहेका आलोचनाप्रति कडा प्रतिवाद गर्दै न्यायिक नेतृत्वलाई खुला चुनौती दिनुभएको छ ।
शनिबार कानुन दिवसको अवसरमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले व्यक्त गरेको धारणाप्रति लक्षित गर्दै लामिछानेले आफूमाथिको रिस न्यायपालिकाको क्षेत्राधिकार र संवैधानिक प्रक्रियामा नपोख्न आग्रह गर्नुभयो । पार्टीका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘यदि मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार, तर अदालतले यसलाई हाँसोको विषय नबनाओस् ।’
प्रधानन्यायाधीश सिफारिसमा स्थापित परम्परा र संविधान मिचिएको भनी भइरहेका टिकाटिप्पणीको जवाफ दिँदै लामिछानेले संवैधानिक परिषद्को भूमिकालाई तर्कसंगत रहेको दाबी गर्नुभयो ।
६ जनाको नाम सिफारिस हुनुलाई असंवैधानिक भनिएकोमा आपत्ति जनाउँदै उहाँले वरिष्ठताकै आधारमा मात्र हुने भए संवैधानिक परिषद्को आवश्यकता नै नपर्ने उल्लेख गर्नुभयो । ‘हामीले वर्षौँदेखि चल्दै आएको भागबन्डाको परम्परालाई भत्काएका हौँ,’ लामिछानेले भन्नुभयो, ‘यदि पुरानै परम्परा जीवित रहेको भए आज प्रधानन्यायाधीश को बन्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच भागबन्डाको निकृष्ट छलफल चलिरहेको हुन्थ्यो ।’
आफ्नो सम्बोधनका क्रममा लामिछानेले न्याय प्रणाली आम नागरिकप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै ‘कागजी न्याय’ बाट जनताले मुक्ति पाउनुपर्ने धारणा राख्नुभयो । उहाँले न्यायालयले कुनै शक्ति वा प्रभावमा नपरी काम गर्नुपर्ने र नागरिकलाई कसरी छिटो न्याय दिन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।
प्रधानन्यायाधीश सिफारिसको विवादलाई लिएर रास्वपामाथि भइरहेका प्रहारहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै उहाँले नयाँ शक्तिले पुराना र गलत पद्धति सुधार्दा यस्ता अवरोधहरू आउनु स्वाभाविक भएको तर्क गर्नुभयो ।
२७ बैशाख, काठमाडौं । पाकिस्तानको अशान्त खैबर पख्तुनख्वा प्रान्तमा आतंककारीहरूले एक प्रहरी चौकीलाई निशाना बनाउँदै भीषण आत्मघाती आक्रमण गरेका छन् ।
बन्नु सहरको बाहिरी इलाकामा रहेको फतेह खेल प्रहरी चौकीमा विस्फोटक पदार्थ भरिएको गाडी ठोक्काएर गरिएको उक्त आत्मघाती हमला र त्यसपछिको अन्धाधुन्ध गोली प्रहारमा परी १५ जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । बन्नु मेडिकल एण्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृतकको सङ्ख्या पुष्टि गर्दै ज्यान गुमाउने सबै सुरक्षा निकायका सदस्य रहेको जानकारी दिनुभएको छ ।
घटनाको प्रकृति निकै भयानक रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् । विस्फोटक पदार्थ बोकेको गाडी चौकीको भवनमा ठोक्काइएपछि शक्तिशाली विष्फोट भएको र त्यसलगत्तै अत्याधुनिक हतियारसहित आएका कट्टरपन्थी समूहका सदस्यहरू भवनभित्र प्रवेश गरी बाँचेका प्रहरीहरूमाथि गोली बर्साएका थिए। विष्फोटका कारण चौकीको भवन पूर्ण रूपमा ध्वस्त भएको छ । बन्नु रेन्ज प्रहरी अधिकारी सज्जाद खानको कार्यालयका अनुसार भग्नावशेषबाट १२ जनाको शव निकालिएको थियो भने अस्पताल लैजाने क्रममा र उपचारका क्रममा थप ३ जनाको मृत्यु भएको हो ।
भग्नावशेष पन्छाउन एक्सभेटरको प्रयोग गरिएको छ भने उद्धार गरिएका अन्य तीन जना घाइतेहरूको अवस्था हाल खतरामुक्त रहेको बताइएको छ । खैबर पख्तुनख्वामा पछिल्लो समय सुरक्षाकर्मीमाथि हुने यस्ता लक्षित आक्रमणहरूमा तीव्रता आएको छ, जसले पाकिस्तानको आन्तरिक सुरक्षा संयन्त्रमाथि ठुलो प्रश्नचिन्ह खडा गरिदिएको छ ।
हालसम्म कुनै पनि समूहले यस विष्फोट र हत्याकाण्डको औपचारिक जिम्मेवारी नलिए पनि यस क्षेत्रमा सक्रिय चरमपन्थी समूहहरूकै हात रहेको सुरक्षा निकायको प्रारम्भिक अनुमान छ ।
२७ वैशाख, काठमाडौं । ई–बिडिङ प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वलिक कार्यालयले जिल्ला अदालतमा काठमाडौंमा २२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
