वीरगंज , भदौ २३ –
वीरगंजस्थित क्लार्क क्यासिनोको पछिल्लो एक महिनाको सीसीटीभी फुटेज निकालेर अध्ययन गर्न स्थानीयवासीले जिल्ला प्रहरी कार्यालय पर्सासँग माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत गरिएको मागमा क्यासिनोमा विभिन्न समयमा जनप्रतिनिधि तथा स्थानीय तहका प्रमुखसमेत पुग्ने गरेको दाबी गर्दै एक महिनाको सीसीटीभी फुटेज अध्ययन गरेमा क्यासिनोमा आउने–जाने व्यक्ति तथा जुवामा संलग्न भएको भनिएका व्यक्तिबारे थप तथ्य बाहिर आउन सक्ने उल्लेख गरिएको छ ।
स्थानीयवासीले प्रहरीले सीसीटीभी फुटेज अनुसन्धान गरी आवश्यक छानबिन गरेमा क्यासिनोसँग सम्बन्धित घटनाको वास्तविकता पत्ता लगाउन सहयोग पुग्ने बताएका छन् ।
यसैबीच, क्यासिनोसम्बन्धी पछिल्लो घटनामा पर्सा प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । प्रहरीले सीसीटीभी फुटेजबारे हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । सामाजिक सञ्जालमा गरिएका आरोप तथा दाबीहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको टोलीले वीरगञ्जबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा ब्युरोबाट खटिएको सीसी टोलीले बुधबार दिउँसो करिब १ः३५ बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित लिङ्करोडको होटल अमन प्यालेसमा छापा मारेको थियो।
छापाका क्रममा होटलको २०५ नम्बर कोठा बुक गरी बसेका भारत, मोतिहारी जिल्ला रक्सौल–१३ निवासी करिब ३५ वर्षीय विशालकुमार कुशवाहा पक्राउ परेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
कुशवाहाको साथबाट भारतको रक्सौल नाका हुँदै ल्याइएको आशंका गरिएको लागूऔषध ब्राउन सुगर बरामद भएको हो। बरामद पदार्थको तौल १०० ग्रामभन्दा बढी रहेको प्रारम्भिक विवरण आए पनि यसको यकिन परिमाण गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कुशवाहासँगै बीआर ०५ बीएस ०४१९ नम्बरको कालो रंगको एचएफ डिस्कभर प्रो मोटरसाइकल, एउटा एन्ड्रोइड मोबाइल, नेपाली नगद ३२ हजार १०० रुपैयाँ र भारतीय नगद ४ हजार २०० रुपैयाँ समेत बरामद गरिएको छ।
पछिल्लो समय वीरगञ्ज–रक्सौल नाकाबाट हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी तथा कारबाहीलाई तीव्र बनाउँदै आएको छ। सोही क्रममा प्राप्त विशेष सूचनाका आधारमा होटलमा छापा मारेर कुशवाहालाई पक्राउ गरिएको जनाइएको छ।
बरामद लागूऔषधको यकिन तौल तथा घटनामा संलग्न अन्य व्यक्तिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौँ- अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन् । काठमाडौँ महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटाका लुकाईछिपाई राखेर बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उक्त स्थानमा पुगेर जाँच गरेको थियो ।
जाँचका क्रममा प्रहरीले कपालीलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ (पटाका) बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार बरामद पटाका अवैध रूपमा भण्डारण तथा बिक्री वितरण गर्ने उद्देश्यले राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका कपालीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार - देश सञ्चार
काठमाडौं । अमलेखगञ्ज पाइपलाइन परियोजना निर्माण नहुँदासम्म भारतको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पदार्थ ढुवानीको जिम्मा विभिन्न ढुवानी सेवाका १०५ वटा ट्याङ्करले ढुवानी गर्दै आएका थिए ।
