KATHMANDU WEATHER
Horizontal Scroll Menu

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२७ वैशाख, काठमाडौं । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा रहेको छ । अमेरिकी डलर र युरोपियन युरोको विनिमयदर शनिबार पनि आजकै जति थियो ।

त्यसैगरी आजको युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०६ रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

 

 

 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १८ पैसा र बिक्रीदर २२ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २२ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७६ पैसा र बिक्रीदर २३ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

 

 

 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २९ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेपाल वेयरहाउजिङ गोदामको अन्न धितोमा किसान र व्यापारीले ऋण पाउने

२७ वैशाख, काठमाडौं । नेपाल वेयर हाउजिङको गोदाममा भएको अन्नलाई धितो मानेर अब किसानले बैंकबाट ऋण पाउने भएका छन् ।

नेपाल वेयरहाउजिङ कम्पनीले लक्ष्मी सनराइज बैंकसँग सहकार्य गरी गोदाममा भण्डारण गरिएको अन्नलाई मात्र धितो मानी कर्जा प्रवाह गर्ने व्यवस्था सुरु भएको छ।

 

 

 

बैंकले शारदा छिन्नमस्ता ट्रेडर्सको पहिलो कर्जा स्वीकृत गरेसँगै गोदाममा भण्डारण गरिएको अन्नलाई मात्र धितो मानेर गोदामघर रसिदमार्फत कर्जा प्रवाह गर्ने कार्य सुरु गरिएको नेपाल वेयर हाउजिङका महाप्रबन्धक नरेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

‘विकसित देशहरूमा यस्तो किसिमको कर्जा व्यवस्था सामान्य हो’ उनले भने ‘नेपालमा भने पब्लिक वेयरहाउसको अवधारणाअनुरूप वाणिज्य बैंकबाटै कर्जा प्रवाहको व्यवस्था गरिएको यो पहिलो पटक हो।’

 

 

 

यसअघि सानो स्तरमा सहकारी र एनजीओ तथा आईएनजीओको सहयोगमा यस्ता प्रयास भएको उनले बताए ।

उनका अनुसार धितोमा रहेको अन्नको व्यवस्थापन (कोल्याटरल म्यानेजमेन्ट) को काम नेपाल वेयरहाउजिङले गर्नेछ भने सो अन्नलाई धितो मानेर कर्जा प्रवाह गर्ने काम लक्ष्मी सनराइज बैंकले गर्नेछ ।

यस्तो किसिमको कर्जा प्रवाहलाई वेयरहाउस रिसिप्ट फाइनान्सिङ भनिन्छ। नेपालमा नीतिगत रूपमा यसको स्पष्ट व्यवस्था भने नरहेको भट्टले बताए । ‘नीतिगत रूपमा यसको व्यवस्था भएमा वेयर हाउस रिसिप्ट फाइनान्सिङ थप सुलभ र सहज रूपमा प्रवाह गर्न सकिन्छ’ उनले भने ।

यसले कृषि क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उनले बताए । ‘यो अभ्यासले किसान तथा साना व्यापारीलाई विशेष लाभ पुर्‍याउने छ’ उनले भने ।

नेपालमा बाली उत्पादनको समयमा बजारमा अन्नको आपूर्ति अत्यधिक हुने र त्यसले मूल्य घट्ने जोखिम रहने गरेको छ। जसकारण किसान तथा साना व्यापारीले कम मूल्यमा अन्न बेच्नुपर्ने बाध्यता रहँदै आएको छ।

‘गोदामघर रसिदमार्फत कर्जा प्रवाह भएसँगै किसानले आफ्नो उत्पादन तुरुन्त बेच्नुपर्ने दबाब कम हुने अपेक्षा गरिएको छ’ भट्टले भने ‘उनीहरूले नेपाल वेयरहाउजिङ कम्पनीको गोदाममा अन्न भण्डारण गरेर बैंकबाट कर्जा लिन सक्नेछन् र बजारमा उचित मूल्य प्राप्त भएपछि मात्र अन्न बिक्री गर्न सक्नेछन्।’

किसानबाट सिधा अन्न खरिद गर्ने साना व्यापारीले पनि यस्तो कर्जा उपयोग गर्न सक्नेछन् ।

‘हाल साना व्यापारीसँग पूँजी अभावका कारण किसानबाट अन्न किन्नेबित्तिकै ठूला व्यापारीलाई बिक्री गर्नुपर्ने अवस्था छ’ उनले भने ‘यस किसिमको कर्जाले विशेषगरी साना व्यापारीलाई ठूलो राहत दिने देखिन्छ, जसको सकारात्मक प्रभाव किसानसम्म पनि पुग्ने अपेक्षा गरिएको छ।’

 

कसरी प्रवाह हुन्छ कर्जा ?

