वीरगञ्ज, असार २ । वीरगञ्जको आदर्शनगर चौकस्थित मेनरोड क्षेत्रमा प्रत्येक शनिबार सञ्चालन हुँदै आएको सद्भाव साप्ताहिक भोजन सेवा आज पनि भव्य रूपमा सम्पन्न भएको छ। मानव सेवाको पवित्र उद्देश्यका साथ सञ्चालित उक्त अभियानअन्तर्गत ज्येष्ठ महिनाको अन्तिम मंगलबार (बड मंगलबार) को अवसर पारेर वीरगञ्ज–६ स्थित महावीर मन्दिर परिसरमा विशेष भोजन तथा चिसो शर्बत वितरण कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका संयोजक रमेशजीका अनुसार सद्भाव सेवा विगत ३८६ हप्तादेखि निरन्तर सञ्चालन हुँदै आएको छ, जुन सामाजिक सेवाको क्षेत्रमा एक प्रेरणादायी उदाहरण बनेको छ। विशेष अवसरका साथै अन्य दिनहरूमा समेत यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गरिँदै आएको उनले बताए।
आजको कार्यक्रममा करिब ४०० जनालाई भोजन गराइएको थियो भने झण्डै १ हजार जनालाई चिसो शर्बत पानी वितरण गरिएको थियो। भोजनमा भात, दाल, पनिर, परवर, आलु, लौका, सोयाबिन मिसाइएको मिक्स तरकारी तथा सलाद परोसिएको थियो।
भोजन तथा शर्बत वितरण व्यवस्थाले मन्दिरमा आएका श्रद्धालु, यात्रु तथा सर्वसाधारणलाई निकै उत्साहित बनाएको देखिन्थ्यो। कार्यक्रममा स्थानीय समाजसेवी, महिला, युवा स्वयंसेवक, दाताहरू तथा सामाजिक अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले यात्रु, पर्यटक, मोटरसाइकल चालक, ई–रिक्सा चालक, रिक्सा चालक, साइकल चालक तथा महावीर मन्दिरमा दर्शन गर्न आएका श्रद्धालुहरूलाई सम्मानपूर्वक भोजन तथा शर्बत ग्रहण गराएका थिए।
सहभागीहरूले मानव सेवा भन्दा ठूलो धर्म कुनै नभएको उल्लेख गर्दै यस्ता अभियानले समाजमा प्रेम, सद्भाव र सहयोगको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरे। स्थानीयवासीहरूले ३८६ हप्तासम्म निरन्तर भोजन सेवा सञ्चालन हुनु आफैंमा ठूलो सामाजिक योगदान भएको बताउँदै यस अभियानले आवश्यकतामा परेका व्यक्तिहरूका लागि आशा र सहाराको स्रोत बनेको प्रतिक्रिया दिएका छन्।
राजन कुमार बानिया
पर्सा १ असार
धोबीनी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तय गर्न सोमबार बोलाइएको महत्वपूर्ण बैठक प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण स्थगित भएको छ। बिहान ११ बजेका लागि तय गरिएको बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कर्मचारी, स्थानीयवासी तथा सञ्चारकर्मीहरू समयमै उपस्थित भए पनि प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद खतिवडा उपस्थित नभएपछि कार्यक्रम अगाडि बढ्न सकेन।
गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले प्रमुख प्रशासकीय अधिकृत खतिवडाकी आमाको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उहाँ अस्पताल जानुपरेको जानकारी प्राप्त भएको बताए। अध्यक्ष चौहानका अनुसार बिहानदेखि साँझ ५ बजेसम्म बैठक सञ्चालनको प्रयास गरिए पनि प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क हुन नसकेपछि कार्यक्रम स्थगित गर्नुपरेको हो।
हामी सबै आवश्यक तयारीका साथ उपस्थित थियौं। तर प्रमुख प्रशासकीय अधिकृत पारिवारिक समस्याका कारण आउन सक्नुभएन। सम्पर्क पनि हुन नसकेपछि बैठक सञ्चालन गर्न सम्भव भएन, अध्यक्ष चौहानले बताए।
बैठक स्थगित भएपछि जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। वडा नम्बर ३ का वडा अध्यक्ष राजकिशोर प्रसाद कुर्मीले बिहानदेखि साँझसम्म प्रतीक्षा गर्नुपर्दा आफूहरू अपमानित महसुस गरेको बताए। नौ वर्षको जनप्रतिनिधि अनुभवमा यस्तो अवस्था पहिलो पटक देख्नुपरेको उल्लेख गर्दै उनले गाउँपालिकाको प्रशासनिक व्यवस्थापनप्रति प्रश्न उठाए।
नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयका लागि सबैलाई बोलाएर दिनभर बसालियो, तर कुनै निष्कर्ष निस्किएन। यसले जनप्रतिनिधिको सम्मानमाथि नै ठेस पुगेको छ, वडा अध्यक्ष कुर्मीले प्रतिक्रिया दिए।
स्थानीयवासीहरूले पनि गाउँपालिकाभित्र लामो समयदेखि जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच समन्वय अभाव रहेको गुनासो गरेका छन्। उनीहरूका अनुसार यही कारण विकास निर्माणका काम, प्रशासनिक सेवा तथा अन्य गतिविधिहरू प्रभावित हुँदै आएका छन्।
महत्वपूर्ण नीति तथा कार्यक्रम तय गर्ने दिनमै बैठक स्थगित भएपछि धोबीनी गाउँपालिकाको प्रशासनिक क्षमता र कार्यसम्पादनमाथि प्रश्न उठ्न थालेको छ। स्थानीयवासी तथा जनप्रतिनिधिहरूले भविष्यमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन सम्बन्धित पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने माग गरेका छन्।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत कृष्णा प्रसाद खतिवडासँग प्रतिक्रिया लिन पटक–पटक प्रयास गरिए पनि उहाँको मोबाइल फोन स्विच अफ रहेकाले प्रतिक्रिया प्राप्त हुन सकेन।
बैठक स्थगित भएसँगै अब नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरिने भन्नेबारे गाउँपालिकाले औपचारिक रूपमा कुनै नयाँ मिति सार्वजनिक गरेको छैन। जनप्रतिनिधिहरूले भने शीघ्र बैठक बोलाई गाउँपालिकाको नियमित कामकारबाहीलाई प्रभाव पर्न नदिन आग्रह गरेका छन्।
वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण बहादुर पल्ली मगर सोमबार हाजिर भई पदभार ग्रहण गरेका छन् ।
नेपाल सरकार, गृह मन्त्रालयको २०८३ जेठ १२ गतेको निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रदेश समन्वय विभाग, नक्सालबाट सरुवा भई वीरगंज आएका एसएसपी मगरलाई प्रहरी अधिकृतहरूले स्वागत गरेका हुन् ।
स्वागत कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षकद्वय हरि बहादुर बस्नेत र राजु कार्की, साथै प्रहरी प्रदेश कार्यालय वीरगंजका प्रहरी निरीक्षक ओमप्रकाश यादव लगायतका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।
प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार एसएसपी मगरले सोमबार नै कार्यालय प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन् ।
यसअघि कार्यालय प्रमुखका रूपमा कार्यरत एसएसपी शान्तिराज कोईरालालाई नेपाल प्रहरी प्रधान कार्यालयले जेठ १८ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरेको थियो । कोईरालाको स्थानमा सरुवा भएका मगरले अब प्रदेश प्रहरी कार्यालय वीरगंजको नेतृत्व सम्हालेका छन् ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा सूचीअनुसार गृह मन्त्रालयको निर्णयबमोजिम देशभरका ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको थियो, जसअन्तर्गत मगर वीरगंज आएका हुन् ।
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ भगिरथ लाइनस्थित वीरगञ्ज–पथलैया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्की किशोरी घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर निवासी बासुदेव मोक्तानकी १६ वर्षीया छोरी सुप्रिया मोक्तान रहेकी छन्।
