KATHMANDU WEATHER
Horizontal Scroll Menu

मूल्यवृद्धिको प्रभाव : यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

३ वैशाख, काठमाडौं । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा फेरि समायोजन गरिदिन सरकारसँग माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक भाडा समायोजनपछि नै दुई पटक इन्धनमा मूल्यवृद्धि भएको भन्दै फेरि भाडा समायोजन गरिदिन वा मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

मध्यपूर्वको द्वन्द्वका कारण नेपाल आयल नियमले पटक–पटक डिजेल र पेट्रोलमा भारी मूल्य वृद्धि गरिरहेको विज्ञप्तिमा उल्लेख छ । जसले सार्वजनिक यातायात क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन र मालवाहक सवारी साधन सञ्चालनमा कठिन अवस्था सिर्जना भएको महासचिव गौतमले भनेका छन् ।

 

 

 

पछिल्लो पटक नै चैत २७ गते र वैशाख २ गते इन्धनमा भएको भन्दै ‘सरकारले २०६५ सालदेखि लागु गरेको वैज्ञानिक विधि अनुरूप स्वचालित प्रणालीबाट पाँच प्रतिशत पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा हुने भाडा समायोजन गरिदिन वा मूल्य  वृद्धि फिर्ता लिन जोडदार माग’ विज्ञप्तिमा गरिएको छ ।

यस्तै विषम परिस्थितिको मूल्यांकन गर्दै देश भरी सेवा सञ्चालन गर्ने महासंघ सदस्यहरूलाई पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालन गर्दा हुने घाटालाई न्यूनीकरण गर्न पनि विज्ञप्तिमार्फत स्मरण गराइएको छ ।

‘नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट पटक-पटक मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन यसै प्रेस विज्ञप्तिमार्फत जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काको मनोनयन दर्ता

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् । आजै कांग्रेस संसदीय दलले खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा खड्काले मनोनयन दर्ता गराएका छन् । आज प्रतिनिधिसभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ ।

प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ ।

उता विपक्षी दलहरूले पनि लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने सहमति गरेका छन् ।

इन्धन मूल्यवृद्धिको मारमा यातायात क्षेत्र :तत्काल भाडा समायोजन गर्न महासंघको माग

३ बैशाख, काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनमा भइरहेको निरन्तरको मूल्यवृद्धिलाई कारण देखाउँदै सवारी साधनको भाडा पुनः समायोजन गर्न सरकारसँग जोडदार माग गरेको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो पटक भाडा निर्धारण भएयता नै नेपाल आयल निगमले दुई पटक इन्धनको मूल्य बढाइसकेकाले अहिलेको भाडामा सवारी चलाउन नसकिने अवस्था आएको स्पष्ट पारेका छन् । मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमै इन्धनको भाउ बढेको बहानामा निगमले डिजेल र पेट्रोलमा गरेको भारी मूल्यवृद्धिले सार्वजनिक यातायात र मालवाहक सवारी सञ्चालनमा गम्भीर संकट निम्त्याएको व्यवसायीहरूको निष्कर्ष छ ।

महासचिव गौतमका अनुसार पछिल्लो पटक चैत २७ र वैशाख २ गते भएको इन्धनको मूल्यवृद्धिले यातायात क्षेत्रलाई थप धराशायी बनाएको छ । सरकारले २०६५ सालदेखि लागू गरेको वैज्ञानिक भाडा समायोजन विधि अनुरूप पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटबढ हुँदा स्वचालित प्रणालीबाट भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ ।

महासंघले सोही विधि पालना गर्दै तत्काल भाडा बढाउन वा पछिल्लो समय गरिएको मूल्यवृद्धि फिर्ता लिएर व्यवसायीलाई राहत दिन सरकारलाई अल्टिमेटम दिएको छ। विज्ञप्तिमा आयल निगमले केवल मूल्य बढाउने काम मात्र नगरी वैकल्पिक व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