यस कर्जा सुविधा अन्तर्गत ग्राहकले सुरुमा नेपाल वेयरहाउसिङ कम्पनी सँग भण्डारण गर्ने अन्नको परिमाणबारे सम्झौता गर्नुपर्दछ । त्यसपछि आवश्यक कागजातसहित बैंकमा गई कर्जाको स्वीकृति लिनुपर्छ।

जब अन्न वेयरहाउसको साइलोमा भण्डारण गरिन्छ त्यसकै आधारमा नेपाल वेयरहाउजिङ कम्पनीले गोदामघर रसिद जारी गर्छ। यही रसिदलाई धितो मानी लक्ष्मी सनराइज बैंकले भण्डारण गरिएको अन्नको बजार मूल्यको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउँछ।

ग्राहकले अन्न बिक्री गर्न चाहेमा पहिले कर्जा चुक्ता गर्नुपर्छ। त्यसपछि बैंकले धितो फुकुवा गर्न वेयरहाउसलाई जानकारी दिएपछि मात्र अन्न निकाल्न वा बिक्री गर्न पाइन्छ। यसमा किस्ताबन्दीमा कर्जा लिन तथा तिर्न सकिने सुविधा पनि रहेको बैंकले जनाएको छ ।

यदि १ हजार मेट्रिक टन अन्न भण्डारण गर्ने सर्तमा १ करोड रुपैयाँ कर्जा स्वीकृत भएको छ भने ५ सय मेट्रिक टन भण्डारण गर्दा ५० लाख रुपैयाँ बैंकबाट निकासा हुन्छ। बाँकी ५ सय मेट्रिक टन थप भण्डारण गरेपछि थप ५० लाख रुपैयाँ प्राप्त गर्न सकिन्छ। त्यसैगरी, आधा कर्जा चुक्ता गरेपछि भण्डारण गरिएको आधा अन्न बिक्री वा निकासीका लागि फुकुवा गर्न समेत सकिन्छ।

हालका लागि व्यक्तिगत ग्राहकलाई अधिकतम १५ लाख रुपैयाँ र संस्थागत ग्राहकलाई २ करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्ने व्यवस्था भएको छ। भविष्यमा यसको प्रयोग र प्रभावकारिताका आधारमा कर्जाको सीमा बढाउने योजना रहेको भट्टले बताए ।

स्पष्ट नीतिको अभाव 

विश्वका विभिन्न देशमा वेयरहाउस रिसिप्टमार्फत कर्जा प्रवाह नीतिगत रूपमा व्यवस्थित भइसकेको भए पनि नेपालमा यससम्बन्धी स्पष्ट नीति अभाव छ। हालको लागि बैंकले यसलाई चालु पूँजी कर्जाको मापदण्डभित्र राखेर कार्यान्वयन गरिरहेको छ, जसले गर्दा प्रक्रिया केही जटिल बन्न पुगेको छ।

‘यस्तो कर्जा सेयर धितो कर्जाजस्तै सरल हुनुपर्ने भए पनि नीतिगत अस्पष्टताका कारण अनावश्यक प्रक्रिया अपनाउनुपर्ने अवस्था छ’ उनले भने ‘जसले ग्राहकलाई सरल र सहज रूपमा कर्जा प्रवाह गर्न कठिनाई भएको छ। ’

यदि नेपाल राष्ट्र बैंकले यससम्बन्धी स्पष्ट नीतिगत व्यवस्था गरिदिएमा कर्जा प्रवाह अझ सहज हुने, किसान तथा साना व्यापारीले उचित मूल्य नपुग्दासम्म अन्न बिक्री गर्नुपर्ने बाध्यता हट्ने र बैंकिङ प्रणालीमा समेत कर्जा प्रवाहको नयाँ आयाम थपिने उनको भनाइ छ ।

धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालनको अनुमति प्रदान गर्न सकेमा नेपालमा नियमनसहितको कमोडिटी बजार सञ्चालनमा आउने छ । नेपाल वेयरहाउजिङ कम्पनी पनि कमोडिटी बजारको एक अभिन्न अंग हो । यद्यपि कमोडिटी बजार सञ्चालन अनुमति प्रक्रियामै रहेकाले हालसम्म प्रत्यक्ष रूपमा आबद्ध हुन सकेको छैन ।

कमोडिटी बजार सञ्चालनमा आएपछि ग्राहकहरूले खरिद–बिक्री गरेको वस्तुको भौतिक हस्तान्तरण गरी सेटलमेन्ट गर्न चाहेमा गोदामघर रसिद प्रणाली आवश्यक पर्नेछ ।

यस्तो अवस्थामा विक्रेताले गोदामघर रसिद खरिदकर्तालाई हस्तान्तरण गर्नेछ भने खरिदकर्ताले उक्त रसिदमार्फत वस्तुलाई गोदाममै सुरक्षित राख्ने वा वस्तुको भुक्तानी लिने भन्ने निर्णय गर्न सक्नेछ ।

साउथ स्टार विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको शपथ

चेन्नई । दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ विजयले आइतबार तमिलनाडु राज्यको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।

समारोहमा उनको परिवारका सदस्य, राजनीतिक नेताहरू, कलाकार तथा समर्थकको ठूलो उपस्थिति रहेको थियो । यससँगै तमिलनाडुले करिब ६ दशकपछि डीएमके र एआईएडीएमके बाहिरको नयाँ सरकार पाएको छ ।