मुद्दा दायर भएका प्रतिवादीहरूमा शहरी तथा भवन निर्माण आयोजना धनकुटा शाखामा कार्यरत कम्युटर अपरेटर ३३ वर्षीय दिवाकर देउजा, बझाङको दुर्गाथली गाउँपालिका–३ का २५ वर्षीय भरत धामी, तनहुँको बन्दीपुर घर भएका थुम्का निर्माण सेवा प्रालिका सञ्चालक ३९ वर्षीय सञ्जय भट्ट, कटुवाल कन्स्ट्रक्शन र शिवओम सप्लायर्सका सञ्चालक ४० वर्षीय सागर कटुवाल, काठमाडौंका ३५ वर्षीय भाष्कर कटुवाल छन् ।
त्यसैगरी गीताञ्जली कन्स्ट्रक्सन दुवहीका सञ्चालक ६२ वर्षीय जीवनकुमार दास, शिभांश निर्माण सेवाका सञ्चालक ३९ वर्षीय अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सनका सञ्चालक ६४ वर्षीय टंककुमार श्रेष्ठ, चपुर निर्माण सेवाका सञ्चालक ३२ वर्षीय अमृत बोहोरा, कालिका कन्स्ट्रक्सनका सञ्चालक ७४ वर्षीय विक्रम पाण्डे, आइकोन प्रालिका सञ्चालक ३० वर्षीय स्वदेश पोखरेल छन् ।
कल्पवृक्ष विल्डर्सका सञ्चालक प्रकाश ढुंगाना, आशिष निर्माण सेवाका सञ्चालक ऋषिकेश गौली, केबीके कन्स्ट्रक्सनका सञ्चालक राहुलजंग कार्की, मान कन्स्ट्रक्सनका सञ्चालक नारायणप्रसाद सिटिखु, रेमिट इन्फास्ट्रक्चरका सञ्चालक इन्द्रबहादुर बोहोरा, एसके कन्स्ट्रक्सनका सञ्चालक शान्तकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ ।
दक्षिणकाली अल ओभरका सञ्चालक निरञ्जन खनाल, नन्दी कन्स्ट्रक्सनका कृष्णबहादुर खत्री, आशिष निर्माणका प्रोक्युरमेन्ट ज्योति सुवेदी, चपुर निर्माण र कल्पवृक्षका सञ्चालक सरोज दाहाल र राइजिङ पिकका सञ्चालक सुजन अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध विद्युतीय माध्यमबाट अनधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्रा अर्थात क्रिप्टो कारोबार समेत कसुर लगाइएको छ ।
सीआईबीले यो प्रकरणमा सुरुमा कम्युटर अपरेटर देउजालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । सीआईबीले उनलाई २८ फागुनमा पक्राउ गरेको थियो । सुरुमा देउजालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अलिहेसम्म यो प्रकरणमा १३ जना छन् । बाँकीलाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गमर्भेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी परेको थियो ।
ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्ट परिवर्तन हुने गरेको बताइएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा यो ठूलो संगठित अपराध रहेको खुलेपछि यसको अनुसन्धान साइबर ब्युरोभन्दा माथिल्लो निकाय सीआईबीले सुरु गरेको थियो ।
कर्मचारी देउजाले बोलपत्रको अन्तिम समय सकिएपछि अनधिकृत रूपमा पहुँच पुर्याएर सबैको विवरण हेर्ने र आफ्नो बोलपत्र प्रस्ताव स्वीकृत गर्न संशोधन गरी सबैभन्दा कम मूल्य राख्ने र टेन्डर हात पार्ने गरेको अनुसन्धानबाट देखिएको एक अधिकारीले बताए ।
यसका लागि ठेकेदार कम्पनीहरूसँग सम्पर्क गर्ने र बार्गेनिङ गरेर रकममा कुरा मिलेपछि अनलाइन बोलपत्रमा पहुँच पुर्याएर विवरण संशोधन गर्दै ठेक्का हत्याउने गरेको सीआईबीको भनाइ छ । यसका मुख्य नाइके नै देउजा रहेको प्रहरीले बताएको छ ।
देउजाले प्राग्रामिङ, क्लाउड सर्भर र पीएचपी प्रयोग गरी आईएमएस सर्भर ह्याक गर्ने र ब्याकडोर सिर्जना गर्ने मुख्य काम गरेको सीआईबीले बताएको छ । उनले सञ्चालक व्यवस्थापकको रूपमा जीवन लिम्बु नक्कली पात्र खडा गरी ठेकेदारहरूसँग ह्वाट्स एपममा सम्पर्क गर्ने, इमेलमार्फत बार्गेनिङ गर्ने र ठेक्का मिलाइदिने प्रलोभन देखाएको पाइएको छ ।
अर्का प्रतिवादी भाष्करराज अर्याल पनि कम्युटर इन्जिनियर रहेको र उनले बिटक्वाइनमार्फत कारोबारका लागि अमेरिकामा बसेका साथीमार्फत भुक्तानी गर्ने र नेपालमा नगदमा मिलान गर्ने गरेको प्रहरीले बताएको छ ।
यो प्रकरणमा जोडिएका मुख्य व्यक्ति देउजा यसअघि ३१ असार २०७७ पक्राउ परेका थिए । त्यतिबेला नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टम ह्याक गरी प्याकेज प्रयोग तथा बिक्री गरेर टेलिकमको राजस्व तथा व्यावसायिक छविमा गम्भीर क्षति पुर्याएको भन्दै देउजालाई सीआईबीले पक्राउ गरेको थियो ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३