देशभरका व्यवसायीहरूलाई यस्तो विषम परिस्थितिमा इन्धनको खपत कम गर्न र बढ्दो घाटा न्यूनीकरणका उपायहरू अपनाउन महासंघले आग्रह गरेको छ । इन्धनको मूल्य पटक–पटक बढ्दा त्यसको प्रत्यक्ष असर ढुवानी र यात्रुवाहक सेवामा पर्ने र अन्ततः सर्वसाधारणको दैनिकी झनै महँगो हुने व्यवसायीहरूको दाबी छ ।

सरकारले तत्काल यस विषयमा ठोस निर्णय नलिए यातायात सेवा सञ्चालनमा थप कठिनाइ उत्पन्न हुने चेतावनी समेत महासंघले दिएको छ ।

कारागारबाटै सौतेनी छोराले बनाएका थिए योजना, भान्जा र ज्वाइँसहित ५ जना संलग्न

 

खुँडा प्रहार गर्ने सिर्जनाकै भान्जा २७ वर्षीय सन्तोष भनिने शिशिर केसी र सहयोगी स्कुटर चालक ३२ वर्षीय कुशल परियारलाई प्रहरीले सुरुमै पक्राउ गरेको थियो । थप तीन जनालाई भने प्रहरीले वैशाख १ गते सार्वजनिक गर्‍यो ।

पक्राउ पर्नेमा सिर्जनाका भान्जा पर्वत कुश्मा नगरपालिका–११ घर भई पोखरा महानगरपालिका–५ जिरो किलो बस्ने वर्ष २४ का वसन्त केसी र छोरीज्वाइँ पर्वत फलेवास नगरपालिका–९ भंगारा घर भई पोखरा–१६ लामाचौर बस्ने २७ वर्षीय नवराज पौडेल क्षेत्री छन् । वसन्त शिशिरका आफ्नै भाइ हुन् ।

माइजु सिर्जनाको हत्यामा भान्जाका दाजुभाइ र ज्वाइँसमेत गरी ४ जना पक्राउ परे पनि प्रहरीले अनुसन्धान अझै फराकिलो बनाउँदै लग्यो । किनकि, सुरुदेखि नै यो घटना घरकै परिवारबाट बुनिएको योजनामा भएको प्रहरीको अनुमान थियो । हुन पनि पारिवारिक घटनाक्रम नै शंकास्पद थियो भने परिवारमा अंश मुद्दा, बकस र सम्पत्तिका विषयमा कलह थियो ।

अंश मुद्दा, बकस र सम्पत्ति विवादले एकल जीवन बिताइरहेकी सिर्जनाको जीवन नै विभत्स ढंगले समाप्त भएको छ भने ४ वर्षीय छोरीको बिचल्ली भएको छ ।

सूक्ष्म अनुसन्धान गरेको प्रहरीले अन्तत: सिर्जनाको हत्या जिल्ला कारागार कास्कीमा रहेका छोरा गौरवकै योजनामा भएको निष्कर्ष निकालेको छ । छोरा गौरव सिर्जनाको सौतेनी छोरा हुन् ।

‘पारिवारिक पृष्ठभूमि, परिवारबीचको सम्बन्ध घटनाको प्रकृति र घटनामा संलग्नलाई पक्राउ गरी सूक्ष्म अनुसन्धान गर्दै जाँदा कास्की कारागारमै रहेका छोरा गौरवसँग गएर योजना बुनेको प्रमाणहरू भेटिए,’ कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले भने, ‘गौरवले ६ महिनाभन्दा अगाडि नै हत्याको योजना बुनेको पाइएको छ ।’

सिर्जनालाई खुँडा प्रहार गर्ने भान्जा वसन्तले गौरवलाई कारगारमै गएर भेटेका थिए । वसन्त पनि यसअघि लागुऔषध मुद्दामै कारागार बसेर छुटेका थिए । दाजुभाइ (मामा–फुपूका छोरा) बीचको भेटपछि नै गौरवले भनेअनुसार हत्याका लागि वसन्तले योजना बुन्न थालेका थिए ।