 

 

 

५१ वर्षीय विजयले स्थापना गरेको दल टिभिकेले दुई वर्षमै प्रदेशको राजनीतिमा ठूलो सफलता हात पारेको छ । गएको महिना सम्पन्न प्रदेशसभा निर्वाचनमा २३४ सिटमध्ये १०८ सिट जित्दै पार्टीले बलियो प्रवेश गरेको थियो ।

यद्यपि, एकल बहुमतका लागि आवश्यक ११८ सिट भने पुग्न सकेको थिएन । त्यसपछि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी, माक्र्सवादी कम्युनिस्ट पार्टीलगायत दलहरूको समर्थन जुटाएर विजयले सरकार गठनको बाटो खोलेका हुन् ।

 

 

 

विजयसँगै नौ जना मन्त्रीहरूले पनि शपथ लिएका छन् । उनीहरूमध्ये एआईएडीएमकेबाट निष्कासित भएपछि टिभिकेमा प्रवेश गरेका के ए सेनगोट्टैयन, विजयका विश्वासपात्र मानिने आधव अर्जुना, पूर्व भाजपा नेता सीटीआर निर्मलकुमार, पार्टी महासचिव ‘बुसी’ आनन्द, कलाकार राजमोहन, चिकित्सकबाट राजनीतिमा आएका केटी प्रभु, पूर्व राजस्व सेवा अधिकारी अरुणराज, मायलापुरका विधायक पी. वेंकटरामनन तथा २८ वर्षीया एस कीर्तनालाई समेटिएको छ ।

कीर्तना मन्त्रिपरिषद्की सबैभन्दा कान्छी सदस्य बनेकी छन् ।

सन् १९७४ जुन २२ मा चेन्नईमा जन्मिएका विजयले बालकलाकारका रूपमा चलचित्र यात्राको सुरुआत गरेका थिए । पछि ‘थुप्पाक्की’, ‘कथ्थी’, ‘मर्सल’, ‘बिगिल’ र ‘लियो’ जस्ता सफल चलचित्र दिएपछि उनी दक्षिण भारतका लोकप्रिय अभिनेतामध्ये एक बने । सन् २०२४ मा फिल्म क्षेत्र छाडेर राजनीतिमा प्रवेश गरेका विजयले छोटो समयमै सत्ता नेतृत्वसम्मको यात्रा तय गरेका छन् ।

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

२७ वैशाख, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ ।

राजदूतावास परिसरमा आयोजित कार्यक्रममा युएईका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकको सहभागिता थियो । कार्यक्रममा राजदूतावासका श्रम सहचारी पङ्कज लामिछानेले श्रमिकका हकअधिकार र सुरक्षासम्बन्धी विषयमा प्रस्तुति दिएका थिए।

 

 

 

उनले कम्पनीमा काम गर्दा पालना गर्नुपर्ने नियम, वैदेशिक रोजगारीका क्रममा अपनाउनुपर्ने सावधानी, श्रम स्वीकृति नवीकरण, सामाजिक सुरक्षा कोषको प्रयोग तथा नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि उपलब्ध गराएका सुविधाबारे जानकारी गराएका थिए ।

साथै राहदानी, इमिरेट्स आइडी, श्रमिकको परिचयपत्रलगायत व्यक्तिगत कागजात सुरक्षित राख्न र साइबर अपराध तथा आर्थिक ठगीबाट जोगिन सचेत रहन आग्रह गरे ।

 

 

 

कार्यक्रममा विदेशमा हुने खोजतलास, उद्धार, व्यवस्थापन, क्षतिपूर्ति तथा श्रमिक सहायतासम्बन्धी निवेदन नेपाल सरकारको कन्सुलर सेवा विभागद्वारा सञ्चालित अनलाइन प्रणालीमार्फत दर्ता गर्न सकिने जानकारी दिइएको थियो ।

राजदूतावासका तृतीय सचिव विमलेशकुमार मिश्रले राहदानी तथा कन्सुलर सेवासम्बन्धी जानकारी दिएका थिए । कार्यक्रममा सहभागी श्रमिकले यस्ता सचेतनामूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

सहभागीले न्यूनतम पारिश्रमिक, श्रम मापदण्डको पालना तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको श्रम, सीप र योगदानको सम्मान तथा संरक्षणका लागि नेपाल सरकारले थप पहल गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा दैनिक जीवन र कार्यस्थलमा हुने आकस्मिक घटनामा प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा ‘फर्स्ट एड’ सम्बन्धी व्यावहारिक जानकारीसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहित राजदूतावासका कूटनीतिक कर्मचारीको उपस्थिति थियो ।

लेक लागेर सगरमाथा आरोहीको निधन

२७ वैशाख, सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४ः०० बजेतिर अचानक बिरामी परेका थिए ।

 

 

 

उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको हो ।

ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

यसअघि पनि सगरमाथाको चुचुरो चुमिसकेका घिमिरे पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत थिए ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३