१० वैशाख, बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्डअन्तर्गत ढम्कनेदेखि कोल्टीसम्मको कालोपत्रको काम अलपत्र अवस्थामा छ । निर्माण कम्पनीले समयमै काम नगर्दा कालोपत्रको काम अलपत्र परेको पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताए ।
काम गर्ने जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवाले समयमै काम नगर्ने र अर्कोतिर बर्सेनि बजेट फिर्ता पठाउने काम भइरहेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा यो सडकमा परेको १५ करोड बजेट समयमै काम हुन नसक्दा १३ करोड ५० लाख बढी रकम फिर्ता भएको थियो । चालु आर्थिक वर्षमा २० करोड बजेट भए पनि अहिलेसम्म ठेकेदारले काम सुरु नगरेको कार्यालय प्रमुख थापाले बताए ।
यो आर्थिक वर्षमा पनि ठेकेदारले काम नगर्दा फेरि करोडौँ रकम फिर्ता हुने भएको छ । आर्थिक वर्ष २०७६/७७ मा (२०७७ असारमा) २६ किलोमिटर सडक कालोपत्र गर्ने गरी सम्झौता भएको थियो । कम्पनीले ढम्कनेदेखि चुथीसम्म (६ किलोमिटर) र चुथीदेखि कोल्टीसम्म (२६ किलोमिटर) दुवै खण्डको ठेक्का लिएको थियो । चुथीदेखि ढम्कनेसम्मको सडकको भने २०७७ सालभन्दा पहिला नै सम्झौता भएको थियो ।
चुथीदेखि कोल्टीसम्म २६ किलोमिटर सडक निर्माण कम्पनीले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । सम्झौताका बेला ३ वर्षमा काम सम्पन्न गर्ने सर्त थियो । तीन वर्षमा काम नसकेपछि कार्यालयले पटक-पटक म्याद थप गरेको थियो ।
म्याद थप गरे पनि यो आर्थिक वर्षको चैत लागिसक्दा पनि ठेकेदारले काम सुरु गरेको छैन । काम नहुने भएपछि यो वर्ष पनि रकम फिर्ता हुने सम्भावना रहेको पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ ।
कार्यालयले २६ किलोमिटर कालोपत्रका लागि ९८ करोडको टेन्डर गरेको थियो । पीएस बानियाँ निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर २०७७ असारमा सम्झौता गरेको थियो । उक्त सडकमा ५० प्रतिशत मात्र काम भएको कार्यालयले जनाएको छ । ठेकेदारले समयमै काम नगर्दा बर्सातमा मार्तडी-कोल्टी सडक बन्द हुने गरेको स्थानीय शङ्करबहादुर चदाराले बताए ।
केही दिनपहिला पूर्वाधार विकास कार्यालय अछामले ठेक्का तोड्नेबारे १५ दिने सूचना प्रकाशित गरेको थियो । ठेक्का नतोड्नुपर्ने कारण भए कार्यालयमा सम्पर्क गर्नसमेत भनेको थियो, तर सूचना प्रकाशित भएको म्याद सकिँदासम्म पनि ठेकेदार कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ ।
मार्तडी-कोल्टी सडकखण्ड ।
काम गर्ने जिम्मा पाएको पीएस बानियाँ निर्माण सेवा नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँको हो । उनी बागमती प्रदेश सभाका सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति हुन् ।
पीएस बानियाँ निर्माण सेवाका प्रतिनिधि तथा इन्जिनयर सरोज राईले यस अघि विभिन्न कारणले काम हुन नसकेको स्वीकार्दै मेसिन पुगिसकेको र केही दिनमा काम सुरु हुने जानकारी दिए ।
मार्तडी-कोल्टी सडकखण्ड जम्मा ४१ किलोमिटर रहेको छ । यो सडक प्रदेश सरकारको बहुवर्षीय योजनामा छ । यो सडकको २६ किलोमिटरबाहेक मार्तडीदेखि ढम्कनेसम्म १५ किलोमिटर रहेको छ । १५ किलोमिटर कालोपत्रका लागि ५८ करोड विनियोजन भएको थियो ।
मार्तडीदेखि चुथीसम्म ९ किलोमिटरको धेरै काम भइसकेको छ । चुथीदेखि ढम्कने ६ किलोमिटर कालोपत्रको काम धेरै बाँकी रहेको छ । सम्पूरक अनुदानको बजेटबाट यो सडकको रकम ५० प्रतिशत सङ्घ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ ।
