KATHMANDU WEATHER
Horizontal Scroll Menu

भारतीय गायिका आशा भोसलेको निधन

 २९ चैत,काठमाडौं । भारतीय संगीतकी प्रख्यात तथा महान् गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ।

पछिल्लो केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। गम्भीर अवस्थामा उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो।

परिवारका अनुसार भोस्लेको निधनको खबर उनका छोरा आनन्दले आइतबार पुष्टि गरेका हुन्। भारतीय सञ्चारमाध्यमहरूले पनि उनको निधनको समाचार सार्वजनिक गरेका छन्। उनको अन्त्येष्टि सोमबार गरिने परिवारले जनाएको छ।

आठ दशकभन्दा लामो संगीत यात्रामा भोस्लेले हजारौँ गीतमा स्वर दिएकी थिइन्। उनी भारतीय मात्र होइन, विश्व संगीतमा समेत अत्यन्त प्रभावशाली गायिकाका रूपमा चिनिन्छिन्। उनका गीतहरू पुस्तौँदेखि लोकप्रिय रहँदै आएका छन्।

सन् १९३३ मा जन्मिएकी भोस्लेले ९ वर्षको उमेरदेखि नै व्यावसायिक गायन सुरु गरेकी थिइन्। उनले सन् १९४३ मा पहिलो फिल्म गीत रेकर्ड गरेकी थिइन्। १९५० को दशकदेखि उनले बलिउडमा आफ्नै विशिष्ट पहिचान बनाउँदै धेरै संगीतकारहरूको पहिलो रोजाइकी गायिका बन्न सफल भइन्।

सुरुवाती चरणमा नृत्यप्रधान गीतमा सीमित देखिए पनि पछि उनले आफ्नो गायन दायरा विस्तार गर्दै गजल र शास्त्रीय शैलीमा समेत उत्कृष्टता प्रस्तुत गरिन्। उमराव जान र इजाजत जस्ता फिल्मका गीतहरू उनका चर्चित र कालजयी प्रस्तुति मानिन्छन्।

उनले फिल्मफेयर अवार्ड सात पटक जितेकी थिइन् भने ‘दिल चीज क्या है’ र ‘मेरा कुछ सामान’ गीतका लागि दुई पटक राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरेकी थिइन्।

सन् २०२३ मा दिएको एक अन्तर्वार्तामा उनले समकालीन संगीतबारे टिप्पणी गर्दै पुराना गीत र शास्त्रीय संगीतबाट आफू अझ बढी प्रभावित हुने बताएकी थिइन्। उनले वर्तमान गीतमा उत्कृष्ट शब्दको कमी भएको बताउँदै पुराना संगीतले नै आफूलाई सिकाइ र प्रेरणा दिने उल्लेख गरेकी थिइन्।

आशा भोस्लेको निधनसँगै भारतीय संगीतले एक युग गुमाएको छ।

जनकपुर चुरोट कारखाना सञ्चालनमा आएपछि प्रदेश सरकारको भवितव्य के ?

२९ चैत,काठमाडौं । लामो समयदेखि बन्द अवस्थामा रहेका सात प्रमुख सरकारी उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले अघि बढाएको जनाएको छ। औद्योगिक क्षेत्रको पुनर्जीवन, रोजगारी सिर्जना तथा आन्तरिक उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत उद्योग सञ्चालन गर्ने योजना अघि सारिएको हो।

सरकारले गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना लिमिटेड, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट, हेटौँडा कपडा उद्योग र उदयपुर सिमेन्ट लिमिटेडलाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित आवश्यक प्रक्रिया सुरु गरेको जनाएको छ।

यी उद्योगहरू कुनै समय नेपालको औद्योगिक विकासका आधारस्तम्भ मानिन्थे। तर व्यवस्थापन समस्या, वित्तीय संकट, प्रविधिको अभाव तथा नीतिगत कमजोरीका कारण लामो समयदेखि बन्द अवस्थामा छन्। अर्थ मन्त्रालयले पहिलो चरणमा विस्तृत लेखापरीक्षण (डिटेल अडिट) तथा सम्पत्ति–दायित्व मूल्यांकनको काम अघि बढाएको छ।