कारगार भित्र रहेका गौरवले नै वसन्तलाई आफ्नो स्कुटर दिँदै ‘जसरी हुन्छ गर । मैले जे गर्नुपर्छ तेरो निम्ति गर्छु’ भनेर हौस्याएका थिए । यसअघि घरमा ठूलो झगडा हुँदा पनि भान्जा वसन्त घरमै थिए ।

‘झगडा हुँदा नै ‘यसलाई कसैले मारिदिए पनि हुन्थ्यो’ भनेको कुरा वसन्तको मनमा बिझिरहेको थियो । लागुऔषध सेवन गर्ने वसन्त स्वयंलाई ट्यापे भनेर गाली गरेको इगो थियो,’ प्रहरी अनुसन्धान भन्छ, ‘कास्की कारागारमा भेट्न जाँदा गौरवले वसन्तलाई भनेछन्, ‘हेर, केही गर्न सक्छस् भने गर्ने तैंले नै हो, गर यार । मार्न सक्ने तैंले नै हो । तेरो लागि केके गर्नुपर्छ म गर्छु । यहीँ भित्रै (जेल) परेछस् भने पनि वकिलदेखि यहाँको व्यवस्था म मिलाउँछु । चिन्ता नगर तेरो जिन्दगी म हेर्छु । तर तैंले नै हान भनेको खुल्न आएको छ ।’

वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार गौरवलाई कारागारबाट ल्याएर थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट बुधबार नै अनुमति लिइसकिइएको छ । गौरव ६ महिना अगाडि लागुऔषध मुद्दामा पक्राउ परेका थिए । उनलाई ३ महिना हिरासत र ३ महिना कारागारमा राखिएको कास्की प्रहरी प्रमुख एसपी कार्कीले बताए । गौरव यसअघि पनि लागुऔषध, अभद्र व्यवहार जस्ता मुद्दामा परेका थिए ।

अंश मुद्दा, बकस र सम्पत्ति विवादले एकल जीवन बिताइरहेकी सिर्जनाको जीवन समाप्त भएको छ भने ४ वर्षीय छोरीको बिचल्ली भएको छ । सिर्जनाको हत्यामा छोरा, भान्जा, ज्वाइँ र सहयोगी गरी ५ जना संलग्न रहेको भन्दै प्रहरीले मुद्दा अगाडि बढाएको छ ।  एउटा मात्रै होइन, आफन्तसहित ३ वटा परिवार नै तहसनहस भएको छ ।

सिर्जनाका श्रीमान्ले जिरो किलोमिटर नजिकै मालेपाटनमा लामो समयदेखि खसीको मासु बेच्दै आएका थिए । उनलाई ‘खसी कृष्णे’को नाममा मालेपाटन क्षेत्रमा धेरैले चिन्थे । कृष्णकी जेठी श्रीमतीले एक दशकअघि विष सेवन गरी आत्महत्या गरिन् । जेठीतर्फका १ छोरा र २ छोरी छन् । छोरा गौरव लागुऔषध मुद्दामा अहिले कारागारमा छन् भने ठूली छोरी शान्तिको विवाह भइसकेको छ । कान्छी छोरी घरमै थिइन् ।

श्रीमतीले आत्महत्या गरेपछि ९ वर्षअघि कृष्णले सिर्जनालाई विवाह गरेका थिए । आफ्नो बाबुको तिनै महिलासँग सम्बन्ध भएकै कारण आमाले आत्महत्या गरेको भन्ने जेठीतर्फका सन्तानलाई परेको थियो । सिर्जनासँग विवाह भएलगत्तै परिवारमा कलह भइरहन्थ्यो भने सम्पत्तिको विवादसमेत हुने गरेको थियो ।

४ वर्ष अगाडि सिर्जनाबाट छोरीको जन्म भयो । ३ वर्ष अगाडि कृष्णको पनि मृत्यु भयो । कृष्णको मृत्यु भएर काजकिरिया सकिने १३औं दिनमै परिवारमा ठूलो झगडा परेको प्रहरीको भनाइ छ ।