मार्तडीदेखि कोल्टीसम्म ४१ किलोमिटर बूढीनन्दा नगरपालिका–२ कोल्टीगाउँसम्म पुग्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ । मार्तडी-कोल्टी ४१ किलोमिटर सडक कालोपत्रका लागि १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रकम बराबरको तीन प्याकेजमा टेन्डर भएको थियो ।
कालोपत्रको ठेक्का हुनुभन्दा पहिला यो ४१ किलोमिटरमा ३५ करोडभन्दा बढी खर्च भइसकेको थियो । २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी–कोल्टी सडक निर्माण सुरु भएको २६ वर्षसम्म पनि पूरा हुन सकेको छैन । २०५६ फागुन ७ गते तत्कालीन जिल्ला सभापति लालबहादुर थापाले उक्त सडकको शिलान्यास गरेका थिए । शिलान्यासका बेला २०६० सालसम्म कोल्टीमा गाडी पुर्याइसक्ने लक्ष्य राखिएको थियो ।
म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गर्न गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिँदा स्थानीयवासी चिन्तित भएका छन्।
मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको वैकल्पिक मानिएको म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माण पछिल्लो एक महिनायता सुस्त बनेको धौलागिरि–३ मुनाका अगुवा बुद्धिमान शेरपुञ्जाले बताए।
“यस वर्ष २३ करोड रुपैयाँ बजेट भएको यस योजनामा हालसम्म जम्मा ५–६ करोड बराबरको काम गरेका ठेकेदारले पछिल्लो एक महिनायता मजदुर र उपकरणको संख्या घटाएका छन्,” उनले भने, “दुई वर्षमा सम्पन्न गर्नुपर्ने योजनाले गति नलिँदा अलपत्र पर्ने जोखिम बढेको छ।”
गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकै ठूलो बजेटको यस योजनामार्फत दरवाङ–धारापानी (७ किलोमिटर) र मच्छिम–मुना (४ किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुनेछ। प्रशासनिक खर्चबाहेक ६७ करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि ५२ करोड ८० लाख ५३ हजार रुपैयाँमा २०८२ असार ११ गते ठेक्का सम्झोता भएको थियो। २०८२ कात्तिकदेखि कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीले हालसम्म करिब १० प्रतिशत मात्र भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँका अनुसार इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिको कारण देखाएर ठेकेदारले कामको गति घटाएका हुन्। “दरवाङ–मुना–ढोरपाटनको प्रगति नहुँदा बजेट खर्च नहुने र अन्य बहुवर्षीय आयोजनामा काम गरेका व्यवसायीले भुक्तानी नपाउने समस्या देखिएको छ,” उनले भने।
संघीय र प्रदेश सरकारको ५०–५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको हो। चालू आर्थिक वर्ष २०८२/८३ मा यसका लागि २३ करोड २२ लाख रुपैयाँ विनियोजन भएको छ। आगामी आवसम्म निर्माण पूरा नभए संघीय सरकारले बजेट नपठाउने र प्रदेश सरकारलाई व्ययभार थपिने जोखिम छ। २०७१ सालमै मुनामा सडक पुगे पनि अहिलेसम्म कच्ची अवस्थामै छ।
यो सडक खण्डले म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आउजाउ गर्न ५० किलोमिटर छोटो पर्छ। म्याग्दी (ख) बाट निर्वाचित प्रदेश सांसद रेशमबहादुर जुग्जालीले रणनीतिक महत्त्वको सडक निर्माणमा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताए।