सरकारका अनुसार यस प्रक्रियाबाट उद्योगहरूको वास्तविक अवस्था पत्ता लगाई लगानीको सम्भाव्यता अध्ययन गरिनेछ। त्यसपछि निजी क्षेत्रलाई आकर्षित गर्ने गरी साझेदारीको ढाँचा तयार पारिनेछ। पीपीपी मोडलमार्फत सञ्चालन गर्दा निजी क्षेत्रको दक्षता, प्रविधि र व्यवस्थापन क्षमता उपयोग हुने अपेक्षा गरिएको छ भने सरकारी स्वामित्व कायम राख्दै दीर्घकालीन सञ्चालन सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

यसैबीच, देशभरका बन्द उद्योग पुनः सञ्चालन गर्ने तयारी सार्वजनिक भएसँगै मधेश प्रदेश सरकार पनि प्रभावित हुने देखिएको छ। लामो समयदेखि जनकपुरस्थित जनकपुर चुरोट कारखानाको भवनबाट सञ्चालन हुँदै आएका प्रदेश सरकारका कार्यालयहरू विस्थापित हुन सक्ने सम्भावना बढेको छ।

हाल सो परिसरमा मुख्यमन्त्री, मन्त्रीदेखि विभिन्न प्रशासनिक निकायका कार्यालय र आवास सञ्चालनमा छन्। उद्योग पुनः सञ्चालनमा आएमा प्रदेश सरकारले वैकल्पिक संरचना खोज्नुपर्ने अवस्था सिर्जना हुन सक्छ।

यसअघि तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सीमित रूपमा उत्पादन पुनः सुरु गर्ने प्रयास गरेका थिए। तर उक्त पहल पूर्ण रूपमा सफल हुन सकेन। पछिल्लो राजनीतिक परिवर्तनसँगै पुनः उद्योग सञ्चालनको विषयले प्राथमिकता पाएको हो।

सरकारले स्थिर राजनीतिक अवस्थाको फाइदा उठाउँदै औद्योगिक क्षेत्र सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ। उद्योग पुनः सञ्चालनसँगै स्थानीय स्तरमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। विशेषगरी उदयपुर सिमेन्ट र हेटौँडा कपडा उद्योग सञ्चालनमा आएमा निर्माण र वस्त्र क्षेत्रमा आत्मनिर्भरता बढ्ने विश्वास गरिएको छ।

यद्यपि, विगतमा यस्ता प्रयासहरू सफल हुन नसकेको अनुभव रहेकाले यसपटकको पहल प्रभावकारी हुन्छ वा हुँदैन भन्ने विषयमा सरोकारवालाहरू सतर्क छन्। निजी क्षेत्रको सहभागिता, पारदर्शी प्रक्रिया तथा दीर्घकालीन व्यवसायिक योजना निर्माण सरकारका लागि चुनौतीपूर्ण हुने स्थानीय व्यवसायीहरूको भनाइ छ।

बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने सरकारी प्रयासलाई देशको औद्योगिक पुनर्जागरणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो: कूटनीतिक संयन्त्रमार्फत भ्रमणको मिति तय गरिँदै

२९ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पठाउनुभएको छ ।

मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको सिलसिलामा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै यस कूटनीतिक निमन्त्रणाबारे विस्तृत जानकारी दिनुभएको हो । मन्त्री खनालका अनुसार नेपालमा सम्पन्न आम निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत प्रधानमन्त्री शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिने क्रममा भारत भ्रमणको प्रस्ताव राख्नुभएको थियो ।

उक्त प्रस्तावलाई प्रधानमन्त्री शाहले सकारात्मक रूपमा लिँदै स्वीकार गरिसक्नुभएको छ, यद्यपि भ्रमणको औपचारिक तालिका भने दुई देशका कूटनीतिक संयन्त्रहरूले तय गर्न बाँकी नै रहेको छ ।