प्रहरीका अनुसार आइतबार दिउँसो जितपुरबाट सिमरातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३९ प २६८६ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी सुप्रिया मोक्तानको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
उनीलाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
दुर्घटनामा स्कुटरको पछाडि सवार जितपुरसिमरा उपमहानगरपालिका–१७ कै तिलकबहादुर रुम्बाकी १६ वर्षीया छोरी सुप्रिया रुम्बा पनि घाइते भएकी छन्। उनको अनुहार, बायाँ हात तथा दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाग्रस्त स्कुटरलाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
समाचार संकलन गरेर घर फर्किने क्रममा वीरगन्जमा तीन जना पत्रकारमाथि बीच सडकमै घेराबन्दी गरी साङ्घातिक आक्रमण र लुटपाट भएको छ। यही जेठ २९ गते शुक्रबार राति वीरगन्ज महानगरपालिका–१० सिर्सिया जाने बाटोमा पत्रकारहरू सञ्जय कुशवाहा, रवि वर्णवाल र रुस्तम अलीमाथि अज्ञात समूहले आक्रमण गरेको हो।
पत्रकारहरूमाथि भएको उक्त भौतिक आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ पर्सा शाखा, राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, नेपाल मुस्लिम पत्रकार संघ पर्सा शाखा र हिन्दु पत्रकार संघ नेपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घोर भर्त्सना गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन गृह प्रशासनसँग जोडदार माग गरेका छन्।\
खुला सिमानाको दुरुपयोग गरी भइरहेको अवैध चोरी पैठारी (तस्करी) सम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गरेकै प्रतिशोधमा आफूहरूमाथि योजनाबद्ध रूपमा आक्रमण भएको पीडित पत्रकारहरूको भनाइ छ।
विज्ञप्तिहरूका अनुसार रातिको समयमा चोरी पैठारीमा संलग्न भनिएका १०/१२ जनाको संगठित समूहले पत्रकारहरूलाई बीच सडकमै घेराबन्दी गरी लाठी तथा ढुङ्गामुढा प्रहार गरी कुटपिट गरेका थिए। सो क्रममा उनीहरूका साथमा रहेको मोबाइल फोन, नगद तथा अन्य महत्त्वपूर्ण सञ्चार सामग्रीसमेत लुटपाट गरिएको छ।
नेपाल मुस्लिम पत्रकार संघ, पर्साका अध्यक्ष मन्सुर मियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समाचार सम्प्रेषणका क्रममा खटिएका पत्रकारमाथि भएको यस्तो भौतिक आक्रमणलाई सम्पूर्ण सञ्चार जगत्माथिकै प्रहारका रूपमा लिएका छौँ।”
यसैगरी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका सचिव प्रफुल मिश्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “समाचार संकलन तथा सम्प्रेषणकै कारण पत्रकारमाथि हुने यस्ता आक्रमण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सुसूचित हुने अधिकारमाथिको प्रत्यक्ष प्रहार हो। लोकतान्त्रिक समाजमा सञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारका धम्की, दुर्व्यवहार र प्रतिशोधपूर्ण गतिविधि कदापि स्वीकार्य हुन सक्दैनन्।”
दोषीलाई तत्काल पक्राउ गर्न र सुरक्षा दिन माग
नेपाल पत्रकार महासंघ पर्सा शाखा र हिन्दु पत्रकार संघ नेपालसहित जिल्लाका क्रियाशील पत्रकार संगठनहरूले घटनामा संलग्न पहिचान भएका तथा फरार रहेका सबै अपराधीहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
साथै, श्रमजीवी पत्रकारहरूको भौतिक सुरक्षा सुनिश्चित गर्न, राज्य तथा सरोकारवाला निकायहरूलाई गम्भीर बन्न आग्रह गर्दै पत्रकारहरूले स्वतन्त्र, भयरहित र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न विज्ञप्तिमार्फत जोडदार अपिल गरिएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