सोही सडकअन्तर्गत धारापानी–ताकम–झिनडाँडा खण्डको ६ किलोमिटर दूरी कालोपत्र र ढलानका लागि आव २०८०/८१ मा १४ करोड ६१ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीका सञ्चालक भीम सापकोटाले मूल्यवृद्धिका बाबजुद योजना सम्पन्न गर्न लागिएको दाबी गरे। हाल बेनीदेखि तालावाङसम्म १८ किलोमिटर सडक कालोपत्र भइसकेको छ।
१० बैशाख, काठमाडौं । हिउँदे सुक्खायाम लम्बिँदै जाँदा राजधानी काठमाडौँको आकाश फेरि एकपटक बाक्लो तुवाँलोले ढपक्कै ढाकेको छ, जसले यहाँको जनजीवनलाई ‘अति अस्वस्थकर’ अवस्थामा पुर्याएको छ ।
वातावरण विभाग र अन्तर्राष्ट्रिय प्रदूषण मापन केन्द्र आईक्यू एयरका अनुसार बिहीबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) २३१ अंकसम्म पुगेको छ, जसले काठमाडौँलाई विश्वकै प्रदूषित सहरहरूको सूचीमा दोस्रो स्थानमा उभ्याएको छ । हाल पाकिस्तानको लाहोरपछि काठमाडौँ सबैभन्दा बढी प्रदूषित सहरका रूपमा देखिएको छ, जहाँको हावामा श्वास फेर्नु स्वास्थ्यका दृष्टिकोणले निकै जोखिमपूर्ण मानिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई आधार मान्ने हो भने २०१ देखि ३०० सम्मको एक्यूआई हुनु भनेको मानव स्वास्थ्यका लागि ‘अति अस्वस्थकर’ अवस्था हो । काठमाडौँका रत्नपार्क र शंखपार्कसहित भक्तपुर, दाङको देउखुरी र सुर्खेतमा पनि वायुको स्तर निकै नाजुक देखिएको छ। देशभरि नै वन डढेलोका घटना बढ्नु र लामो समयसम्म वर्षा नहुनुले प्रदूषणको मात्रा झनै बढाएको वातावरणविद्हरूको विश्लेषण छ ।
वायु प्रदूषणको यो भयावह अवस्थाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र श्वासप्रश्वासका दीर्घरोगीहरूलाई उच्च जोखिममा पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदूषणका कारण मुटु, फोक्सो, मिर्गौला र आँखामा गम्भीर समस्या देखिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।
विशेषगरी बिहान र बेलुकाको समयमा हावाको चाप जमिननजिक हुने हुँदा बाहिर हिँडडुल नगर्न र निस्कनै परे गुणस्तरीय मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले सुझाएको छ । यस्तो अवस्थाले जनस्वास्थ्यमा दीर्घकालीन असर पार्ने भन्दै विज्ञहरूले प्रदूषण नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
अमेरिकाले स्ट्रेट अफ हर्मुजमा इरानले बिच्छ्याएको बारूदी सुरूङ (माइन) हटाउन ६ महिनासम्म लाग्न सक्ने अनुमान गरेको छ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले सांसदहरूलाई गोप्य ब्रिफिङका क्रममा इरानसँग युद्धपछि अवरूद्ध बनेको हर्मुजबाट बारूदी सुरूङ हटाउन ६ महिना लाग्न सक्ने भनेर जानकारी दिएको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस र अखबार द वासिङ्टन पोस्टले जनाएको छ।
पेन्टागनका अधिकारीहरूले तल्लो सदनअन्तर्गतको हाउस आर्म्ड सर्भिसेस कमिटीलाई मंगलबार गोप्य ब्रिफिङ गरेका थिए।
त्यस क्रममा इरानले हर्मुज क्षेत्रमा २० वा सोभन्दा बढी बारूदी सुरूङ बिच्छ्याएको हुनसक्ने र त्यसलाई हटाउन महिनौं लाग्न सक्ने जानकारी गराइएको थियो। उक्त ब्रिफिङपछि सांसदहरूले युद्धको लागत, रणनीति र लक्ष्यबारे थप प्रश्न उठाएको एपीले जनाएको छ।
ती बारूदी सुरूङहरू जीपीएस प्रविधिमार्फत टाढाबाट सञ्चालन गर्न मिल्ने खालका रहेको र यसले गर्दा पत्ता लगाउन अझै कठिन हुने उनीहरूले बताएका छन्।
केही सुरूङ साना डुंगामार्फत समुद्रमा राखिएको हुनसक्ने द वासिङ्टन पोस्टले जनाएको छ।