मौरिससमा भारतीय विदेशमन्त्री एस.जयशंकरसँग भएको द्विपक्षीय भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपालको वर्तमान राजनीतिक प्राथमिकता र भावी वैदेशिक सम्बन्धका विषयमा छलफल गर्नुभएको थियो ।

सरकार गठन भएको भर्खर दुई हप्ता मात्र पुगेकाले अहिले नेपाल सरकार आफ्ना आन्तरिक नीति र प्राथमिकताहरूलाई व्यवस्थित बनाउन केन्द्रित रहेको जानकारी भारतीय पक्षलाई गराइएको छ । दुवै देशका विदेशमन्त्रीबीचको संवादमा पहिले नेपालले आफ्ना एजेन्डाहरू स्पष्ट पार्ने र त्यसपछि मात्रै उच्चस्तरीय भ्रमणहरूको शृङ्खला अघि बढाउने सहमति भएको छ ।

नेपाल र भारतबीच रहेका करिब ४० वटा विभिन्न द्विपक्षीय संयन्त्रहरूमार्फत भ्रमणको उपयुक्त समय र विषयवस्तु तय गरिने मन्त्री खनालले स्पष्ट पार्नुभएको छ ।

नयाँ सरकारको परराष्ट्र नीतिका सम्बन्धमा स्पष्ट पार्दै मन्त्री खनालले सरकार परिवर्तन भए पनि नेपालको परराष्ट्र नीतिको आधारभूत निरन्तरता नटुट्ने विश्वास दिलाउनुभएको छ । संविधानले निर्दिष्ट गरेको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, असंलग्नता र स्वतन्त्र परराष्ट्र नीति नै वर्तमान सरकारको मुख्य मार्गदर्शक सिद्धान्त हुने उहाँको भनाइ छ ।

छिमेकी राष्ट्रहरू र विश्वभरका अन्य साझेदारहरूसँगको सम्बन्धलाई नेपालले मुख्यतया राष्ट्रिय हित र आर्थिक समृद्धिसँग जोडेर अगाडि बढाउने लक्ष्य लिएको छ । सरकारका सम्पूर्ण कूटनीतिक प्रयासहरू नेपालको द्रुत आर्थिक विकास र राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर परिचालन गरिने मन्त्री खनालले अन्तर्राष्ट्रिय मञ्चबाट दृढतापूर्वक व्यक्त गर्नुभएको छ ।

ईप्रका सिम्रौनगढको मिलोमतोमा ठुलो मात्रामा तस्करी सूचारु माथिल्लो निकाय मौन

मधेश प्रदेशको बारा जिल्ला स्थित नेपाल प्रहरीका प्रहरी निरीक्षक किसुन्देव साह केडीले आर्थिक आतंक मच्चाएको आरोप लागन थालेको छ।ईलाका प्रहरी कार्यालय सिम्रौन्गढका प्रमुख एवम प्रहरी निरीक्षक साहले अपराधीक गतिविधि नियन्त्रण गर्नुको सट्टा आफ्नो ईलाका क्षेत्रमा रहेको सिमानाका देखि ईलाका क्षेत्रमा रहेको अबैध घरेलु मदिरा भठी, मदिरा बिक्रीबितरण गर्न व्यापारीहरु आर्थिक असुलीलाई निरन्तरता दिएको खवर प्राप्त भएको छ।

ईप्रका सिम्रौनगढको मातहत पर्ने पथालवा घाट,पिपरपाती,बैरिया,बेलदारी, खज्जानी र कोचोर्वा चौकीका ईन्चार्जहरु संग समन्वय गरि प्रहरी निरीक्षक साहले जिल्लाको एसपी देखि डिआईजीको नाऊमा समेत रकम बुझने गरेको नाम नछाप्रने सर्तमा एक प्रहरी व्यापारीले बताएका छन्।