सिर्जनाकै कारण उत्पन्न तनावले आफ्ना बाबुआमाको ज्यान गएको र आफूहरूले पनि दु:ख पाइरहेको निष्कर्ष गौरवलगायत परिवारले निकालेका थिए । त्यही रिस, झोकमा आमाको हत्या गर्ने योजना गौरवले बनाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

कृष्णले पोखरामा खसीको मासु बेचेरै ठाउँठाउँमा सम्पत्ति जोडेका थिए । कृष्णले आफ्नो सम्पत्ति शेषपछि बकस गरेर जिरो किलोमिटरमा रहेको घर र मालेपाटनमा जग्गा छोरा गौरव र छोरी शान्तिको नाममा गराइदिएका थिए । यो थाहा पाएपछि परिवारमा थप विवाद भइरहेको थियो ।

सेदीमा रहेको ७ आना जग्गामा रहेको सानो घरमा सिर्जना बस्दै आएकी थिइन् । सो घर पनि कृष्णको आमाको नाममा भएको उनले थाहा पाइन् । पोखरा–१७ बिरौटा पनि जग्गा थियो ।

सिर्जनाले जिल्ला अदालत कास्कीमा बकस बदरको माग गर्दै हालेको मुद्दामा शेषपछिको बकस बदर हुने र ३ भाग लाग्ने फैसला भएको थियो । कृष्णबाट भएका जेठीतर्फका छोराछोरी र आफूले मात्र भाग पाउने तर ३ वर्षको छोरीलाई समेत गरी ६ भाग लगाउनुपर्ने माग गर्दै उच्च अदालतमासमेत सिर्जनाले मुद्दा हालेकी थिइन् ।

यो विषयले परिवारमा ठूलो तनाव र कलह सिर्जना गरेको थियो । सिर्जनाले पोखराको पृथ्वीचोक नजिकै नागढुंगामा जुत्ता पसल गर्दै आएकी थिइन् । सिर्जनाकै कारण उत्पन्न तनावले आफ्ना बाबुआमाको ज्यान गएको र आफूहरूले पनि दु:ख पाइरहेको निष्कर्ष गौरवलगायत परिवारले निकालेका थिए । त्यही रिस, झोकमा आमाको हत्या गर्ने योजना गौरवले बनाएको प्रहरी अनुसन्धानले देखाएको छ ।

‘यो घटनाले पारिवारिक कलह, विवादले उत्पन्न गर्ने तनाव र जघन्य अपराधलाई विभिन्न कोणबाट हेर्नुपर्ने देखाएको छ । आमाको हत्या गर्न छोराले योजना बनाउँछन्, भान्जा खुँडा उध्याएर बस्छन्, भाञ्जाका दाजुभाइ र ज्वाइँसमेत घटनामा जोडिन्छन् । स्कुटर चलाउने मानिस खोज्छन् र दिनदहाडै बीच बजारमा एक महिलामाथि खुँडा प्रहार गरिन्छ,’ प्रहरी प्रमुख कार्की भन्छन्, ‘४८ घन्टा भित्रै हामीले खुँडा प्रहार गर्ने र सहयोगीलाई समायौं । अहिलेसम्म यसमा ५ संलग्न देखिएका छन् । अनुसन्धान र मुद्दा अगाडि बढाएका छौं ।’

यी हुन् १० विषयगत र २ संयुक्त समितिका प्रस्तावित सभापतिहरू (सूची)

३ वैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत र २ वटा संयुक्त समितिका सभापतिहरूको नाम टुंगो लागेको छ ।

बिहीबार दिउँसो सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले १२ वटै समितिका सभापतिको नाम टुंगो लगाएको हो ।

समितिमा रहने सदस्यहरू यसअघि नै टुंगो लागिसकेको छ ।  संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ती समिति यसअघि नै गठन भइसकेका छन् ।

 

यी हुन् समितिका सभापतिहरू :

१) कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा

२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी

३) पूर्वाधार विकास समिति– आशिष गजुरेल

४) महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी

५) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल

६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन

७) सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)

८) १२) संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ

९) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी

१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की

११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास

१२) अर्थ समिति– कृष्णहरि बुढाथोकी

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३