इस्लामावादमा पहिलो चरणको वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजमा नौसेनाले इरानको वारूदी सुरूङ हटाइरहेको भनेर घोषणा गरेका थिए।
उनले सामाजिक सञ्जालमार्फत इरानले नै अमेरिकाको सहयोगमा सुरूङ हटाइरहेको दाबी गरेका थिए। तर पेन्टागनको पछिल्लो आकलनले यस्तो दाबीमाथि प्रश्न उठाएको छ।
हर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत तेल–ग्यास पैठारी हुने मुख्य मार्ग हो। यस्तो अवस्थामा सुरूङ हटाउन लामो समय लाग्ने भएपछि युद्ध समाप्त भए पनि यसको आर्थिक प्रभाव वर्षभरि वा सोभन्दा लामो समयसम्म रहने अनुमान गरिएको छ।
युद्ध सुरू हुनु अघि अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन करिब २.९८ डलर रहेकोमा हाल बढेर ४.०२ डलर पुगेको छ। मूल्यवृद्धि तत्काल घट्ने सम्भावना कम रहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।
यद्यपि पेन्टागनले सार्वजनिक रूपमा भने बारूदी सुरूङ हटाउन कठिन नरहेको बताउँदै आएको छ। तर गोप्य ब्रिफिङमा भने अधिकारीहरूले नै सांसदहरूलाई यस्तो जानकारी दिइएको पुष्टि गरेका छन्।
यसैबीच अमेरिकी सेन्ट्रल कमान्डले यस विषयमा सार्वजनिक टिप्पणी गर्न अस्वीकार गरेको भनेर वासिङ्टनपोस्टले लेखेको छ।
विश्लेषकहरूका अनुसार सुरूङको जोखिम रहिरहेसम्म जहाज सञ्चालक, बीमा कम्पनी र चालकदल हर्मुजमार्ग प्रयोग गर्न हिच्किचाउनेछन्। जसले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्ति शृंखलामा दीर्घकालीन असर पार्ने देखिएको छ।
हाल इरानले हर्मुज बन्द गरेको घोषणा गर्दै केही जहाजमाथि आक्रमणसमेत गरेको छ, जसका कारण समुद्री आवतजावत पुनः ठप्पजस्तै बनेको छ।
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि वार्ता अनिश्चित रहँदा हर्मुज क्षेत्र विश्व अर्थतन्त्रका लागि प्रमुख संकट बन्दै गएको छ।
नेकपा स्थापना दिवसको सन्दर्भमा एमालेले बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम गर्दैछ। एमालेले आज ७७ औं नेकपा स्थापना दिवस मनाउन लागेको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओली आजको कार्यक्रममा उपस्थित हुने एमालेका एक नेताले बताए।
भर्खरै पित्तथैलीको शल्यक्रिया गरेर फर्किएका अोली अझै तंग्रिसकेका छैनन्। जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरेर ज्यान मारेको अभियोगमा अध्यक्ष ओली चैत १४ गते पक्राउ परेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका ओलीको पित्तथैलीमा पत्थरी देखिएको थियो।
चैत २६ गते हाजिरी जमानीमा हिरासतमुक्त भएका ओली शल्यक्रियापश्चात् घर फर्किएका थिए।
पक्राउपछि पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा सरिक हुने एमालेका एक पदाधिकारीले बताए।
अध्यक्ष ओलीलाई भेट्न एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरू गुण्डु पुगेका थिए।
सोही क्रममा अध्यक्ष ओलीले बुधबारको कार्यक्रममा आफू सहभागी हुने बताएका हुन्।
‘पार्टीको बैठक चाहिँ अलि पछाडि नै हुने देखियो। उहाँकै उपस्थितिमा समीक्षा आवश्यक रहेकाले सचिवालय बैठक पछि नै हुन्छ। तर आजको कार्यक्रममा चाहिँ उहाँ आउनुहुन्छ,’ ती नेताले भने।
२००६ वैशाख १० गते पुुष्पलाल श्रेष्ठको अगुवाइमा नेकपा स्थापना भएको थियो। नेकपाका संस्थापक नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
बिकी यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३