ईन्सपेकटर साहको संरक्षणमा सिम्रौनगढ नाकाबाट भोला र दिपकको ग्रुपले ५र७ वटा मोटरसाइकलमा कपडा , चाईनिज स्याऊ ,संदिप ग्रुपले तयारी कुखुरा र लत्ताकपडाको १०र१२ वटा मोटरसाइकलमा काम गर्ने छुट गरेका छन।त्यसैगरि अमरपुर नाकाबाट दिपक कपडाको , बैरिया नाकाबाट धानको बिऊ र मलको प्रमोद , राजु,उपेन्द्र र राजुको ठुलो मात्रामा तस्करीको

लाईन खुल्ला भएको छ।भन्ने कवलपुरघाटबाट राजकुमार र अखलेशको ट्याकटरबाट धानको तस्करी हुँदै आएको छ।त्यसैगरि अरबिन्द साह हाडयेवर, कपडा पथालवाघाट,सत्रोधन कुखुराको चल्ला बैरिया, सन्दिप कोचोर्वा कपडा र चल्ला र लागुऔषध गाँजा अहिले ठुलो मात्रामा,रामनगर ,खज्जानी र पथालवाघाट भई तस्करी भईरहेको स्थानियहरुले बताउँछन् ।
जेनजी अन्दोलनपछि देशको प्रधानमन्त्री देखि गृहमन्त्री सम्म परिवर्तन भएपनि बारा जिल्ला स्थित रहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा केही परिवर्तन नभएको स्थानियहरुले बताउछन् ।
यश बिषयमा बुझनको लागि जिल्ला प्रहरी कार्यालय बाराको एसपी नरेन्द्र कुँवरलाई फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेनन् ।साभार (आपण जनकपुर

निर्माणाधीन रङ्गशालाको काम छिटो टुङ्ग्याउन मुख्यमन्त्री कँडेलको निर्देशन

२९ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुङ्ग्याउन निर्देशन दिएका छन् ।

प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रङ्गशालाको काम टुग्याएर दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न निर्देशन दिएका हुन्

रङ्गशाला निर्माणका लागि बजेट समेत विनियोजन भैसकेको बताउँदै मुख्यमन्त्री कँडेलले बाँकी काममा ढिला गर्न नहुने  बताए । रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण मिलाउन  निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई सक्रिय हुन उनले आग्रह समेत गरे । ‘अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन । सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,’ मुख्यमन्त्री कँडेलले भने ।

उनले निर्माण व्यवसायीलाई कार्य तालिका अनुसार काम अघि बढाउन र बाँकी रहेका कामहरू निश्चित समय सीमाभित्र पूरा गर्ने काममा लगाउन निर्देशन दिए । निर्माण कार्यको प्रभावकारी अनुगमन र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले जिम्मेवार निकायहरूलाई आफ्नो भूमिकामा गम्भीर हुन समेत सचेत गराए ।

रङ्गशाला सम्पन्न भएसँगै कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसर सिर्जना हुने विश्वास पनि उनले व्यक्त गरे । मुख्यमन्त्री कँडेलले खेलकुद क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए ।

उनले खेलाडीहरूको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षणको व्यवस्था, आवश्यक पूर्वाधार निर्माण तथा प्रतियोगिताहरूको निरन्तर आयोजनामा ध्यान दिनुपर्नेमा जोड समेत दिए ।

मुख्यमन्त्री कँडेलले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लाई लक्षित गर्दै आवश्यक तयारीमा जुट्न समेत निर्देशन दिएका छन् । प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका पक्षहरू समयमै सुनिश्चित गर्नुपर्ने उनले बताए ।

कर्णालीका विभिन्न जिल्लामा आवश्यक खेल पूर्वाधार निर्माण गर्न स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेस गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

हाल बजेट तयारीको चरणमा रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रका योजनाहरू योजना बैंठमा समावेश गर्न समेत मुख्यमन्त्री कँडेलले आग्रह गरे । चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउँदै उनले उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले कुनै पनि कार्यक्रम परिषद् बैठकबाट अनुमोदन गरेर मात्र कार्यान्वयनमा लैजानुपर्ने स्पष्ट पारे । कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय यसै वर्ष र आगामी वर्षका लागि स्पष्ट रूपमा निर्धारण गरी सोहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३