२८ वैशाख, सर्लाही । सर्लाहीमा सडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार हिजो आइतबार साँझ करिब ४:३० बजे गोडैता नगरपालिका–६ बग्दहस्थित चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।
स्थानीयवासीले सडक आसपासबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि प्रहरी चौकी गोडैताबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा भेटिएको हो । शव अत्यधिक सडेकाले मृतकको पहिचान खुल्न सकेको छैन ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले मृतकको पहिचान खुलाउने प्रयाससँगै घटनाको प्रकृतिबारे अनुसन्धान जारी राखेको छ ।
२८ वैशाख, काठमाडौं । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेको छ । आगो दमकलक प्रयोग गरेर अहिले नियन्त्रणमा लिइएको छ ।
विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए ।
विमानमा आगो लागेपछि उद्धारका क्रममा केही यात्रुलाई सामान्य चोट लागेको छ । विमानमा केही शव र सामानहरु पनि रहेको छ ।
इस्तानबुलबाट काठमाडौं आएको TK726 विमानमा आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो ।
उक्त विमान धावनमार्गमै रोकिएपछि अहिले अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ ।
विमान धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको छ
वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले लोककल्याणकारी विज्ञापन प्रसारणको अवस्थाबारे अनुगमनलाई तीव्रता दिएको छ । सोही क्रममा आज पोखरिया स्थित रेडियो पोखरियाको स्थलगत अनुगमन गरिएको छ।
रेडियो पोखरियाका प्रबन्ध निर्देशक शम्भु कुमार सुमनका अनुसार विज्ञापन बोर्डमार्फत प्रसारण हुँदै आएका लोककल्याणकारी विज्ञापनहरूको प्रभावकारिता तथा मापदण्ड पालना भए/नभएको विषयमा अनुगमन गरिएको हो ।
जिल्ला हुलाक कार्यालय पर्साका प्रमुख नमाेनाथ यादवको नेतृत्वमा भएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि शाखा अधिकृत विनय गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा सञ्चार माध्यमहरूले लोककल्याणकारी विज्ञापन प्रसारण गर्दा अपनाउनुपर्ने मापदण्ड, समय तालिका तथा सामग्रीको गुणस्तरबारे समेत जानकारी लिइएको थियो । साथै, सम्बन्धित निकायले तोकेको निर्देशिका पालना गर्न सञ्चार माध्यमलाई सुझावसमेत दिइएको अनुगमन टोलीले जनाएको छ ।
प्रमुख यादवका अनुसार पर्सा जिल्लाभित्र सञ्चालनमा रहेका अन्य रेडियो तथा टेलिभिजन संस्थाहरूको पनि क्रमशः स्थलगत अनुगमन जारी रहेको छ । उनले लोककल्याणकारी सन्देश प्रभावकारी रूपमा जनतासम्म पुर्याउने उद्देश्यले यस्तो अनुगमन गरिएकाे बताए ।
वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल शनिबार वीरगंज आएका छन् । गृह जिल्ला रौतहटको कार्यक्रम सकेर वीरगंज आएका नेता नेपालले हालै अदालतको आदेशबाट रिहा भएका नेकपा नेता मनोज चौधरीसँग भेटवार्ता गरेका हुन् ।
पूर्व प्रधानमन्त्री नेपाल वीरगंजस्थित पानीटंकीमा रहेको चौधरी निवासमै पुगेर भेट गरेका थिए । भेटका क्रममा उनले चौधरी पक्राउ परेको घटनाको विषयमा विस्तृत जानकारी लिँदै घटनाको वास्तविक अवस्थाबारे चासो व्यक्त गरेका थिए । नेता नेपालले चौधरीसँगको भेटमा पछिल्लो राजनीतिक अवस्था, पक्राउ प्रकरण तथा त्यसपछि विकसित घटनाक्रमबारे समेत छलफल गरेको बताइएको छ ।
यसअघि पनि नेता नेपालले मनोज चौधरी प्रहरी हिरासतमा रहेका बेला जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर भेट गरेका थिए । त्यसबेला उनले घटनाबारे जानकारी लिनुका साथै कानुनी प्रक्रियाप्रति चासो व्यक्त गरेका थिए ।
नेता चौधरी फागुन १९ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुभन्दा दुई दिनअघि फागुन १९ गते पक्राउ परेका थिए । पर्सा क्षेत्र नं. २ काे प्रतिनिधि सभा सदस्यकाे उम्मेदवार समेत रहेका नेता चाैधरी उनी सवार गाडीबाट विस्फोटक पदार्थ जस्ताे देखिने शंकास्पद बस्तु फेला परेकाे आराेपमा मुद्दामा पक्राउ परेका थिए ।
पर्सा जिल्ला अदालतकाे आदेशमा पूर्पक्षका लागि वीरगंज कारागारमा रहेका चौधरी दुई महिना ६ दिनपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजकाे आदेशमा बिहिबार रिहा भएका थिए ।
चौधरीको रिहाइपछि उनलाई भेट्न पूर्व प्रधानमन्त्री नेपाल स्वयं वीरगंज पुगेपछि स्थानीय राजनीतिक वृत्तमा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
वीरगंज । सशस्त्र प्रहरी बल नेपालले पर्सा र बारामा संयुक्त रुपमा सञ्चालन गरेको छापामारी अभियानमा भन्सार छली गरी ल्याइएका करिब १४ लाख ११ हजार रुपैयाँ बराबरका कपडा तथा किराना सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार मिति २०८३ वैशाख २६ गते प्राप्त विशेष सूचनाको आधारमा छापामारी गरिएको हो ।
जिल्ला बाराको विश्रामपुर गाउँपालिका–५ नकटुवा बिर्ताटोलस्थित गोठमा भन्सार छलि गरी कपडा भण्डारण गरिएको सूचनापछि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोली तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो ।
टोलीले करिब ११ लाख ७५ हजार ५ सय रुपैयाँ बराबरको १७ पोका कपडा बरामद गरेको जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।
त्यसैगरी पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्र नजिकका कच्ची घरहरूमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका किराना सामान लुकाइछिपाइ राखिएको सूचनापछि अर्को संयुक्त टोलीले खानतलासी गरेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर भिखमपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन बोगटीको नेतृत्वमा गएको टोली, प्रहरी चौकी बलुवा र वीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले २ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरका किराना सामान बरामद गरेको जनाएको छ ।
बरामद सबै सामान थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