उनीहरुले भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी) को मोतीहारी बरौनी डिपोबाट नेपालका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका थिए । तर, अमलेखगञ्ज पाइपलाइन परियोजना २०७६ भदौदेखि पूरा भएपछि पाइपमार्फत् नै ढुवानी हुन थाल्यो । ट्याङ्करहरु कामविहीन भए ।
बरौनी डिपोबाट अमलेखगञ्ज सिधै पाइपमार्फत् पेट्रोलियम पदार्थ ढुवानी हुन थाल्यो । यो नै नेपाल–भारतको पहिलो अन्तरदेशीय (ट्रान्सनेशनल) पाइपलाइन हो ।
भारतको बरौनी डिपोबाट अमलेखगञ्ज डिपोको दुरी ६९ किलोमिटर छ । आईओसी र नेपाल आयल निगम (एनओसी) बीच यो पाइपलाइन माफर्त वार्षिक २० लाख मेट्रिक टन पेट्रोलियम पदार्थ ढुवानी हुँदै आएको छ ।
कामविहीन भएका ट्याङ्करलाई भने नेपाल पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघ र ट्याङ्कर व्यवसायीहरुले नेपाल आयल निगमसित आफूहरुको रोजगारी गुमेको भन्दै हवाई इन्धन बोक्ने वातावरणका लागि निगमलाई गुहारे ।
नेपाल आयल निगमले हवाई इन्धन बोक्न स्तरोन्नति गर्नुपर्ने भन्दै २०८२ पुस २० गते ट्याङ्कर व्यवसायीहरुलाई स्तरोन्नतिका लागि एक महिनाको समयसीमा तोक्यो ।
निगमको निर्णयपछि मोतीहारी–अमलेखगञ्ज रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका ट्याङ्कर व्यवसायीहरुले हवाई इन्धन ढुवानी गर्न योग्य बनाउन प्रति ट्याङ्कर ८ लाखदेखि १० लाख रुपैयाँ खर्च गरेर मर्मत गरे । तर, निगमले ट्याङ्कर व्यवसायीहरुलाई ढुवानीका लागि इजाजतपत्र दिएन ।
बरु केही ट्याङ्कर व्यवसायी र पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघका पदाधिकारीहरुले नै इजाजतका लागि छुट्टै प्रतिट्याङ्कर एक लाख रुपैयाँ निगमका कर्मचारीलाई बुझाएपछि मात्रै इजाजत पत्र प्राप्त हुने भन्दै बार्गेनिङ गरेको स्रोत बताउँछ ।
स्तरोन्नतिका लागि खर्च भइसकेको भन्दै थप एक एक लाख खर्च गर्ने निष्कर्षमा व्यवसायी पुगेको एक व्यवसायी बताउँछन् ।
उनीहरुले १०५ वटा ट्याङ्करको एक लाखका दरले एक करोड पाँच लाख रुपैयाँ पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी महासंघका प्रतिनिधिलाई बुझाएको ती व्यवसायीको दाबी छ ।
ट्याङ्कर व्यवसायीहरुबाट अवैध रुकम असुली गरेको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेपछि पर्सा प्रहरीले अनुसन्धानसमेत गरेको थियो ।
प्रहरीको अनुसन्धानका क्रममा ट्याङ्कर व्यवसायीहरुले ट्याङ्कर व्यवसायी महासंघका अध्यक्ष मनोजकुमार दास र अमित मल्ल लगायतका पदाधिकारीलाई रकम बुझाएको खुलेको छ ।
सोही आधारमा प्रहरीले चार जनालाई पक्राउ समेत गरेको थियो । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानरपालिका –४ का ४१ वर्षीय माधव मानन्धर, बारा सिमराका ५७ वर्षीय ठाकुर भट्टराई, बाराकै सुदामा प्रसाद साह, हेटौंडाका रामजी क्षेत्री पक्राउ परेका थिए ।
पर्सा प्रहरीका डीएसपी चक्रबहादुर मल्लका अनुसार उनीहरुको बैंक तथा ई–सेवाको खातामा ट्याङ्कर व्यवसायीहरुले रकम जम्मा गरेको खुलेको बताए ।
डीएसपी मल्लले भने,‘‘ट्याङ्कर व्यवसायीहरुबाट इजाजतका लागि रकम उठाएको देखिन्छ । तर, कानुनी हिसाबका कहीँ पनि राजस्व वा अन्य सरकारी प्रयोजनमा देखिएको छैन ।’’
आश्चर्यको कुरा त के छ भने ट्याङ्कर व्यवसायीहरुले रकम बुझाएपछि मात्रै निगमका कर्मचारीहरुले ट्याङ्कर व्यवसायीहरुमार्फत ट्याङ्कर धनीहरुलाई इजाजत पत्र उपलब्ध गराएको अनुसन्धानबाट खुलेको छ ।
निगमकै कर्मचारीको मिलेमतोमा ट्याङकर व्यवसायीहरुमार्फत ट्याङ्कर धनीहरुबाट रकम असुली गरेको आंशका पछि प्रहरीले निगमका कर्मचारीहरुलाई पनि अनुसन्धानको राडारभित्र राखेर अनुसन्धान थालेको छ ।
पक्राउ परेका चारजनालाई जिल्ला अदालत पर्साले भने जनही २/२ लाख रुपैयाँ धरौटीमा छाडेको छ ।
रकम असुलीमा संंलग्न चारजना भने फरार छन् । फरार रहेकाहरुमा विष्णुप्रसाद दाहाल, अमित मल्ल, मनोजकुमार दास र दीपक शिवाकोटी छन् । मनोज कुमार दास ट्याङ्कर व्यवसायी महासंघका अध्यक्षसमेत हुन् ।
अन्य पनि महासंघमा आवद्ध पदाधिकारी रहेको प्रहरीले जनाएको छ । उनीहरु पक्राउ परेपछि निगमका कर्मचारीसम्म पुग्ने प्रहरीको दाबी छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार ढुवानी इजाजत सम्बन्धित ट्याङ्कर धनी वा चालकलाई दिनुपर्नेमा अरु विचौलियामार्फत् पुगेको देखिएको छ ।
ती अधिकारीले भने,‘‘जुन दिन ट्याङ्कर धनीहरुले एक/एक लाख रुपैयाँ बुझाएका थिए । त्यही दिन निगमका कर्मचारीहरुले अमित मल्ल, मनोज कुमार दासलाई अन्य ट्याङ्कर धनीहरुको इजाजत दिएको देखिन्छ । यसमा केही कैफियत छ ।’’
प्रहरीको फरार सूचीमा रहेका विष्णुप्रसाद दाहाल, अमित मल्ल, मनोज कुमार दाससमेत पछि अदालत हाजिर भएर धरौटीमा छुटेको खुलेको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले भने निगमले इजाजतका लागि कुनै अतिरिक्त शुल्क नलिएको बताए ।
इजाजत पत्र भने प्रतिनिधिहरु तोकिएका कारण सम्बन्धित ट्याङकर चालक वा धनीलाई नदिए ढुवानी व्यवसायीलाई उपलब्ध गराएको दाबी गरे ।
प्रहरीले भने यो प्रकरणको अनुसन्धान थप खुलेको बखत गर्न मिल्नेगरी पहिलो चरणको अनुसन्धान प्रतिवेदनमात्रै बुझाएको जनाएको छ । पर्साका डीएसपी चक्रबहादुर मल्लले यो प्रकरणको अनुसन्धान अझै जारी रहेको र बाँकी तथ्य खुलेको बेला अनुसन्धान हुने बताए ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज दाससँग कुराकानी गर्दा यसबारेमा आफू जानकार रहेको र म वीरगंजमा रहेको र फरार नभएको प्रतिक्रिया दिएका छन् । साथै उनले भदौ ९ गते अदालतमा हाजीर भएर अन्य चारजना सरह नै दुई लाख धरौटी बुझाएर रिहा भएको दावी गरे । साथै उनले मेरो नाम कसैले पोलेकोमा त्यसलाई कानुनी बाटोबाट लड्ने बताए । साभार - घण्टाघर टिभी
वीरगंज, २३ भदौ । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४, सुगौलीमा माछा मार्ने क्रममा एक मुशहर समुदायका बालकले गोही समातेका छन् ।
सुगौलीको जल क्षेत्रमा माछा मार्ने क्रममा बालकले आफ्नै हातले सानो उमेरको गोही समातेर घरमा ल्याए । घटनावारे जानकारी पाएपछि सुरक्षाका लागि प्रहरी टोली सुगौलीको मुशहर बस्तीमा पुगेको छ।
हाल गोहीलाई सुरक्षित राख्दै सुरक्षाकर्मीले निगरानी गरिरहेको प्रहरीको भनाइ छ।
डिभिजन वन कार्यालय, पर्सालाई जानकारी गराइसकिएको छ। गोहीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न वन कार्यालयसँग समन्वय भइरहेको सुरक्षामा खटिएका एक प्रहरीले बताए।
गोहीलाई अनावश्यक रूपमा चलाउने, समात्ने वा नजिक गएर फोटो खिच्ने जस्ता गतिविधि नगर्न सुरक्षाकर्मीले स्थानीयवासीलाई आग्रह गरेका छन्।
वन कार्यालयका प्राविधिक तथा सम्बन्धित कर्मचारी आएपछि गोहीको अवस्था हेरी उपयुक्त र सुरक्षित प्राकृतिक बासस्थानमा छाड्ने तयारी गरिएको बताइएको छ।
स्थानीयका अनुसार उक्त क्षेत्रमा नदी तथा जलाशय आसपास बेला–बेला विभिन्न जलचर देखिने गरेका छन। यस घटनाले स्थानीय जल क्षेत्रमा वन्यजन्तुको उपस्थिति र संरक्षणप्रति समेत चासो बढाएको छ।
गोहीको प्रजाति, उमेर तथा स्वास्थ्य अवस्थाबारे भने वन कार्यालयका प्राविधिकको परीक्षणपछि मात्र यकिन हुने बताइएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
